प्रयासको शुभारम्भ

595 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एक्सन नेपाल र केयर नेपालको साझेदारीमा संचालन हुन गइरहेको प्रयास परियोजनाको आइतबार शुभारम्भ गरिएको छ ।
शुभारम्भ कार्यक्रमको अध्यक्षता एक्सन नेपालका अध्यक्ष भिम प्रसाद ढुंगानाले गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको विशेष अतिथिमा स्थानीय विकास अधिकारी भगवान अर्याल रहनुभएको थियो । कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका प्रतिनिधिहरुको साथै संचारकर्र्मीहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा एक्सन नेपालका सचिव हरि खतिवडाले स्वागत मन्तव्य राखिसकेपछि परियोजना अधिकृत कपिल सिलवालले परियोजनाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा कार्यालयका प्रतिनिधि र संचारकर्मिहरुले परियोजनामाथि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले परियोजनाले राज्यकै नीति र नियमको परिधिमा रहेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै स्थानीय विकास अधिकारी अर्यालले परियोजना शुरुवाती चरणमा रहेकोले यसमा राज्य र समुदायको आवश्यकता बमोजिम समुचित सुधार गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो । कार्यक्रममा उपस्थित सबै सहभागीको राय भने यस परियोजनाले विपद जोखिम न्यूनीकरणका सम्पूर्ण सरोकारवालाहरुसंग बलियो समन्वय गरेर अगाडी बढ्नुपर्नेमा केन्द्रित थियो । कार्यक्रमको अन्तिममा बोल्दै अध्यक्ष ढुंगानाले एक्सन नेपाल अहिलेसम्म पनि राज्यका निकायहरुसंग नै समन्वय गरेर अगाडी बढिरहेको र आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास दिलाउनुभयो । प्राकृतिक विपदको प्रभावबाट समुदायलाई मुक्त गराई उत्थानशिल बनाउने लक्ष राखेको यस परियोजना धादिङ जिल्लामा १४ महिनाको लागि संचालन हुनेछ । परियोजना विशेष गरि उत्तरी धादिङका ४ गा.वि.स.हरू (आगिन्चोक, बसेरी, बुढाथुम र मुलपानी)मा संचालन हुने बताइएको छ ।