सिंहदरबारकै संरचना छैनन्अपाङ्ग मैत्री- शिक्षक गोविन्दप्रसाद खनाल

632 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

श्रावण ६, २०७३- आदर्श उच्च माध्यमिक विद्यालय धादिङ गजुरीका शिक्षक गोविन्दप्रसाद खनाल बिहीबार साढे दुई बजे सिंहदरबारस्थित शिक्षा मन्त्रालय पुगे । शिक्षा ऐन आठौ संसोधनमा भएको व्यवस्थामा थप प्रष्ट हुन उनी मन्त्रालयका सहसचिवलाई भेट्न गएका हुन् ।

मन्त्रालयको तेस्रो तल्लामा रहेको शैक्षिक व्यवस्थापन महाशाखाका सहसचिव हरी लम्साललाई भेटेर आफनो समस्या सुनाउने र ऐनमा भएको व्यवस्थाबारे थप प्रष्ट हुने अभिलासा लिएर उनी मन्त्रालय आएका थिए ।

आफूले भेट्न चाहेको व्यक्तिलाई सिधै भेट्न उनी सक्दैनन् । कारण, उनी शारीरिक रुपमा अशक्त छन् । श्रीमती गिताले धकेलेको ह्वीलचेयर मार्फत्  सिंहदरबार आइपुगेका उनी मन्त्रालयको सबै तल्लामा ह्वीलचियर जान सक्ने संरचना नहुँदा भूईतल्लामै डेढ घण्टाजति कुरे ।

‘भर्‍याङ चढेर सबै कोठामा पुग्न सकिँदैन,’उनले भने, ‘मन्त्रालय तहमा त अपाङगमैत्री छैन, अन्यत्र के आश गर्नु ?’

भर्खरै प्रमाणित भएको शिक्षा ऐनको विषयमा अन्योल भएपछि उनी जानकारी लिन आएका थिए ।

शिक्षा ऐनमा ०५२ र त्यसयताको विज्ञापनबाट स्थायी नियुक्ति भएका वा हुने शिक्षकलाई सात वर्षसम्मको अस्थायी सेवा अवधि थप गर्न सकिने व्यवस्था गरेको छ ।

यो व्यवस्था अनुसार आफ्नो अवधि मंसिर २ गते १३ वर्ष अवधि पुग्दैछ। ऐनमा भएको व्यवस्था अनुसार अवधि पुग्ने वित्तिकै उनी राजीनामा दिन चाहन्छन् । ‘कमजोर शारिरका कारण हिँडडुल गर्न ज्यादै कठिन हुने, ढाड दुख्ने, कालोपाटीमा लेख्न समस्या हुने भएकोले मंसिर २ गते १३ वर्ष स्थायी अवधि पुग्ने बित्तिकै राजीनामा दिने व्यवस्था गरिदिए हुन्थ्यो,’उनले भने ।

अस्थायी र स्थायी गरेर उनले २४ वर्ष पढाइसके । ‘एक महिनाअघि हर्निया र पिसाब थैलीको अपरेशन गरेदेखि पिसाब आएको पनि थाहा हुँदैन । ह्वीलचियरमा धेरै समय बस्दा पनि गाह्रो हुन्छ,’उनले भने ।
उनी आफ्नो समस्या सुनाएपछि चाँडै बिदा गरिदिए हुन्थ्यो भन्दै धादिङबाट श्रीमतीको साहारामा सिंहदबारसम्म आएपुगेका हुन् । उनको समस्या सुन्न महाशाखा प्रमुख लम्साल भूई तल्लामै पुगेका थिए ।

यसअघि गुनासो सुनाउन मन्त्रालयको तीन तल्ला माथिसम्म  घिस्रिँदै गएको बताए । ‘चार घण्टासम्म कुरे, कोही पनि मेरो कुरा सुन्न आएनन्, अनि भर्‍याङबाट घिस्रिदै गए,’उनले भने ।

लम्सालले समस्या सुनेपछि फुरुङ्ग हुँदै फर्कदा सिंहदरबार भित्र छिर्ने सरकारी गाडीले पनि उनी चडेको हवीलर चियरले पेलेर दौडाउथ्यो । सिंहदरबार भित्रबाट फर्कदै गर्दै पश्चिम तर्फको गेटमा बा १ झ ३२८९ सरकारी गाडी ह्वीलचियरलाई पेलेर भित्र छिर्‍यो । ‘सिंहरबार त अपाङग मैत्री छैन,’उनले भने ।

स्याङजा पेखुवागखोर ३ कल्लेरीमा जन्मेका खनाल सानैदेखि पोलियोको कारण दुवै खुट्टा लुलो छ । आधिखोलामा पौडिएर खोला तर्ने र दैनिक ६ घण्टा घिस्रिएर विद्यालय आउजाउ गर्दै एसएलसी सकाए ।
त्रिविबाट बीएड गरे । ०४९ मंसिरदेखि गजुरीको आदर्श उच्च माध्यमिक विद्यालयमा मावि तृतीय श्रेणीको अस्थायी दरबन्दीमा नियुक्ति पाए । उनले ११ बर्ष अस्थायी दरबन्दीमा काम गरे । ०६० मार्ग १ देखि स्थायी नियुक्ति पाई पढाइरहेका छन् ।

उनको एक छोरा र दुई छोरी छन् । छोरा एमबीबीएस अध्ययनरत छन् । जेठी छोरी स्नातक दोस्रो र कान्छी प्लस टु सकाइसके ।इकान्तिपुरबाट