दशैंका लागि काठमाडौं भित्र्याइएका खसीबोकामा निमोनिया !

656 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

खाद्य संस्थानकै खसीबोका पनि रोगी भेटिए

 

काठमाडौं, १७ असोज – अस्वस्थ मासुको उपभोगले मानव स्वास्थ्यमा पर्नसक्ने असरलाई दृष्टिगत गर्दै सरकारले ठूलो परिमाणमा उपत्यका भित्र्याइएका खसीबोकाको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ ।

सन्दर्भ तस्वीर स्रोत: एड्भेन्स एड्भेन्चर
सन्दर्भ तस्वीर स्रोत: एड्भेन्स एड्भेन्चर

नेपालका विभिन्न जिल्ला तथा भारत हुँदै काठमाडौं भित्रिएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्न सरकारले क्षेत्रीय जनस्वास्थ्य कार्यालयको संयोजकत्वमा राजधानीका मुख्य खसीबजारमा परीक्षण थालेको छ । कार्यालयले विभिन्न टोली नै गठन गरेर आइतवारदेखि ती खसीबजारमा अनुगमन गरेको छ  लोकान्तर अनलाइनमा खबर छ ।

कार्यालयले खाद्य संस्थान, काठमाडौंका कलंकी, सतुंगल, बागबजार, बिजुलीबजार लगायतका मुख्य खसीबजारमा दशैंमा भित्र्याइएका खसीबोकाको अनुगमन गरेको छ । कार्यालयले कलंकी तथा सतुंगल, बागबजार, बिजुलीबजार र खाद्य संस्थानमा विशेषज्ञ सम्मिलित छुट्टाछुट्टै टोली नै खटाएको छ । ती टोलीले सम्बन्धित स्थानमा भित्र्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने कार्यालयका प्रमुख डोरनाथ अधिकारीले लोकान्तरलाई बताए ।

कलंकीमा ८ खसीबोका अस्वस्थ भेटिए

टोलीले गरेको अनुगमनका क्रममा कलंकीमा ८ वटा खसीबोका अस्वस्थ भेटिएका छन् । कलंकी क्षेत्रको अनुगमनमा खटिएका वरिष्ठ भेटनरी अधिकृत डा. सुमनकुमार मण्डलका अनुसार ती खसीबोकामा निमोनिया लगायतका स्वास्थ्य समस्या देखिएका छन् । टोलीले कलंकीमा आइतवार र सोमवार गरेर २१ सय ६९ खसीबोकाको स्वास्थ्य परीक्षण गरको थियो । ‘रोगी खसीबोकाको उपचार गराइरहेका छौं,’ मण्डलले लोकान्तरसँग भने, ‘स्वास्थ्य स्थिति दुरुस्त भएमात्र बिक्री गर्न व्यवसायीलाई निर्देशन दिएका छौं ।’

खाद्य संस्थानमा पनि ८ खसीबोका रोगी भेटिए

त्यस्तै, कार्यालयले गरेको स्वास्थ्य परीक्षणका क्रममा खाद्य संस्थानका ८ खसीबोका रोगी भेटिएका छन् । अनुगमनमा खटिएका कार्यालयका क्षेत्रीय जनस्वास्थ्य चिकित्सक डा. नारायण घिमिरेका अनुसार सोमवार गरिएको स्वास्थ्य परीक्षणमा संस्थानमा रहेका ८ खसीबोका अस्वस्थ भेटिएका हुन् । संस्थानमै रहेका साढे सात सय च्याङ्ग्रामा भने कुनै पनि खालको स्वास्थ्य समस्या नदेखिएको घिमिरेले बताए ।

घिमिरेकै टोलीले गरेको स्वास्थ्य परीक्षणमा बागबजारको टुकुचा खसीबजारका खसीबोकामा भने हालसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन ।त्यस्तै, कार्यालयकै चिकित्सक डा. कुमुद उपाध्यायको टोलीले गरेको अनुगमनका क्रममा बिजुलीबजारको खसीबजारका खसीबोकामा हालसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन ।

उपाध्यायका अनुसार आइतवार र सोमवार गरेर उक्त खसीबजारका करीब तीन सय खसीबोकाको परीक्षण गरिएको थियो । कार्यालयको टोलीले अनुगमनका क्रममा स्वस्थ भेटिएका खसीबोकामा हरियो र अस्वस्थ खसीबोकामा रातो चिह्न लगाउँछ । काठमाडौं नयाँ बजारका मासु व्यापारी राजेश शाहीले बताए अनुसार नाक बजाउने र सिँगान बगाइरहेका  खसीबोकाहरु अस्वस्थ्य हुने गर्छन् ।