भत्काईएको भवनबाटै वज्यो रेडियो धादिङ

753 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ,९ असोज- वन अतिक्रमण गरी रेडियो प्रशारणको भवन वनाईएको भन्दै निश्चित समूहको दवावमा जिल्ला वन कार्यालय धादिङले रेडियोको भवन भत्काउने नाममा प्रशारण उपकरण ध्वस्त पारेपछि बन्द हुन पुगेको रेडियो धादिङ १०६ मेगाहर्ज भत्किएकै भवनबाट अस्थायी रुपमा संचालनमा आएको छ ।
आम नागरिकको सुचना पाउने अधिकारलाई सुसुचित गर्दै श्रोता, शुभचिन्तक, सरोकारवाला निकायका अगुवाहरुको सल्लाह अनुसार यस अघि प्रशारण भईरहेको भवनबाटै रेडियो संचालन गरिएको स्टेशन मेनेजर राजाराम शर्माले बताउनु भयो । अहिलेको लागि भत्काएकै पूरानो भवनको माथिल्लो तल्लाबाट अस्थायी उपकरणहरु प्रयोग गरेर रेडियो प्रशारण गरिएको छ । रेडियाको कल साइन, समाचार र कार्यक्रमका सिग्नेचर टिउन भएका कम्प्यूटर र अन्य उपकरण पूर्ण क्षति भएकोले नियमित प्रशारणमा कठिनाई भएपनि विग्रिएका उपकरण प्रयोग गरेर रेडियो प्रशारण सुरु गरिएको शर्माले जानकारी दिनुभयो ।
रेडियोमाथि शुक्रबार बिहान ४ बजे जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेलको नेत्तृत्वमा गएको सुरक्षाफौजले जंगली शैलीमा आक्रमण गरेको थियो । आक्रमणमा रेडियो प्रशारणका सम्पूर्ण उपकरण ध्वस्त पारिएपछि दुई दिन सम्म वन्द रहेको रेडियो आईतबार विहान ९ वजेबाट प्रशारणमा आएको हो । आक्रमणका क्रममा क्षती भएका सामानहरु जुटाउन समय लाग्ने भएपनि आम जनताको सूचनाको अधिकारको सम्मान गर्न रेडियो वजाउनु परेको रेडियो संचालक समितिले जनाएको छ । ग्रामीण संचार सहकारी संस्था लि. द्धारा संचालन हुंदै आईरहेको रेडियो धादिङ १०६ धादिङ जिल्लाको सबै भूभाग र आसपासका जिल्लामा समेत राम्रो संग सुन्न सकिन्छ । रेडियोमा १ सय ८५ जनाको शेयर रहेको छ ।
जिल्ला बन कार्यालयले शुक्रबार राती भत्काएको रेडियो धादिङ र सुरक्षित आबास गृहको संचार संस्थाहरुको केन्द्रिय टोलीले स्थलगत अध्ययन गरेको छ ।
अध्ययनका लागि काठमाडौबाट आएको पत्रकार, मानवअधिकारकर्मिहरुको टोलीले गरेको स्थलगत अध्ययनका क्रममा स्थानीय प्रसासनले रेडियोको भवनलाई भन्दा पनि प्रशारण बन्द गराउने नियतले यस्तो गतिबिधि गरेको निष्कर्ष निकालेको थियो ।
नेपाल पत्रकार महासंघ, अकोराब, बान, अमार्क, निक्कु, प्रेस चौतारी, प्रेस युनियन लगायतका प्रमुख एबं् प्रतिनिधिहरुको बिशेष टोलीले भत्काइएको संरचना र फुटाइएको उपकरणहरुको निरिक्षण गरेका थिए । काठमाडौबाट आएको टोलीले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी, स्थानीय राजनितिक दलका नेता, प्रहरी प्रमुख सहित, जिल्लामा सक्रिय सञ्चारकर्मिहरु संग छलफल गरेर तुरुन्तै रेडियो सञ्चालनको माग गरेको थियो । तर प्रमुख जिल्ला अधिकारी सुबेदी रेडियो प्रशारणका बिषयमा सकारात्मक नवनेको अनुगमन टोलीले जनाएको छ । टोली संगको कुराकानीमा प्रजिअ सुवेदीले, यो मात्रै होइन यस्ता धेरै होलान, सरकारले चाहेको गरेरै छोड्छ भन्ने प्रतिकृया दिएका थिए ।’
छलफलको क्रममा अमार्कका सहअध्यक्ष मीनबहादुर शाहीले भबन भत्काएपनि उपकरणमा क्षति पु¥याउनु प्रेस स्बतन्त्रता र अभिब्यक्ति स्बतन्त्रताप्रतिको आक्रमण भएकोले क्षति भएका सामाग्रीको सरकारले जिम्मा लिनुपर्ने बताए । रेडियो बचाउ आन्दोलन र रेडियो मार्फत जनताले पाउने अधिकारलाई सुनिश्चित गराउन सबै सक्रिय हुनुपर्नेमा अनुगमन टोलीले निष्कर्ष निकालेको छ । सामुदायिक बन क्षेत्रमा बनेको भबन भत्काउने भन्दा पनि रेडियो बन्द गराउने नियतले यस्तो गतिबिधि गरेको निष्कर्ष निकाल्दै टोली काठमाण्डौ फर्किए पछि वन्द रहेको रेडियो संचालनमा आएको हो ।
रेडियो त्यहि भवनबाट चल्छ –शाही
सामुदायिक रेडियोहरुको अन्र्तराष्ट्रिय छाता संगठन अर्माकका उपाध्यक्ष मिन वहादुर शाहीले रेडियो धादिङ भत्काईएकै भवनबाट चल्ने बताउनु भएको छ । रेडियोको प्रशारणनै वन्द हुने गरी भएको हमला पछि रेडियोको स्थलगत अध्ययनका लागि धादिङ आईपुगेका शाहीले रेडियो त्यहि भवनबाट संचालन हुने वताउनु भएको हो । घटना दर्दनाक भएको भन्दै शाहीले कानुनी प्रक्रियामा जाने र दोषी उपर कारवाही गरिने समेत बताउनु भएको थियो ।