कानफट्टा जोगीलाई दान गर्न शहरवासीको लर्को

2298 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

29102016041549feriwala-baba_dhading_harihar-18-1000x0कार्तिक १३, २०७३- धादिङ सदरमुकाममा यतिखेर नौ ग्रह शान्त गर्नेहरुको लर्को लागेको छ । घर-घरबाट महिलाहरु नाङ्लोमा दियो बालेर ९ थरिका नयाँ अन्न, तरकारी, फलफूल, बस्त्र, भेटी, दालचामल लगायतका वस्तुहरु लिएर ‘फेरीबाबा’ लाई दान दिन तँछाड मछाड गरेर जानेको लर्को लागेको छ । कात्तिक र चैत महिनामा घर-घर मध्यरातमा शंख फुकेर फेरी लाउने कानफट्टा जोगीलाई दान दिएर आशिर्वाद नलिएसम्म खान फेरि लगाइएको घरको मूली खाँदैनन् ।

कात्तिक र चैतमा दसनामी समुदायका कानचिरा बाबाहरुले धादिङका हरेक बस्तीमा मध्यरात घुमेर शंख बजाई बस्तीमा संकट नआओस्, महामारी, कुनै अनिष्ट, दैवी प्रकोप विपत्ती नपरोस भनेर पुरै वस्तीलाई मन्त्रले बाँध्ने प्रचलन छ ।

मध्यरातमा शंख फुकेर घुम्ने जोगीसँग कोही पनि बोल्न नमिल्ने स्थानीय बताउँछन् । राति फेरी लगाए पछि बिहानपख एकै गाउँवस्तीबीच, चौतारामा बसेका बाबालाई पुरै स्थानीय ९ थरिका अन्न, फलफुल,  र दक्षिणा दिएर टीका लगाई आशिर्वाद लिने चलन छ ।

सदरमुकाम लगायतका स्थानीयवासीहरुले फेरी लाउनेलाई ‘गुरु गोरखनाथले पठाएका चेला ’ का रुपमा लिएर आशिर्वाद लिन्छन्,’ धादिङबेंसीबीचबजारका स्थानीय वृद्ध बाबुकाजी सिलवाल बताउँछन् ।

नलाङ गाविसमा दशनामी समुदायको वस्ती छ । वस्तीका युवाले विशेष कर्म पुरा गरि गोरखा गएर दिक्षा लिई कान चिरेर आए मात्रै वस्तीमा फेरी लाउन पाउँछन् । दशनामीहरुले फेरी लाउने आ आफ्नो क्षेत्र छुट्ट्याएका हुन्छन् । यो क्षेत्र भुगोल र राजनैतिक विभाजनले असर गर्दैन । आफ्नो क्षेत्रमा अर्को फेरीवाला गएपछि कहिलेकहिँ आपसमा कुटाकुट समेत गर्छन् ।

फेरी लाउने चलन उत्तरका ६ गाविस बाहेक जिल्लाका ४० गाविसमै प्रचलन छ । तिहारको अवधी र चैते दशैं अगावै फेरी लगाएर जोगीहरुले अन्नपात बटुल्छन् । वर्षका आधा महिना फेरी लगाएकै अन्नपातले खान पुग्ने ढोलाका एक कानफट्टा जोगीले भने इकान्तिपुरमा खबर छ ।