चेपाङ समुदायका बालबालिकामा कुपोषण

713 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

chepangकेशव अधिकारी

धादिङ, साउन १६– चरम खाद्य संकटको सामना गर्दै आइरहेका चेपाङ समुदायका बालबालिकामा कुपोषण देखिएको छ ।

बर्षको ९ महिना खाद्यान्न संकट बेहोर्ने चेपाङ समुदायमा नियमित खाना खान नपाउँदा बालबालिकामा कुपोषण देखिएको हो । एक वाली मात्र खेती हुने चेपाङ वस्तीमा माघमा लगाएको मकै असोजको अन्तिममा मात्र पाक्छ । त्यसैले उनीहरु हिजोआज जंगली कन्दमुल, सिस्नुको मुण्टा खाएर जीवन निर्वाह गर्छन् ।

शान्ति नेपाल नामक गैर सरकारी संस्थाको अगुवाइमा गरिएको वृद्धि अनुगमनमा धेरै चेपाङ बालबालिकाको तौल उमेर अनुसार नभएको पाइएको हो । बेनिघाट गाविस ७ को डाँडा गाउँ प्रसुती सेवा केन्द्रमा २० जना चेपाङ बालबालिकाको तौल लिइएकोमा १६ जना बालबालिका उमेर अनुसार तौल नपुगेको पाइएको छ । बेनिघाट ९ पांगरजीवमा १० जना बालबालिकाको तौल लिइएकोमा ८ जना बालबालिकाको उमेर अनुसार तौल नपुगेको पाइएको शान्ति नेपालका कार्यक्रम अधिकृत इन्द्रमान शाक्यले बताउनुभयो ।

चेपाङ समुदायमा सुरुमा नै कम तौलको बच्चा जन्मनु, आमाले पोषिलो खानेकुरा नपाउने, सरसफाइ र उपचारमा ध्यान नदिनु, बच्चालाइ आमाको दुध र खाना समयमा जस्ता कारणले बच्चामा कुपोषण देखिएको ती क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाका प्रतिनिधि बताउँछन् । परीक्षणका क्रममा कुपोषित भेटिएका १६ जना चेपाङ बालबालिकालाई उपचारका लागि पोषण पुनःस्थापना केन्द्र सुनाकोठी ललितपुर सिफारिस गरिएको उहाँले बताउनुभयो । वृद्धि अनुगमन केन्द्रमा बच्चाको तौल लिन आएका चेपाङ महिलाहरुको लागि पोषण सम्वन्धि स्वास्थ्य शिक्षा समेत दिने गरिएको छ ।

अधिकांश चेपाङ समुदायको वसोवास दक्षिणी धादिङको महाभारत क्षेत्रमा छ । करिब १८ हजार जनसंख्या रहेका धादिङका चेपाङ समुदाय ९० प्रतिशत भुमिहीन छन् । जग्गा जमिन हुनेको पनि आफ्नो बारीमा उत्पादित अन्नले ६ महिना धान्न मुश्किल पर्छ । उच्च पहाडी क्षेत्र, भिरालो पाखोबारी भएकाले अन्न उत्पादन राम्रो नहुने नेपाल चेपाङ संघका केन्द्रीय सदस्य तिलक चेपाङले बताउनुभयो । जनसंख्या बृद्धिका कारण पनि खानेकुराको अभाव अझै बढ्दै गएको छ । कुपोषणमा परेका चेपाङ बालबालिकाको अवस्था अध्ययन गरी उनीहरुलाई सहयोग गर्न धादिङको पीडा गाविसको स्याम्मैडाँडा, बेनिघाटको पांगरजीव र ग्याजाको चेपाङ समुदायमा वृद्धि अनुगमन केन्द्र सञ्चालनमा ल्याइएको छ ।