बाढी पहिरोमा परी देशभरमा २८ को मृत्यु, २४ बेपत्ता, १० घाइते

707 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Morang_Urlabari_madumallaसाउन १२  काठमाडौं : सोमबार रातिदेखि आएको अविरल वर्षाको कारण देशभरमा २८ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्। प्युठानमा छ, गुल्मीमा पाँच, पाल्पा र बाग्लुङमा चार–चार, मकवानपुरमा तीन, रुपेन्देहीमा दुई, काठमाडौं, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक एक जनाको मृत्यु भएको छ हो।  बाढीपहिरोमा नै परेर प्युठानमा १९, बाग्लुङमा दुई र सुनसरी, सप्तरी र झापामा एक–एक जना बेपत्ता भएका छन्। बाढीपहिरोमा परेर १० जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले जानकारी दिएका छन्। गुल्मीमा तीन, काठमाडौं र बाग्लुङमा दुई–दुई र प्युठान, दोलखा र अर्घाखाँचीमा एक–एक जना बेपत्ता भएका हुन्। प्युठानको बाग्दुलाको झिम्रुक खोलामा १० वर्षीया बालिकाको शब खोलाले बगाएर ल्याएको अवस्थामा फेला परेको थियो। यसैगरी खैरास्थित झिमरुक नदीको किनारमा एक अपरिचित पुरुष र खलङ्गा जाने पुल नजिकै खोलामा एक पुरुष शव फेला परेको प्रहरीले जनाएको छ। प्युठानकै पुजामा पहिरोले पुरिँदा १३ वर्षीय मुकेश मल्ल, सारावाङका ८० वर्षीय दाबीले सुनार, उनकी श्रीमती कुटरी र नाती दिपे सुनार बेपत्ता भएका छन्। बाग्लुङको मर्याङमा हर्कबहादुर बुढामगरको घर पहिरोले बगाउँदा उनकी श्रीमती ३६ वर्षीया देवी, छोरी १८ वर्षीया यमुना र छोरा ८ वर्षीय राजिब पहिरोले पुरिएर बेपत्ता भएका छन्। दोलखाको दिलढुंगामा ७१ वर्षीय पूर्णबहादुर तामाङको पहिरोले पुरिएर मृत्यु भएको छ।  पाल्पाको झुम्सामा पहिरो झर्न गई घरमा पुरिएकी १६ वर्षीया अस्मिता विकको शव फेला परेको छ। अर्घाखाँचीको कोठिया मैदानका प्रझबहादुर घर्तीको घर पहिरोले बगाउँदा उनकी छोरी १७ वर्षीया शारदा घर्तीको मृत्यु भएको छ। यसैगरी तिनाउ नदीमा आएको बाढीले तिनाउ नदीमा रहेको झोलुङ्गे पुल बगाएको छ। नारायणी नदीमा पानीको सतह खतराको तहमा पुगेपछि चितवन र नवलपरासीका तल्लो तटीय क्षेत्रका बासिन्दाहरु त्रसित हुन पुगेका छन्। उनीहरुलाई स्थानीय प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागकाअनुसार अझै केही दिन बर्षात् भइरहने सम्भावना रहेकोले बाढी, पहिरो र डुवान जस्ता विपदका घटनाबाट क्षति न्युनीकरण स्थानीय प्रशासनलाई तयारी अवस्थामा राखिएको प्रवक्ता कोइरालाले जानकारी दिए।
मनसुन नेपाल केन्द्रित
भारतको उत्तर प्रदेश र बिहारमा उत्पन्न भएको निम्नचापीय क्षेत्र (लो प्रेसर सिस्टम) सोमबार नेपालको मध्यभाग प्रवेश गरेपछि मनसुन सक्रिय भइ एकाएक भारी वर्षा भएको मौसमविद्ले विश्लेषण गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बिहारबाट प्रवेश भएको निम्नचापीय क्षेत्र (लो प्रेसर सिस्टम) मा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको असरसमेत मिसिएपछि भारी वर्षा भएको बताए । बंगालको खाडीबाट पश्चिम बंगाल, बिहार हुँदै जलवाष्पयुक्त वायु नेपालको पूर्वीभागतिर प्रवेश गरेको थियो भने नेपालको मध्य भागबाट उत्तर प्रदेश र बिहारमा विकसित भएको निम्नचापीय क्षेत्र प्रवेश भएको थियो ।
दुबै प्रणाली एकैसाथ सक्रिय भएपछि लगातार भारी वर्षा भएको मौसमविदको निष्कर्ष छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु सतहबाट तीन किलोमिटरमाथिसम्म सक्रिय थियो, त्यसले भारी वर्षा गराउन मद्दत पु¥याएको हो । मौसमविदका अनुसार साधारणतया निम्नचापीय रेखा भारतबाट उत्तरतिर सर्दै गएपछि नेपालमा मनसुनको गतिविधि बढ्छ भने दक्षिणी भाग (भारत) मा मनसुन कमजोर हुन्छ । दुई दिनदेखि मनसुन नेपालमा केन्द्रित भएको छ ।
महाशाखाकी अर्की मौसमविद् विभूती पोखरेलले अझै पनि पानी पार्ने शक्तिशाली ‘क्युमोलोनिम्बस बादल’ पश्चिमी क्षेत्रमा बलियो देखिएकाले मंगलबार राति र बुधबार पनि मध्य र सूदूरपश्चिममा भारी वर्षा हुने बताइन् । ‘कतै कतै अझै भारी वर्षा हुने देखिन्छ,’ उनले भनिन् ।
पोखरेलका अनुसार दुईरतीन दिनमा मौसममा सुधार आउने भए पनि हल्का वर्षा भइरहने देखिन्छ । न्यूनचापीय क्षेत्र कमजोर बन्दै गएपछि वर्षा रोकिन्छ । त्यस्तो प्रणाली (बादल) कहिले काँही वायुमण्डलमै पनि सकिन्छ । त्यसो हुँदा स्वत वर्षा कम हुन्छ । पोखरेलका अनुसार केही दिनअघिसम्म मनसुनी रेखा भारततिर थियो । र उतैतिर भारी वर्षा भएको थियो । सोमबार त्यो प्रणाली नेपालमा सक्रिय भएको थियो ।
सोमबारदेखि मंगलबारसम्म सबैभन्दा बढी पोखरामा २६३, सुर्खेतमा २२८.६, लुम्लेमा २१६.५, दाङमा ९६.४, काठमाडौंमा ८६, नेपालगञ्जमा ८५.२, धनगढीमा ७५.४, भैरहवामा ७७.३, विराटनगरमा ५६.६, धरानमा ५४.९ र ताप्लेजुङमा २७.९ मिलिमिटर वर्षा भएको छ । महाशाखाका अनुसार सूदूरपश्चिम र मध्यपश्चिममा भइरहेको वर्षा औसतभन्दा बढी हो ।