नागढुंगाबाट ठूलो मात्रामा लागुऔषध बरामद

625 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौंः चाडपर्वलाई लक्षित गरेर उपत्यकामा अवैध बस्तु भित्र्याउन सक्ने आशंकामा प्रहरीले नागढुंगामा विशेष सुरक्षाजाँच सुरु गरेसँगै ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । मंगलबार मात्रै प्रहरीले नाइट्रोजेपाम तीन हजार पीस र डाइजेपाम दुई सय १० पीस बरामद गरेको छ ।
यो घटनामा प्रहरीले बिक्री गर्न ल्याउने र खरिद गर्ने दुवै समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले ना ५ ख ४६८४ नम्बरको वीरगञ्ज काठमाडौं चल्ने बसमा लुकाएर ल्याएको अवस्थामा तीन हजार पीस नाइट्रोजेपाम बरामद गरेको हो ।
पर्सा बसन्तपुरका राजेश मुखियाले उक्त परिमाणको नाइट्रोजेपाम झोलामा लुकाएर ल्याएका थिए । उनले कपनका एक खुद्रा व्यापारीलाई बिक्री गर्ने तयारी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मंगलबारै नवलपरासीका प्रदीप कुमार मल्ललाई लु १ ख ७१९५ नम्बरको भैरहवाबाट काठमाडौं आएको बसमा लुकाएर ल्याएको दुई सय १० पीस डाईजेपामसहित प्रहरीले पक्राउ गरेको छ । उनले लुकाएर ल्याएको उक्त लागूऔषध बुझ्न कलंकीमा आएका गोंगबुका निरञ्जन महर्जनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।