रेडियो धादिङको भवन भत्काएकोप्रति सर्वत्र विरोध

522 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

image-name

दोषीलाई कारबाहीका लागि सिफारिस गर्छु–आयोग प्रमुख शर्मा

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले आक्रमण शैलीमा सामुदायिक रेडियो धादिङको भवन भत्काएको घटनाले  प्रेस स्वतन्त्र र मानवअधिकार हनन भएको भन्दै  तत्काल दोषीलाई कारबाही गर्न सिफारिस गर्ने बताउनु भएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) को नेतृत्वमा गएको बिभिन्न रेडियोकर्मी तथा पत्रकारहरुको संगठनका प्रतिनिधिहरुले बुझाएको ज्ञापनपत्र आज बुझ्दै शर्माले यस घटनाको आयोगले तत्काल अनुसन्धान सुरु गर्ने पनि बताउनुभयो । आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले रेडियोभित्र सुतेका व्यक्तिलाई समेत थाहा नै नदिई भवनमा डोजर प्रयोग गर्नु निन्दनीय घटना भएको बताउनुभयो ।

ज्ञापन पत्र बुझाउदै सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मोहन चापागाईले रेडियोकर्मी सुतिरहेका बेला बिहान ४ बजे जिल्ला वन कार्यालय धादिङको अगुवाईमा सशस्त्र र जनपद प्रहरीको टोलीले रेडियो धादिङ १०६ मेगाहर्जको भवन भत्काइदिएको घटनाले लोकतन्त्रकै उपहास गरेको बताउनुभयो । पूर्वसहमति विपरित कुनैपनि जानकारी नै नदिइ बिहान ४ बजे जिल्ला वन कार्यालयले भवन भत्काएको रेडियोले जनाएको छ ।

रेडियोका सामान झिक्न नदिइकन आक्रमण शैलीमा भवन भत्काइएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले सुतिरहेका अवस्थामा लछार पछार गरेर कर्मचारी, रेडियोकर्मी निकाल्दा केही घाइते भएका छन् । प्रहरीको टोलीले कर्मचारीमाथि दुब्र्यबहार पनि गरेको छ । सरकारी जग्गामा भवन बनाएकाले भत्काएको जिल्ला वन कार्यालयले जनाएको छ ।

तर रेडियोले भने भूकम्पले भवनमा क्षति पुगेपछि वन कार्यालय लगायत सरकारी निकायकै अनुमति र लिखित सहमतिमा भवन बनाएको दावी गरेको ५ । जनतालाई सूचनाबाट बन्चित हुनेगरी रेडियोमाथि आक्रमण गर्नु निन्दीय भएको भन्दै सामुदायिक रेडियो प्रसारक संघ, मिडिया सोसाईटी नेपाल, बान, अमार्क लगायतका विभिन्न संघसस्थाले संयुक्त बिज्ञप्ती निकालेका छन् ।

माईतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन 

सामुदायिक रेडियो धादिङको भवन भत्काएको घटनाले प्रेस स्वतन्त्र र मानवअधिकार हनन भएको भन्दै  तत्काल दोषीलाई कारबाही गर्न माग गर्दै रेडियोकर्मी, पत्रकार र मानवअधिकारकर्मीहरुले काठमाडौँमा विरोध र्याली निकालेका छन् ।

रेडियोमा भएको आक्रमणको विरोध, कस्ले के भने ?

माइतीघर मण्डलामा भएको बिरोध कार्यक्रममा नागरिक समाजका अगुवा, अधिवक्ता, मानवअधिकारकर्मी, संचारकर्मी तथा विभिन्न पेशागत संघसंगठनका प्रतिनिधीहरुको सहभागिता थियो ।

कार्यक्रममा सहभागी भएकाहरुले रेडियो धादिङमा भएको आक्रमणको निन्दा गर्दै हातमा कालो पट्टी बाँधेर बिरोध जनाएका थिए । बिरोध कार्यक्रममा ऐकेबद्धता जनाउँदै अधिवक्ता एवं नेपाल बार एशोसियशनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले रेडियो माथीको आक्रमण निन्दनिय भएको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको अन्तरिम आदेशको बर्खिलाप हुनेगरी रेडियो माथी आक्रमण भएको भन्दै यस्तो कार्यले सर्वोच्च अदालत अवहेलना भएको पनि बताउनुभयो ।

त्यस्तै नागरिक समाजका अगुवा सुवोधराज प्याकुरेलले रेडियो माथीको आक्रमण समग्र नागरिक स्वतन्त्रता माथिको आक्रमण भएको बताउँदै आक्रमणमा संलग्न प्रशासनले क्षतिपुर्ति दिनु पर्ने बताउनुभयो । साथै उहाँले रेडियो माथि निरङ्कुश शैलीमा भएको आक्रमणको विरोधमा नागरिक समाज पनि संचारकर्मीहरुको साथमै रहेको बताउनुभयो ।

यसैबिच सामुदायिक रेडियो धादिङमा भएको आक्रमणले प्रेस स्वतन्त्रताको हनन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । सरकारले समग्र प्रेसमाथी आक्रमण गरेको बताउँदै महासंघका महासचिव उजिर मगरले त्यसको घोर भत्र्सना गर्नुभयो । उहाँले घटनाको सत्यतथ्य छानविन भएर दोषी माथी कारबाही नभएसम्म पत्रकारहरुको आन्दोलन जारी रहने समेत बताउनुभयो ।

यस्तै विश्वका सामुदायिक रेडियोहरुको छाता संगठन ( अमार्क ) का उपाध्यक्ष मीन बहादुर शाहीले सुतिरहेको समयमा रेडियोको भवन भत्काइनु अमानविय कार्य भएको बताउनुभयो । उहाँले रेडियोका साथै नजिकै रहेको सुरक्षित आवासगृह पनि भत्काईएको भन्दै सामान्य मानवियताको समेत ख्याल नगरिएको बताउनुभयो । रेडियो माथिको आक्रमण मानव अधिकारको उलङ्घन समेत भएको बताउँदै शाहीले दोषी उपर कारबाहीको माग गर्दै मानव अधिकार आयोगमा उजुरी दर्ता गराएको समेत बताउनुभयो ।

यस्तै सामुदायिक रेडियो प्रशारक संघ अकोराबका अध्यक्ष मोहन चापागाईले सरकारले सामुदायिक रेडियो धादिङमा आक्रमण गरेर गम्भिर गल्ती गरेको बताउनुभयो । सरकारको यस्तो रबैयाको विरोधमा देशभरका सामुदायिक रेडियो र सम्पूर्ण सञ्चारकर्मी एकजुट भएर आन्दोलनमा उत्रिएको बताउनुभयो । साथै सरकारले रेडियोकर्मीहरुको कुरा नसुने आफुहरु अन्तराष्ट्रिय अदालतमा जाने समेत बताउनुभयो ।

यस्तै संचारकर्मीहरुको आन्दोलनमा देशभरका सहकारीहरुले समेत ऐकेबद्धता जनाएका छन् । सहकारी संचार संस्था लिमिटेलका अध्यक्ष विष्णुहरी ढकालले सामुदायिक बनमा भएर सार्वजनिक घर टहरा हटाउने कार्य छुट्टै बहशको विषय भएपनि रेडियो धादिङमाथि नै किन आक्रमण भयो ? यो गम्भिर प्रश्न भएको बताउनुभयो । उहाँले प्रशासनको यस्तो कदम निरङ्कुश शासनको शुरुवात भएको समेत बताउनुभयो ।