शौचालयको ढल त्रिशूलीमा

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Trishuli2धादिङ । जलयात्राका लागि प्रसिद्ध रहेको त्रिशूली नदी केही वर्षयता नदी छेउछाउमा बढ्दै गएको अव्यवस्थित बस्ती, होटल व्यवसाय, उद्योगधन्दाका कारण प्रदूषित बन्नेक्रम बढ्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको क्षेत्र बन्दै गए पनि नदीमा ढल तथा अन्य फोहोर मिसाउने कार्य बढ्दै गएपछि त्रिशूली नदीको अस्तित्व नै संकटमा पर्न थालेको छ ।
पृथ्वीराजमार्ग मलेखुको माछाबजारदेखि गजुरीबजारसम्मका सडक छेउका होटलहरुको शौचालयबाट निस्कने फोहोर सीधै त्रिशूली नदीमा मिसाइने गरेको पाइएको छ । पृथ्वीराजमार्गअन्तरगत गजुरीबजारदेखि मलेखुबजारसम्मको राजमार्ग क्षेत्रको ८० घरधुरीको शौचालयको अनुगमन गर्दा ५२ घरबाट शौचालयको निकास सीधै त्रिशूली नदीमा मिसाइएको पाइएको छ ।
धादिङको गजुरीलाई खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने तयारीका लागि क्षेत्रको शौचालय अनुगमन गर्दा सडकछेउका होटलहरुको भित्री रहस्य बाहिर आएको हो । गजुरी खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजकसमेत रहेका गजुरी गाविसका सचिव मनचन्द्र धरलाको नेतृत्वमा बिहीबार शौचालय अनुगमन गरिएको हो । अनुगमन गरिएका घुरधुरीमध्ये ५२ घरधुरीले शौचालयको निकास सीधै त्रिशूलीमा मिसाएको, २८ घरधुरीमा शौचालय नै नभएको पाइएको धरलाले जानकारी दिए ।
कार्यक्रममा शौचालय नभएको घरधुरीलाई शौचालय निर्माणका लागि आवश्यक सहयोग गर्न र त्रिशूलीमा शौचालयको ढल मिसाउने घरधुरीलाई शौचालयको सेफ्टी ट्यांकी तत्काल निर्माणका लागि निर्देशन दिइएको धरलाले बताए । खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि राजमार्ग क्षेत्रमा अनुगमन गरिएका ८० घरधुरीका व्यक्तिहरुसँग सरसफाइ तथा स्वच्छता समन्वय समितिले आगामी दिनमा सरोकारवालाहरुसँग बसेर आवश्यक छलफल गरी शौचालय व्यवस्थापनका लागि पहल गरिने धरलाले बताए ।