रेडियो धादिङमाथि भएको आक्रमणको सर्वत्र निन्दा

543 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

७ असोज । सुरक्षाकर्मी परिचालन गरेर रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यालयमा भएको आक्रमणको विभिन्न राजनीतिक दलका साथै सञ्चारसम्बद्ध निकायहरुले तीव्र विरोध जनाएका छन् । बिहीबार राति रेडियो धादिङको भवनमा भएको आक्रमणलाई स्वतन्त्र सञ्चार माध्यमलाई बन्द गराउने सरकारी षड्यन्त्रका रुपमा लिइएको छ ।रेडियो धादिङको भवन लक्षित गरेर गरिएको आक्रमणमा रेडियो प्रशारणका सम्पूर्ण सामाग्रीहरु नष्ट गरी जंगली व्यवहार प्रदर्शन गरिएको प्रति प्रेस चौतारी नेपाल, प्रेस युनियन, नेपाल पत्रकार महासंघ धादिङ शाखाले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरि विरोध जनाएका छन । त्यसै गरी नेकपा एमाले, सहयात्री समाज,महिला मानवअधिकार रक्षकहरुको सञ्जाल, मानवअधिकार एलायन्सले पनि रेडियो धादिङ र स्नेह केन्द्र भत्काएकोमा विरोध जनाएका छन ।
यसै गरी प्रेस चौतारी नेपाल र नेपाल राष्ट्रिय वाणिज्य संघले शुक्रवार दिउंसो धादिङबेसी पुछारवजारबाट विरोध ¥याली निकाली सदरमुकामममा प्रदर्शन गरेको छ ।

स्थानीय समुदाय र अमरावती सामुदायिक वन उपभोक्ता समूहको सहमतिमा निलकण्ठ नगरपालिका– ८ साँगुटारमा रेडियो धादिङको भवन बनाइएको थियो । सुरक्षाकर्मीको आक्रमणमा सोही भवन परेको हो । सुरक्षाकर्मीहरुले रेडियोको भवनमा आक्रमण गर्दा रेयिडयो स्टेसनमा सुतिरहेका सञ्चारकर्मीहरु शंकर श्रेष्ठ, रोम श्रेष्ठ, खेम चेपाङ र सौगात लम्साललाई कपडासमेत लगाउन नदिई बाहिर निकालिएको थियो ।

नेकपा (एमाले)ले सो घटनाको भत्र्सना गर्दै भनेको छ–‘उक्त सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैरजिम्मेवारी र जिल्लास्थित अधिकारीहरुको पूर्वाग्रह मात्र झल्किएको छैन, कानुनी राज्यको समेत खिल्ली उडाइएको छ ।’ एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘स्थानीय समुदाय, वन उपभोक्ता समूह, राजनीतिक दल र जिल्लास्थित सरकारी कार्यालयहरुकै सहमति र सहयोगमा भूकम्पपछि निर्मित उक्त भवन मध्यरातमा डोजर लगाएर भत्काइनुले थप प्रश्न खडा गरेको छ । रेडियोका सामग्रीहरु समेत बाहिर निकाल्न नदिएर त्यहाँ रहेका कर्मचारीलाई आतंकित पारेर प्रहरीबाट घेरा हालेर जुन हर्कत गरिएको छ, यसबाट स्वतन्त्र सञ्चारमाध्यम बन्द गर्ने कुत्सित मनसाय प्रस्ट भएको छ ।’

एमाले प्रचार विभाग प्रमुख भट्टराईले यथाशीघ्र क्षतिपूर्तिसहित रेडियो सुचारु गर्ने व्यवस्था मिलाउन र सञ्चारमाध्यमहरुलाई आतंकित पार्ने काममा संलग्न सरकारी अधिकारीहरुमाथि कडा कारबाही गरी फेरि यस्ता गलत क्रियाकलाप नदोहो¥याउने व्यवस्था मिलाउन माग गरेका छन् ।

रेडियो धादिङको भवनमाथि भएको आक्रमणको विभिन्न स्वतन्त्र सञ्चार माध्यमहरुका संगठनहरुले तीव्र विरोध जनाएको छ । सामुदायिक रेडियोहरुको विश्व संगठन (अमार्क) का सहअध्यक्ष मीनबहादुर शाही, मिडिया सोसाइटी नेपालका अध्यक्ष पुष्करलाल श्रेष्ठ, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष मोहन चापागाई, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष गोपालकुमार झा र नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघ (निक्कु)का अध्यक्ष विष्णुहरि ढकालद्वारा आज जारी संयुक्त विज्ञप्तिमा भनिएको छ–‘रेडियोकर्मीहरु घरभित्रै रहेको अवस्थामा बाहिर निस्कनसमेत नदिई आक्रमण गर्नुजस्तो सरकारको अमानवीय एवं आतंककारी गतिविधिको कडा शव्दमा निन्दा र भत्सर्ना गर्दछौं ।’

ती संस्थाका प्रतिनिधिहरुले सरकारको कदमको घोर निन्दा गर्दै विज्ञप्तिमा भनेका छन्–‘सरकारको अमानवीय एवं आतंककारी शैलीका कारण स्थानीय जनता नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको नागरिकको सूचना र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक एवं कानूनी उपचारको हकसमेतबाट वञ्चित भएका छन् ।’ प्रेस चौतारी, नेपालले सो घटनाको निन्दा गर्दै घटनाको न्यायिक छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।