घरेलु हिंसाले नै ‘वकिलसाब’ बनेकी तोलाकुमारी  

646 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

•कविता अधिकारी

काठमाडौं, २८ भदौ-अहिले त उनी नेपाल बार एसोसिएसन धादिङकी कोषाध्यक्ष छिन् । उत्पीडनबाट मुक्त हुन रोज्नु पर्ने कानुनी बाटो उनलाई सबै थाहा छ । धादिङ सल्यानटारकी तोलाकुमारी पाठकलाई उनले सहेको घरेलु हिंसा र उत्पीडनले वकिल बनायो । कानुन नबुझेका कारण सहनु परेको घरेलु हिंसाले उनी घर निकाला भइन् । सुत्केरी भएको १३ औं दिनमा घर निकालामा परेकी तोलाकुमारी अहिले अरुलाई घरेलु हिंसाबाट मुक्त गर्ने बाटो आफैं देखाइरहेकी छिन् ।

 

कक्षा ११ मा बढ्दै गर्दा काठमाडौं बनस्थलीका प्रकाश दाहालसँग बिहे गरेर काठमाडौं आएकी उनको जीवनमा त्यसै बेलादेखि दुःखद दिन सुरु भए । गाउँकी केटी भनेर हेप्ने र दाइजो नल्याएको निहुँमा सधैं गाली खाइरहेकै थिइन्, एक दिन यस्तो आयो उनले छोरा जन्माएको केही दिनपछि गाडी दुर्घटनामा ससुरा र बुढा ससुराको निधन भयो र उनी र नवजात छोरालाई ससुरा टोकुवा भनेर अस्पतालमै छोडियो ।

 

आफूमाथि त्यत्रो घरेलु हिंसा हुँदा पनि कानुनको बारेमा जानकार नहँुदा घरबाट निकालिनुपरेको उनले वताइन् । विवाह गरेर नै उनी पहिलो पटक काठमाडौं आएकी थिइन् । ‘परिवारले मागी विवाह गरिदियो त्यस समय सबैले राम्रै व्यवहार गर्थे, घर माइती सबैबाट राम्रै सम्मान पाएकी थिएँ’ उनले भनिन्, ‘तर पेटमा वच्चा आएपछि म घरेलु हिंसाको शिकार बनेँ ।’

 

घरमा उनी र अरुका लागि लागि बेग्लै खाना पाक्थ्यो । दैनिकजसो गाली गलौज सुन्नुपर्ने उनको वाध्यता थियो । ‘तँलाई त तड्पाई तडपाई मार्नु पर्छ भन्थे, पेटभरि खान पनि नदिने म कतिपटक पल्लो घरका मान्छेले  खाएको देखेर रुँनथेँ’ उनले त्यसबेलाको घटना सुनाइन्, ‘जहिल्यै भिखारीको छोरी भन्ने जहिल्यै दाइजो ल्याइनस् भन्ने कहिले मेरो छोरा तँलाई फिट हुँदैन भन्ने ।’

 

 

उनलाई वकिल बन्ने प्रेरणा दिने घटना एक दिन घट्यो घरमा । सबैले हेला गरेर पीडा दिए पनि माइतीले सहयोग गर्लान् भन्ने लागेको रहेछ उनलाई । एक दिन उनलाई भेट्न माइतीबाट वुवा आए । उनले ठानेकी थिइन्– बुवासँग अव रुन्छु, सबै समस्या सुनाउँछु । तर, बुवाले पहिले सासु र श्रीमानसँग कुरा गरे । उनीहरुले बुवालाई आफ्नो बारे भए नभएका सबै कुरा लगाएछन् । अनि उनले बुवालाई भेटेर कुरा गर्न खोजिन् ।

 

पहिलो वाक्य सोधिन्– बुवा खाना खानु भयो ?’
जवाफमा बुवाले भने– मैले के खाना खानु, तैँले पेटभरी ख्वाइहालिस् नि !’

 

छोरीले खेपेको घरेलु हिंसावारे बुवाले सुन्लान् भन्ने लागेको थियो उनलाई तर, बुवा छोरीका कारण आफ्नो इज्जत गएको महसुस गरे । ‘वुवालाइ आफ्ना समस्या सुनाउँछु भन्ने सोच्दै थिएँ तर, म भन्दा पहिला सासु र श्रीमानले मेराबारेमा भए नभएका कुरा सुनाएछन्’ उनले त्यसबेलाको घटना सम्झिइन्, ‘वुवा त तैँले पेटभरी ख्वाइहालिस् नि भनेर त्यसै हिंड्नु भयो । मेरो पीडा सुन्नु भन्दा पनि बुवाले मेरा कारणले आफनो इज्जत गएको महसुस गर्नुृभयो र म रोएरै बसेँ ।’ त्यसबेला उनी गर्भवती रहिछन् ।
घरेलु हिंसा र लाल्छना दैनिक खेप्दै आएकी उनका पीडा यतिकैमा सकिएनन् । त्यसैबीच उनी सुत्केरी भइन् । सुत्केरी भएको १३ औं दिनमा ससुरा र बुढो ससुरा एउटै सवारी दुर्घटनामा निधन भयो । अनि त के चाहियो ! त्यसै पनि सधै केही न केही निहुँ बनाएर गाली गर्ने परिवारले अव नवजात शिशु र सुत्केरी आमालाई ससुरा र बुढोससुरा टोकुवाको संज्ञा दिन थाल्यो । उनी भन्दै गइन् ‘म अस्पतालमा थिएँ, मलाइ त लिन पनि कोही आएनन्, बच्चाको मुख पनि हेरेनन् ।’ माइतीका कोही आफन्तले उनको घरमा पुरयाइदिए । तर घरमा कसैले उनलाइ हेरेनन् । जन्मिएको वच्चालाई पनि कसैले बास्ता गरेनन् । १३ बर्षिय भाइको साथ लागेर उनी माइत गइन् र उतै संघर्ष गर्न थालिन् ।

 

 

त्यसैबीच एक दिन उनलाइ मिलापत्र गर्ने भनी घरमा बोलाए । मिलापत्रको अर्थ उनले मिलेर घरमै बस्ने भन्ने बुझेकी रहिछन् । तर, मिलापत्र भनेर सम्बन्ध विच्छेदको कागजमा उनलाई सही गराइएको रहेछ । उनलाई सम्बन्ध विच्छेद नै गरेर बस्ने मन भने थिएन । तर, कागज अनुसार सम्बन्ध विच्छेद भइसकेको थियो । अनि माइतीमा पनि कुरा काट्न थालियो उनीवारे । ‘मेरो विवाह काठमाडौंमा हुँदा राम्रो भयो भन्दै सबैले सम्मान गर्थे, तर जब म घरबाट निकालिएँ त्यही समाज कुरा काट्न थाल्यो’ उनले भनिन्, ‘गाउँमा कोही बिग्रयो भने मेरो नाम लिएर उदाहरण दिन थालियो ।’ त्यसपछि उनले कानुन पढ्ने निर्णय गरिन् ।
सन्तान जन्मेको पाँच बर्षसम्म त रोएरै बित्यो । बीचमा रोएर हुदैन भन्ने सोच आयो अनि उनले पढ्ने अठोट गरिन् । अनि एउटा एनजिओमा काम गर्दै छोरालाइ पनि पढाउँदै आफू पनि काठमाडौमै आएर पढ्न थालिन् । ‘आफूलाई त अन्याय भयो भयो, मजस्ता बेसहारा महिलालाई कानुनी परामर्श दिन्छु भनेर मैले यो बिषय पढ्ने निर्णय गरेँ’ उनले भनिन्, ‘मलाई थाहा छ काठमाडौमा धेरै धनी मानिसका बुहारी हिंसामा छन् ।’
अहिले धादिङ जिल्ला बारको कोषाध्यक्ष रहेकी  उनी कानुनी सहायता लिन आउने महिलाहरुका लागि सहयोग गर्छिन् । ‘पैसा हुनेसँग पैसा लिन्छु, नहुनेसँग सित्तैमा पनि परामर्श दिने गरेकी छु’ उनले भनिन्, ‘दुई लाख रुपैयाँ खर्च गरेर फर्म खोलेकी छु ।’

 

 

जिल्लाकै पहिलो महिला वकिल भइ वकालत गर्न पाउदा उनी खुसी छिन् । आफनै ल फर्मममा दैनिक हेर्नुपर्ने अधिकांश मुद्दा सम्बन्ध विच्छेद मानाचामल, अंश, ज्यानमुद्दा, लागु औषध, जुवातास भए पनि धेरैजसो सम्बन्ध विच्छेदका मुद्दा रहेको उनी बताउँछिन् । महिला वकिल भएकाले महिलाहरु आफना कुरा उनलाई सहज महसुस गर्छन । वैदेशिक रोजगारी, पारिवारिक वेमेल र श्रीमानको हैसियत हेरेर श्रीमती बस्न नचाहेका कारण दैनिकजसो फर्मममा सम्वन्ध विच्छेदका मुद्दा बढि आएको उनी बताउँछिन ।

 

 

•कविता अधिकारी/चक्रपथ अनलाइन