सरकार, मेरो घर आंशिक क्षति हो की पूर्ण ?

1470 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

damage-houseकाठमाडौं, – यो घर धादिङको चैनपुर गाबिस वडा नम्बर ३ का लोकनाथ लोहनीको हो । गत वर्षको बैशाख १२ र २९ गतेको भूकम्पका कारण लोहनीको घर बस्नै नहुने गरि भत्किएको छ । तर लोहनीको यो घर लाभग्राही सूचिमा परेको छैन् । सम्भवतः यो घरलाई आंशिक क्षतिग्रस्त रुपमा परिभाषित गरिनेछ । यो घर त केबल प्रतिनिधी मात्रै हो । यसरी घर भत्किएर पनि लाभग्राहीको सूचिमा नपरेकाहरुको संख्या एक लाख बढि हुने देखिन्छ ।

हालसम्म आफुलाई लाभग्राहीको सूचिमा समावेश गरिनु पर्यो भन्दै गुनासो फारम भर्नेहरुको संख्या ७६ हजार ८ सय २४ पुगिसकेको छ । र यो संख्या अझै बढ्ने देखिन्छ । ‘धादिङमा ४० प्रतिशतको हाराहारीमा लाभग्राही छुटेका छन, प्वाल परेको हाडीलाई आंशिक क्षति भन्ने की पुर्ण ? यो गम्भिर प्रश्नका रुपमा खडा भएको छ, सरकारले पुनः सर्वेक्षण गर्नु पर्छ’, धादिङका सांसद गुरु बुर्लाकोटी भन्छन् ।

पुननिर्माण प्राधिकरणका अनुसार हालसम्म ५ लाख ३३ हजार ४५ घरधुरीको लाभग्राही सूचि प्रकाशित गरिसकेको छ । यीमध्ये एक लाख ४२ हजार ७ सय २२ घरधुरीसँग अनुदान सम्झौता गरिसकेको छ । पाँच हजार ५० लाई पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्रदान गरिसकेको छ । नामावली प्रकाशित लाभग्राहीको संख्यालाई आधार मान्ने हो भने १४ प्रतिशत भन्दा बढि भूकम्प पीडितले गुनासो फारम भरेको छन् ।

पहिलो चरणमा सर्वेक्षण गरिएका ११ वटै जिल्लामा ठुलो संख्यामा असली भूकम्प पीडित छुटेका छन् । त्यसो त ठुलो संख्यामा गैर पीडित पनि लाभग्राही सूचिमा परेको आरोप लागिरहेको छ । सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङले गैर पीडित पनि लाभग्राही सूचिमा परेको नाममा वास्तविक पीडितलाई छुटाउन नहुने बताए । ‘घर भत्केर उठिबास लागेकाहरुको नाम समेत लाभग्राही सूचिमा परेको छैन, कस्ता घरलाई आंशिक क्षतिग्रस्त भन्ने भनेर सर्वेक्षेकहरु नै अन्यौलमा परेको पनि देखियो’, सांसद तामाङले भने ।

पीडितहरु छुट्दैनन्ः प्राधिकरण
राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले वास्तविक भूकम्प पीडितलाई लाभग्राही सूचिमा समेट्ने बताए । ‘वास्तविक पीडित लाभग्राही सूचिमा समेटिन्छन, हामी गुनासो कार्यबिधी निर्माणको अन्तिम चरणमा पुगिसकेका छौं’, प्रवक्ता थपलियाले भने । उनले गुनासो सम्बोधनको सवाल राजनीतिक समेत भएकाले बृहत छलफल अघि बढेको जानकारी दिए ।

कुन जिल्लाको अवस्था के ?
रामेछाप
रामेछापमा ४३ हजार ६ सय ९ जनाको लाभग्राही सूचि प्रकाशित गरिएको छ भने ३९ हजार ६४ घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको छ ।
सो जिल्लाका ३ हजार २ सय ५८ घरधुरीले ५० हजार प्राप्त गरिसकेका छन भने १२ हजार ५ सय ३८ घरधुरीले गुनासो दर्ता गरेका छन् ।
गोरखा
यहाँका ५८ हजार ५ सय ३ परिवारको लाभग्राही सूचि प्रकाशित भएको छ । उनीहरुमध्ये ३१ हजार ८ सय ६६ जनासँग अनुदान सम्झौता गरिएको छ भने एक हजार २ सय ३७ जनाले पहिलो किस्ताको रकम पाईसकेका छन् । गोरखाका ११ हजार ७ सय २६ घरले पहिलो किस्ताको ५० हजार पाईसकेका छन् ।
दोलखा
जिल्लाका ५१ हजार ७ सय ४९ घरधुरीको लाभग्राही सूचिमा नाम परेको छ । तीमध्ये १८ हजार ८ सय ४२ घरधुरीसँग अनुदान सम्झौता गरिएको छ ।१५ हजार ५ सय २७ परिवारले पहिलो किस्ताको ५० हजार पाईसकेका छन् ।
ओखलढुंगा
जिल्लाका १० हजार ८ सय १९ लाभग्राहीको सूचि प्रककाशित भएको छ । तीमध्ये १६ हजार ६ सय २१ परिवारसँग अनुदान सम्झौता गरिएको छ भने ४४१ परिवारले पहिलो किस्ताको रकम प्राप्त गरिसकेका छन् । जिल्लामा ५२२६ परिवारले गुनासो फारम भरेका छन् ।
सिन्धुपाल्चोक
७८५३८ परिवारको लाभग्राही सूचि प्रकाशित गरिएकोमा १८५४७ परिवारसँग अनुदान सम्झौता सम्पन्न भैसकेको छ । त्यस्तै, दुई परिवारले पहिलो किस्ताको ५० हजार पाइसकेका छन भने ४७२७ नयाँ गुनासो आएको छ ।
धादिङ
७०५८१ परिवारको लाभग्राही सूचि प्रकाशित गरिएकामध्ये ८६६० परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ र २५६५ नयाँ उजुरी दर्ता भएकाछन् ।
काभ्रेपलाञ्चोक
६७७३१ घरधुरीको लाभग्राही सूचि प्रकाशित गरिएको छ । ३२९७ परिवारसँग अनुदान सम्झौता भएको छ भने २५२५ नयाँ गुनासो दर्ता भएका छन् ।
सिन्धुली
३४२६९ घरधुरी लाभग्राहीको सूचिमा परेका छन् । तीमध्ये ११०० सयँग अनुदान सम्झौता भएको छ भने १३०० नयाँ गुनासो दर्ता भएका छन् ।
रसुवा
१२२३६ परिवारको लाभग्राही सूचि प्रकाशित गरिएको छ १५६६ परिवारसँग अनुदान सम्झौता भएको छ भने ११२ परिवारले ५० हजार पाएका छन् । जिल्लामा १९६ वटा गुनासो दर्ता गरिएका छन् ।
नुवाकोट
६५७७३ परिवारको लाभग्राही सूचि प्रकाशन गरिएको छ २८७५ परिवारसँग अनुदान सम्झौता भएको छ भने ८५५६ वटा गुनासो आएका छन् ।
मकवानपुर
३०२३८ परिवारको लाभग्राही सूचि प्रकाशित गरिएको छ भने २८७ परिवारसँग अनुदान सम्झौता भएको छ । यहाँ २१८ वटा गुनासो दर्ता भएका छन् विकास न्यूजमा खबर छ ।