व्यावसायिक खेतीमा ओर्वाङका चेपाङ

567 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 imagesजङ्गलका गिठ्ठा, भ्याकुर खाएर जीविकोपार्जन गर्दै आएका चेपाङहरूले व्यावसायिक केराखेती शुरू गरेका छन् । जिल्लाको बेनीघाट गाविस वडा नम्बर-९ मा पर्ने माथिल्लो ओर्वाङका ३७ घर चेपाङहरूले व्यावसायिक केराखेती शुरू गरेका हुन् । यो गाउँ पृथ्वी राजमार्गअर्न्तर्गत पर्ने बेनीघाटबाट डेढ घण्टाको दूरीमा पर्छ । यसवर्षकेराबाट मात्र रू. ३० हजारभन्दा बढी आम्दानी भएको लालबहादुर चेपाङले बताए । उनले एक घरी केराबाट ५ सय रुपैयाँसम्म आम्दानी गरेपछि गाउँका प्रायः सबै परिवारले केरासँगै तरकारीखेती पनि शुरू गरेका छन् । यस वर्ष उनीहरूले सिमी, गोलभेंडा, लौका, घिरौंला आदिको खेती गरेको बताएका छन् । अग्लो डाँडामा बस्ती भएकाले यहाँ सिँचाइको सुविधा छैन । चेपाङ किसानले आकाशे पानीको भरमा तरकारीखेती गर्दै आएको स्थानीय दीपबहादुर चेपाङले बताए । आकाशे पानीको भरमा थोरै जमीनमा पनि मिलाएर तरकारीखेती गर्दा पनि वार्षिक १ लाखभन्दा बढी आम्दानी हुने उनीहरू बताउँछन् । यहाँ वैशाखदेखि मङ्सिरसम्म मात्र तरकारीखेती गरिने दीपबहादुरले बताए । मोटरबाटो पुग्न नसकेको सो गाउँमा उत्पादित तरकारी डेढ घण्टाको पैदलबाटो हुँदै पृथ्वी राजमार्गको सलाङघाटमा विक्री गरिँदै आएको उनीहरूले बताए ।