धादिङका ग्रामीण सडकमा यातायात बन्द

825 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी: रुट परमिट नभएका सवारीका साधनलाई जिल्लाका ग्रामीण क्षेत्र प्रवेशमा रोक लगाइएको छ । यससँगै सदरमुकामबाट ग्रामीण क्षेत्रको सवारी आवागमन ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले रुट परमिटबिना सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढेको भन्दै ग्रामीण क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
यात्रु बोक्ने सवारी साधनसहित मालवाहक ट्रकलाई पनि सञ्चालनमा रोक लगाएपछि सदरमुकामबाट ग्रामीण क्षेत्रमा खाद्यान्न, निर्माण सामग्रीलगायतका सामान लैजान समस्या भएको छ । धादिङलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेका तीनवटा यातायात व्यवासायी संघले सडक सञ्जालले छोएका सबैजसो गाउँ विकास समितिमा यातायात सेवा दिँदै आएका थिए ।
सदरमुकामसम्मको रुट परमिट भए पनि ग्रामीण क्षेत्रमा चलाउने परमिट नभएकाले बन्द गराइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । हाल धादिङबेसीबाट धादिङ यातायात र संयुक्त यातयातका सवारी साधन ग्रामीण क्षेत्रमा सञ्चालनमा छन् ।
इजाजतपत्र लिन जिल्ला प्रशासन कार्यालय धादिङबाट सिफारिस लिनुपर्ने र त्यसका लागि सरकारले तोकेको भाडादर कायम गर्नुपर्ने हुन्छ । सरकारले तोकेको पाँच रुपैयाँ २५ पैसा प्रतिकिलोमटिर लागू गरेपछि मात्र प्रशासनले रुट परमिटका लागि सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताए ।
उनले भने, ‘यात्रुकै सुरक्षालाई मध्यनजर राखेर रुट परमिटमा कडाइ गरिएको हो, सरकारी भाडादर समायोजन गरी यातायात व्यवस्था विभागबाट परमिट लिएपछि सबै सवारी साधन सञ्चालन हुन्छन् । हामीले रुट परमिट लिन चाहने यातायात व्यवसायीलाई सिफारिस पत्र दिइसकेका छौं ।’

अहिले धादिङबाट सञ्चालन भइरहेका कुनै पनि सवारीले निश्चित स्थान तोकर ग्रामीण क्षेत्रको रुट परमिट पाएका छैनन् । रुट परमिट भएकाको पनि धादिङ मात्रै उल्लेख गरिएकाले ग्रामीण क्षेत्रमा जान रोक लगाइएको हो । यातायात व्यवसायीका अनुसार पृथ्बी राजमार्ग र धादिङ-मलेखु सडकखण्डमा सवारी साधन सञ्चालन गर्ने सवारी साधानलाई इजाजतपत्र दिइए पनि ग्रामीण क्षेत्रमा जाने सडकमा यातायातका साधन सञ्चालनको अनुमति दिइएको छैन ।
यातायात व्यवसायीले यात्रुलाई सेवा दिएको भए पनि नियम कडा नबनाइँदा यसअघि ३० किलोमिटर दूरीको पाँच सय रुपैयाँसम्म भाडा लिने गरेका थिए । गत असोज ११ गते धादिङको मार्पाकमा बस दुर्घटना भएपछि ग्रामीण रुटमा चल्ने सवारी साधनको परमिटमा कडाइ गरिएको हो । मालबाहक र यात्रुबाहक सवारीका साधन नचलेपछि ग्रामीण इकालाबाट सदरमुकाम आउन सर्वसाधरणलाई सास्ती भएको छ ।
मार्पाक गाउँ विकास समितिका स्थानीय एवं नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका पूर्वअध्यक्ष केशरी पन्तले भने, ‘अहिले प्रशासनले देखाएको सक्रियता प्रशंसायोग्य छ, केही दिन सर्वसाधरणलाई गाह्रो त पक्कै पर्छ, म आफैं पनि मार्पाकबाट धादिङबेसी ८ घन्टा लगाएर हिँडेर आएँ, अहिले देखाइएको सक्रियताले भाडादर पनि समायोजन हुन्छ र परमिट लिएका सवारी मात्र सञ्चालनमा आउँछन् भन्ने लागेको छ ।’
रुट परमिट नभएका कारण मालबाहक सवारीका साधन पनि सदरमुकाममै रोकिएका छन् । मालबाहक सवारीका साधनले पनि ग्रामीण क्षेत्रबाट यात्रु ओसार्ने गरेको भेटिएपछि मालबाहक सवारीका साधानलाइ पनि परमिटमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिलले जानकारी दिएको छ । जिल्लाभर धादिङ, ग्रामीण र संयुक्त यातायातका गरी दुई सयभन्दा बढी सवारी साधन सञ्चालनमा छन् त्यसमध्ये ५० भन्दा बढी ग्रामीण क्षेत्रमा चल्ने गरेको ग्रामीण यातायातका अध्यक्ष चक्रबहादुर भण्डारीले बताए ।

-अन्नपूर्णपोष्ट अनलाइनबाट