धादिङमा जग्गा महँगो, मुस्ताङ पनि काठमाडौँ हाराहारी

793 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadप्राकृतिक स्रोत मनग्गे भए पनि हिमाली जिल्लाहरु भौतिक पुर्वाधार र सुविधाबाट टाढै छन्। हिमाली भेगमा जनसंख्याको चाप पनि धेरै छैन। तर त्यहाँ जग्गा जमिन भने सस्तो पाइन छोडेको छ।

कतिपय हिमाली जिल्ला सदरमुकामकमा जग्गाको सरकारी मूल्याङ्कन राजधानी भन्दा महङ्गो छ।हिमाल पारीको जिल्ला मुस्ताङको जोमसोम र मुक्तिनाथमा सरकारले जग्गाको मुल्य राजधानी कतिपय स्थानको हाराहारीमा तोकेको छ। त्यहाँ सरकारले आनाको ४ लाख अधिकतम मुल्याङ्कन गरे पनि १० देखि १५ लाख दरले कारोबार भइ रहेको छ।

चीनसँग जोडिने कोरला नाका र स्याउ उत्पादन हुने पकेट क्षेत्र आदी कारणले त्यहाँको जग्गाको मुल्य धेरै कायम गरिएको मुस्ताङ मालपोतकी प्रमुख दुर्गा देवकोटाले बताइन ।हिमाली भेगमा पर्ने १६ जिल्ला मध्ये धादिङ सदरमुकाम सबैभन्दा महङ्गो छ। सरकारी हिसाबमा त्यहाँ एक आनाको जग्गाको मुल्य पाँच लाख रुपैयाँ पर्छ।

उपत्यका जोड्ने महत्वपुर्ण पृथ्वी राजमागले छोएको एवं काठमाडौं बाट नजिक पर्ने हुँदा धादिङ सर्वाधिक महङ्गो भएको हो।सरकारले जग्गाको प्रकृति र प्रयोजनलाई आधार मानेर मुल्याङ्कन गर्ने गरेको छ। प्रकृति भन्नाले जग्गाको स्वरुप एवं प्रयोजन अन्तर्गत घर बनाउने, उद्योग खोल्ने, खेती गर्ने लगायत जमीनको उपयोगलाई अर्थ्याइने गरिन्छ।

सिन्धुपाल्चोक मालपोत प्रमुख कमल तिमिल्सिनाका अनुसार जग्गाको पुर्वाधार, प्रयोग, प्रकृति, उब्जनी, अवस्थिति र जोखिम आदीले मूल्याङ्नलाई प्रभाव पार्छन्। कुनै ठाउँमा राजनीतिक सहमतिका आधारमा पनि मूल्य तय हुने गरेको छ।

दार्चुला र मुगु पनि महँगाे
विकट हिमाली जिल्लाहरु दार्चुला र मुगु सदरमुकाममा प्रति आना तीन लाख र साढे तीन लाख रुपैयाँ भन्दा बढी मुल्याङ्कन गरीएको छ। सदरमुकाममा सिमित ठाउँ भएको र मानिसको चाप त्यतै बढी भएको हुँदा मूल्य लगातार उकालो लागेको मुगुका मालपोत अधिकृत जगत रोकायाले बताए।

चरिकोट व्यापारिक केन्द्रले महँगो
दोलखामा अधिकतम चार लाख ५० हजार रुपैयाँ प्रतिआना मुल्याङ्कन गरिएको छ। सदरमुकाम चरिकोट र आसपास प्रमुख व्यापारिक केन्द्रको मुल्याङ्कन पनि बढी गरिएको मालपोत प्रमुख दिपेन्द्र काफ्लेले बिजमाण्डूलाई बताए ।

बाटो नपुगेका जिल्लामा आनाको लाख भन्दा कम
हिमाली जिल्लाहरु हुम्ला र डोल्पामा अहिलेसम्म मोटरबाटो पुग्न सकेको छैन। डोल्पामा प्रति आना ५० हजार र हुम्लामा ७० हजार रुपैयाँ मुल्याङ्कन गरिएको छ । सडककै कारण जिल्ला सदरमुकाममा समेत मुल्य नबढेको डोल्पा मालपोतका कर्मचारी पुर्ण बहादुर बिकले बताए ।

मोटरबाटो पुगेको मनाङमा पनि सदरमुकाम चामे र आसपासका क्षेत्रको प्रतिआना अधिकतम ९० हजार रुपैयाँ कायम गरिएको छ। जिल्लामा स्थानिय राजनीतिक दलका प्रतिनिधि सहितको सर्वदलिय टोलीले मूल्य तय गर्छ। सोही कारण धेरै मूल्य नराखिएको मनाङका मालपोत प्रमुख गंगाबहादुर घलेले बताए ।

नाम्चेमा बाहिरकाले किन्न पाउदैनन्
सगरमाथाको जिल्ला सोलुखुम्बुको नाम्चेमा भने स्थानियहरुबीच मात्र जग्गा कारोबार हुन्छ। जिल्ला बाहिरको मान्छेले जतिसुकै महङ्गो तिर्न तयार भए पनि स्थानियले बिक्री नगर्ने सोलुखुम्बुका मालपोत अधिकृत दिनेश शाहले बताए।

सरकारी मूल्याङ्कन प्रतिआना अढाई लाख रुपैयाँ मात्र भए पनि स्थानियहरुबीच आनाको १५ लाख सम्ममा किनबेच भइ रहेको उनले जानकारी दिए।
स्थानिय सहितको सहभागितामा जग्गासँगै घरको पनि मुल्याङ्कन हुन्छ।

जग्गा आनाको अढाइलाख सरकारी मुल्याङ्कन भए पनि एक आनामा बनेको घरको चार लाख रुपैयाँ मूल्य तोकिने गरेको छ। घर जति तलाको छ त्यहि आधारमा जग्गाको समेत मूल्य बढ्दै जान्छ। यदि चार अना जग्गामा बनेको तीन तले घर छ भने त्यसको मुल्य ४८ लाख र जग्गाको मुल्य १० लाख तोकिने शाहले जानकारी दिए। यहाँ जग्गाको मुल्याङकनमा कित्ता नम्वर समेत तोकेर प्रकाशन गर्ने चलन छ  पहिलो पोष्टमा खबर छ ।

हिमाली भेगमा पर्ने १६ जिल्लामा यस्तो छ अधिकतम मुल्याङ्कन र चल्तीको कारोबार

जिल्ला स्थान सरकारी मुल्याङ्कन आनामा चल्तिको कारोबार आनामा
संखुवासभा खादबारी २ लाख ८/१० लाख
तापलेजुङ फुङ्लिङ बजार २ लाख ५० हजार ५/८ लाख
सिन्धुपाल्चोक चौतारा/बाह्रबिसे/मेलम्ची २ लाख ८/१० लाख
मनाङ चामे ७० हजार १ लाख ५० हजार
मुस्ताङ जोमसोम/मुक्तीनाथ ४ लाख १०/१५ लाख
गोरखा गोरखा बजार २ लाख ८/१० लाख
हुम्ला सिमिकोट ९० हजार १/१ लाख ५० हजार
डोल्पा दुनै ५० हजार ७०/८० हजार
जुम्ला खलङ्गा ३ लाख ५/७ लाख
मुगु गमगढी ३ लाख ५० हजार ८/१० लाख
धादिङ धादिङ बेशी ५ लाख ४०/५० लाख
कालिकोट मान्मा १ लाख ५० हजार २/३ लाख
दार्चुला खलङ्गा ३ लाख ८/१० लाख
सोलुखुम्बु नाम्चे २ लाख ५० हजार १०/१५ लाख
रसुवा टिमुरे १ लाख ५० हजार ३/५ लाख
दोलखा चरिकोट ४ लाख ५० हजार ८/१० लाख