घुम्नैपर्ने संसारका देशमध्ये नेपाल पाँचौंमा

513 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विश्व चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । मंगलबार सार्वजनिक भएको सूचीमा नेपाल पाँचौं स्थानमा परेको हो । दक्षिण एसियाबाट सूचीमा पर्ने एक मात्र देश नेपाल हो । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षको अन्त्यतिर आउँदो वर्ष घुम्न योग्य विश्वका उत्कृष्ट देश तथा स्थानको सूची सार्वजनिक गर्छ । यो सूचीको पहिलो स्थानमा क्यानडा, दोस्रामा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका छन् । यस्तै बर्मुडा छैटौं स्थानमा, मंगोलिया सातौं, ओमान आठौं, म्यानमार नवौं र इथियोपिया १० औं स्थानमा छन् ।

छनौट प्रक्रिया

लोन्ली प्लानेटले हरेक वर्ष सार्वजनिक गर्ने यो सूची विशेष प्रक्रिया मार्फत गर्ने गरेको छ । यसका लागि भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानिने गरेको छ । यस्तै लोन्ली प्लानेटका कर्मचारीले संकलन गरेको तथ्यांकलाई पनि आधार मानिने गरेको छ । भौगोलिक सुन्दरता, भ्रमणपछिको पर्यटकको प्रतिक्रियालाई छनौटको आधार मानिने लोन्ली प्लानेटले जनाएको छ ।

नेपाल किन घुम्ने ?
गएको वर्षको वैशाख १२ मा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले क्षति गरेपनि नेपालमा घुम्न लायक धेरै ठाउँ रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । यात्रुका लागि भूकम्पपछि नेपालले के गुमायो र अझै बाँकी के के छन् ? भन्ने कुरा निकै महत्वपूर्ण हुने उल्लेख गरिएको छ ।

यस्तै साँस्कृतिक महत्वका केही सम्पदा भत्किए पनि तिनका बारेमा बुझ्न र त्यहाँ हेर्न लायक धेरै कुरा रहेको लोन्ली प्लानेटले जनाएको छ । यस्तै विश्वकै उत्कृष्ट पदमार्गहरु नेपालमा रहेकाले यो घुम्नै पर्ने देश रहेको उल्लेख गरिएको छ ।

नेपालका विभिन्न गाउँ तथा त्यहाँको सँस्कृतिको अवलोकन गरी राष्ट्र निर्माणमा सहयोग गर्ने माध्यम बन्नका लागि लोन्ली प्लानेटले विश्वभरका पर्यटकसँग अपिल पनि गरेको छ ।

कम खर्चमा घुम्न चाहनेका लागि पहिलो गन्तव्य

लोन्ली प्लानेटले घुम्न चाहने, तर बजेट कम भएका यात्रुका लागि विश्वका १० उत्कृष्ट गन्तव्य राष्ट्रको सूची पनि सार्वजनिक गरेको छ । त्यसमा नेपाल पहिलो स्थानमा छ । नेपालमा कम खर्चमा पनि घुम्न सकिने छ ।

भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण नेपालको जनजीविकामा निकै असर परेको भएपनि कम खर्चमा घुम्न चाहने यात्रुका लागि नेपाल पहिलो रोजाइ बन्न सक्ने लोन्ली प्लानेटले उल्लेख गरेको छ । यात्रुले कम बजेटमै विश्वका उत्कृष्ट मध्येका पदमार्ग, वन्यजन्तु तथा उत्कृष्ट सँस्कृतिको अवलोकन गर्न पाउने उल्लेख छ । त्यसका लागि दिनको ५० अमेरिकी डलर भए पुग्छ ।

यो सूचीमा दोस्रो स्थानमा नामिबिया, तेस्रो स्थानमा पोर्चुगलको पोर्टो, चौथो स्थानमा इटालीको भेनिस, पाँचौंमा हंगेरीको डेब्रिसेन, छैटौंमा बेलिजी, सातौंमा मोरक्को, अठौंमा रुस, नवौंमा अस्ट्रेलियाका बेलारिनी र दशौं स्थानमा अमेरिकाको मिसिगनको माथिल्लो क्षेत्र रहेका छन् ।

-उज्यालो अनलाइनबाट