बत्तीमुनिका आदिवासी चेपाङ

558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– डा. उद्धव राई

बत्तीमुनिका आदिवासी
चेपाङ बस्तीमा अनिकाल, भोकमरीले चेपाङ गाउँ शून्य, चेपाङको कन्दमूल खन्न जाँदा मृत्यु, जंगली च्याउले चेपाङको मृत्यु आदिजस्ता समाचार नेपाली छापामा आइरहने प्रतिनिधि शीर्षकहरू हुन् । काठमाडौं, नेपालको राजधानी, प्रमुख शक्तिकेन्द्रको समिपका चेपाङहरूको अवस्था के साँच्चै यस्तै भयावहपूर्ण छ त ? यदि त्यसो हो भने यसो किन भैरहेछ भन्ने विषयमा यस लेखमा विचरण गरिएको छ ।

काठमाडौंबाट चेपाङहरूको मुख्य बसोबास क्षेत्रको केन्द्रबिन्दु ब्रोसबाङ, कान्द्राङगढी लगभग ४० एरोनटिकल माइलमा पर्छ । यसको वरिपरि फैलिएर बसेका छन्, चेपाङ बस्तीहरू । चेपाङहरूको बसोबास प्रशासनिक हिसाबले हाल विभिन्न जिल्लामा बाँडिए तापनि ऐतिहासिक भौगोलिक दृष्टिले यिनको बसोबास क्षेत्र काठमाडांै पश्चिम चन्द्रागिरि पर्वतदेखि सुरु भएको डाँडा दामनपछि त्रिशूली नदीमा पुगेर सकिने पहाड -महाभारत शृङखला) को वरिपरि नै हो । प्रशासनिक हिसाबमा यिनको मूल बसोबास क्षेत्र हालको मकवानपुर, चितवन, धादिङ र गोरखा जिल्लामा पर्छन् । चेपाङ क्षेत्रको अति नै दुर्गम भनिने गाउँबाट पनि पैदल र गाडीको माध्यमबाट काठमाडौं बढीमा एकदिनमा आइपुग्न सकिन्छ । भौगोलिक रूपमा यति नजिक भएर पनि किन उनीहरू काठमाडौंसँग डराउँछन् ? काठमाडौंले किन यिनलाई आकषिर्त गरेन ? छापामा अभाव र पिछडिएका भनी बेलाबेला किन छाउँछन् ? वर्षौंदेखिका विकास प्रयासले किन यिनलाई राहतँ दिनसकेको छैन ? किन चेपाङले सधैं मनभरि पीर बोकेर हिंड्नुपरेको छ ? प्रश्नहरू धेरै छन् ।

चेपाङहरूको चर्चा मुख्य गरेर खाना तथा भोकमरीले गर्दा हुने गर्छ । सयमा चारलाई मुस्किलले वर्षभर खान पुग्छ । अन्य सब भोकभोकै जिउँछन् । जसमा वनको सहारा ठूलो छ । चेपाङ खानाका मुख्य ५ स्रोत छन् । स्वआर्जनको खाद्यान्न तथा सागपात, जंगली कन्दमूल, जंगली वनस्पति, जंगली जीवजन्तु र घरपालुवा जीवजन्तु । तीन दशक अघिसम्म चेपाङ खानामा जंगलको अधिक योगदान थियो । हाल आएर यो बराबरभन्दा केही तल झरेको छ । जो विकासे संस्थाका कामले तरकारी उत्पादन बढाएकाले सम्भव भएको हो । अझ पनि लगभग उनको एक तिहाइभन्दा बढी खाना वनमा आधारित छन् । जंगली कन्दमूल खन्नु, वनस्पति खोज्नु, जंगली फलफूलको बोटलाई बोक्रामा काटेर चिन्ह लगाई मेरो हो भनी उपभोग गर्नु, सिकार खेल्नु, माछा मार्नु आदि परापूर्व कालदेखि चलिआएका प्रचलन हुन् । काठमाडौंबाट एक दिनमा पुगिने ठाउँका मान्छे भोकभोकै पर्नुले पनि चेपाङहरू मिडियामा छाएका होलान् । उनका अनौठा खानपान पद्धतिले पनि अतिरञ्जित गरेको होला ।

अधिकांश चेपाङको हालको मुख्य जनजीविकाको आधार भनेको सिमान्तकृत खोरिया खेती हो । यसमा आधुनिक कृषि प्रणालीमा आवश्यक मल, बिउ, अन्न, जोत, सिंचाइ पद्धति अपनाइन्न । यो सिमान्तकृत पाखो बारीमा गरिन्छ । यस पद्धतिमा एक पाखोको बोट बिरुवा, बुट्यान माघ-फागुनमा फाँडेर/काटेर छाड्ने र चैत बैसाखमा आगो लगाई खनजोत गर्ने र बिउबिजन रोप्ने-छर्ने प्रक्रिया गरिन्छ । बाली पाक्ने समय भएपछि बाली काटिन्छ र घर भित्र्याइन्छ । उक्त क्षेत्रमा घटीमा अर्को एक वर्ष खेती गरिन्न र बाँझो छाडिन्छ भने खेती अन्य ठाउँमा सारिन्छ । त्यसैले कृषिका विज्ञहरू यसलाई खोरिया वा घुम्ती खेती पनि भन्छन् । यसमा मकै, जुनेलो, कागुनो, फापर आदिको खेती गरिन्छ । यो बाहेक चेपाङहरू डोका, डाला, नाङ्लो, घुम, चित्राफुँगा, कुचो संकलन गर्ने र बुन्ने आदि काम पनि त्यतिकै गर्छन्, यो पनि उनीहरूको परम्परागत सीप हो । चित्राफुँगा बुन्ने र नजिकको बजारमा वा गाउँमा लगेर अन्नसँग साट्ने वा नगदमा बेच्ने प्रचलनबाट यिनले जीविकोपार्जनमा मद्दत पुर्याएका छन् ।

अनौठो कुरा के भने अन्य समुदायको तुलनामा अति कम चेपाङहरू बसाइँ सरेर (लामो वा छोटो) श्रम गर्ने, नगद कमाएर घरपरिवारलाई मद्दत गर्ने गर्छन् । समय भएमा वनजंगलमा खनिखोस्री गर्नु, सिकार खेल्नु नै उपयुक्त मान्छन् ।

शिक्षा र चेतनास्तरमा पनि चेपाङ समुदाय पछि छन् । सामाजिक तथा राजनीतिक संघ/संस्थामा सहभागिता यिनको न्युन छ । गाउँका विद्यालय, स्वास्थ्यचौकी, वनउपभोक्ता तथा पार्टीगत समितिहरूमा पनि यिनको सहभागिता अति न्युन छ, भई नै हाले पनि थपना मात्रको छ । हाल गुठीबाट सञ्चालित चितवनका दुई आवासीय माध्यमिक विद्यालय तथा चितवन, मकवानपुर र धादिङमा सञ्चालित छात्रावासले पढ्न चाहनेहरूका लागि भरपुर मद्दत गर्न थालेको छ । विद्यालय उत्तर शिक्षाका लागि भने स्पष्ट रेखा कोरिएको छैन । चेपाङ समुदायमा परम्परागत संस्थाबाहेक औपचारिक संगठनहरू बन्ने क्रम बढेको छ ।

प्रजा सामुदायिक विकास कार्यक्रम, बिभिन्न गैरसरकारी संस्थाहरूको चेतना अभिवृद्धि कार्यक्रमहरूले उत्प्रेरणा बढाएको पाइन्छ, जसलाई २०५५ मा स्थापित नेपाल चेपाङ संघले थोरबहुत मद्दत पुर्याएको छ । यसपछि बिभिन्न गैरसरकारी, सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा शिक्षा, भाषा, संस्कृति, नागरिकता, नगदेबाली, तरकारी खेती, वन संरक्षण, जीविकोपार्जन, स्वास्थ्य तथा सरसफाइ, खोरिया खेती, पर्यावरण संरक्षण, जैविक विविधता आदिजस्ता कार्यक्रमहरू सञ्चालित भए/हुँदैछन् । तर पनि उनीहरू काठमाडौंबाट धेरै टाढा छन्, मानव विकासका क्रममा । यसो हुनुमा अर्थराजनीतिगत कुराको भूमिका छ ।

चेपाङलाई बुझ्न उनको सोच, विश्वास र संस्कार जान्न जरुरी छ । उनीहरू प्रकृतिलाई देवीदेवताका रूपमा पुज्छन् । कसैलाई ठगेमा, धोका दिएमा, शोषण गरेमा, होच्याएमा त्यसलाई देवीले भष्म पार्छ भन्ने मान्यताका कारण यो समुदायले छलकपट, जालझेल गर्दैनन् । गरे पनि कम गर्छन् । अरूको त्यत्तिकै नखानु, खाएमा भारा लाग्छ भन्ने मान्यता राख्छन् । पाहुनालाई अति सत्कार गर्छन् । नाताकुटुम्बलाई चेपाङहरू असाध्यैै मानमनितो गर्छन् । प्रत्येक चाडपर्व, उत्सवमा छोरीज्वाइँ, माइती घर आउँदा-जाँदा मौसम अनुसारको उत्पादित फलफूल, सिकार तथा मासु, रक्सी आदि कोसेली बोक्ने चलन छ । यसरी कोसेली चेपाङ संस्कृतिको अभिन्न अङ्ग बनेको छ ।

मितेरी नाता सम्बन्ध पनि गहिरो रूपमा विकसित भएको छ । चेपाङहरू अन्य समुदायका मानिसहरूलाई मीत बनाई आफूमा समाहित गर्छन् । यसले गर्दा यिनको अन्य समुदायसँगको सम्बन्ध बढेको छ । समग्रमा, चेपाङ समुदाय आफंै परम्परागत रूपमा विकसित एक सिंगो पूर्ण समाज लाग्छ । तर मानवअधिकारका विश्वव्यापी मान्यताको अनुशरण गर्ने आधारबाट हेर्दा, आधारभूत न्युनतम आवश्यकता परिपूर्तिका अवस्थालाई विचरण गर्दा चेपाङ समुदाय औसत नेपालीहरूकै तुलनामा धेरै पछि छन् ।

काठमाडौंमा खाद्य सुरक्षा र खाद्य सम्प्रभुताबारे बहस चल्छन्, तर केही घन्टाको दूरीमा रहेका चेपाङको घरमा चुल्हो बलेको छ-छैन, कसैलाई थाहा हुन्न । परम्परागत विश्वासमा आधारित चेपाङ समाज विभिन्न बहानामा क्षयीकरण हुँदै गएको छ । चेपाङ नेपालमा समानुपातिक रूपमा सबभन्दा बढी विश्वास/धर्म परिवर्तन गर्ने समुदाय हुनपुगेको छ । तर नेपाल चेपाङ संघका पदाधिकारी निरीह दर्शक बनेर बसेका छन् । देशका धेरै योजनाहरू तथा भर्खर बनेका कृषि नीतिहरूले घुर्यानका चेपाङहरूको चुल्हो बाल्न किटानीका साथ केही बोल्दैन । उसले सबै समुदायलाई एकै देख्छ । चेपाङको सिमान्तीकरण उसरी नै चलिरहन्छ, सञ्चारमाध्यमहरूमा चेपाङको निरीहता छाइरहन्छ ।

राईले बहिस्करणमा परेका चेपाङ र उनीहरूको खाद्य सुरक्षा विषयमा विद्यावारिधि गरेका हुन् ।

-यो  सामाग्री इकान्तिपुरबाट साभार गरिएको हो ।