घर बनाउने पैसा रक्सी र मासुमा

529 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20160923_124310

 (सन्दर्भ तस्वीर, धादिङको गल्छी स्थित मुक्तिनाथ विकास बैकमा अनुदानको रकम बुझ्नका लागि पालो पर्खदै गरेका धादिङ जिल्लाको कल्लेरी गाविसका स्थानीयवासी
तस्बिर : केशव अधिकारी /धादिङ न्यूज )

नुवाकोट, २७ असोज – पोहोर सालको दशैंमा तारुका—७ नुवाकोटका दीपक तामाङलाई दशैं खर्च जुटाउन निकै धौधौ हुन्थ्यो । तर यस वर्ष दशैंको मुखमा पुनर्निर्माणका लागि भनेर आएको ५० हजार राहतका कारण उनलाई घर व्यवहार चलाउन निकै सहज मात्रै भएन, अनावश्यक खर्च पनि गर्न पुग्यो ।

अघिल्लो वर्ष आर्थिक अभावमा जसोतसो दशैंको गर्जो टारेको बताउने उनले यस वर्ष भने परिवारलाई राम्रै लुगाफाटा किने । राम्रो मोबाइल पनि किने सोही पैसाले ।

तारुका—४ का सेते मिजारले पनि बुझे राहतस्वरूप ५० हजार रुपैयाँ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको कारण उनको घर ध्वस्त भएको थियो । घर ध्वस्त भएदेखि नै सामान्य टहरोको भरमा बास बस्दै आएका उनले पाएको ५० हजारबाट सामान्य घर बनाउन शुरू गर्नुपर्नेमा सो पैसाले मदिरा खाएरै सकेको स्थानीयवासीले बताए ।

दुई साताअघि नुवाकोटको महादेवफाँटमा रहेको हाम्रो विकास बैंकको शाखा कार्यालयबाट रकम बुझेका उनले सो पैसा ल्याएकै दिन नजिकैको बजारमा गएर रक्सी खाएर १० हजारभन्दा बढी सकेको छिमेकीको भनाई छ । त्यसपछि पनि उनले सो पैसा अनावश्यक रूपमा खर्च गरेर सकिसकेको छिमेकी बताउँछन् ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि अनुदान र सहुलियत ऋणसमेत गरी भूकम्पपीडितलाई आठ लाखसम्म दिने बताएको छ । सोही अनुसार पुनर्निर्माण प्राधिकरणले यहाँका भूकम्पपीडितलाई पहिलो किस्तास्वरूप ५० हजार दिएको हो । तर भूकम्पपीडितले पुनर्निर्माणका लागि भन्दा पनि अनुत्पादक र फजुल काममा खर्च गरेको पाइएको छ ।

अधिकांश स्थानीयहरूले पाएको ५० हजारबाटै दशैं मानेको बताएका छन् । दशैंको टीकाटाला, मासु, मरमसला लगायतका काममा सोही पैसा खर्च गरेको पाइएको छ ।

तारुकामा गत वर्षको भूकम्पबाट १४ सय घरमा क्षति पुगेको गाविस कार्यालय तारुकाका सचिव विष्णु अधिकारीले बताए । उनका अनुसार केही वडाका घरधुरीमा भने रकम भुक्तानी हुने क्रममा छ ।