ऐतिहासिक बोन्डोङडोङ पोखरीको संरक्षण प्रयास

711 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

फ्युवा, गोपाल

धादिङ जिल्ला सत्यदेवी गाविसमा अवस्थित ऐतिहासिक बोन्डोङडोङ च्यत पोखरीको संरक्षण गर्ने प्रयास थालनी गरिएको छ । प्रयासको प्रथम कार्य स्वरूप यही जेठ 1-7सम्म पोखरीलाई व्यवस्थित बनाएको हो । सत्यदेवी 3 गोन्सीका सचेत यूवा रञ्जित लामाको सकृयतामा सो कार्य सम्पन्न भएको हो ।

13250451_1144631022255317_282573553_nस्थानीय युवा उर्चबोम्बोको दश बोरा सिमेन्ट , त्यस्तै सोमबहादुर स्याङतनले 18 जना कामदार र रञ्जित आफैले एक ट्रिप बालुवा सहयोग गरेका थिए । सत्यदेवी 2 र 3 का 150 भन्दा बढीले श्रमदान गरेका थिए । किम्बदन्ती अनुसार गोम्बोङजोङका राजाका घोडा, गाइ तथा भैसीको तिर्खा मेटाउन तत्कालिन घले राजाले एक स्थानीय बोम्बोलाई यो पोखरी तन्त्रमन्त्रद्वारा स्थापना गराएका थिए ।

नाम बोनडोङडोङ रहनुले पनि यस किम्वदन्तीको समर्थन गर्दछ । आसपासमा बोलिने तामाङ भाषामा झाक्रीले निकालेको भन्ने अर्थ लाग्दछ । बिना मूल बाह्रै महिना पानी नसुक्ने यो पोखरी आफैमा अचम्म र महत्त्वको थियो । उही चउरमा बोम्बोको दुईवटा कुङ्कर रहेको छ । त्यहा एकादशीमा मेला लाग्दछ ।

13292791_1144635715588181_560704537_n बोन्डोङडोङ पोखरीमा गोम्बोङजोङ दरवारको भग्न अवशेषको छाया देखिन्छ । नजिकै मोति गुफा, गोम्बोङजोङ जस्ता ऐतिहासिक तथा पर्यटकीय महत्त्वका स्थानहरू रहेका छन् । “पोहोरको भूकम्पपछि यो सुन्दर तथा ऐतिहासिक पोखरीमा पानी रहेन, सुक्यो । त्यसैले संरक्षण गर्न जुटेका हौ । हामीले नगरे कस्ले र अहिले नगरे कैले ?” उत्साहित हुदै रञ्जितले भने ।” गर्न धेरै बाॅकी छ तर हजार माइल यात्राको लागि पाइला चालिसकेको छ अब रोकिदैन ” उर्च बोम्बोले थपे ।