चितवनमा डेंगुको महामारी, ८ सय २ घर डेंगु पोजेटिभ-छिमेकी जिल्लामा पनि उत्तिकै त्रास

770 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-पछिल्लो समय निकै ठुलो समस्याको रुपमा देखापरेको डेंगु रोग धादिङ जिल्लाको छिमेकी जिल्ला चितवनमा महामारीको रुपमा देखिएपछि छिमेकका जिल्लामा पनि यस्को संक्रमण सर्न सक्ने तर्फ स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन । चितवन जिल्लाको छिमेकमा धादिङ, मकवानपुर,पर्सा, नवलपरासी,तनहुं र गोरखा जिल्ला पर्दछन ।  चितवनको भरतपुर र रत्ननगरको बजार क्षेत्रमा ८ सय२ घर डेंगु पोजेटिभ पाइएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चलाएको डेंगु रोग लगाउने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने अभियानका क्रममा यस्तो पाइएको हो। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २० हजार २६७ वटा घरमा गरिएको अनुगमनमा ८०२ घरको एक हजार २५२ कन्टेनर र भाँडामा डेंगु सार्ने लामखुट्टेका लार्भा भेटियो।

गएको असोज १६ गतेदेखि १८ गतेसम्म यहाँ गरिएको अनुगमन प्रतिवेदनबारे जानकारी दिँदै उनले रत्ननगर र भरतपुरका बजार क्षेत्रमा डेंगु सार्ने लामखुट्टे रहेकाो बताए। केसीले यस्ता लामखुट्टेबाट बच्न सर्वसाधारणलाई अपिल गरे।

खोजी अभियान तथा स्थलगत अनुगमनमा स्वास्थ्यकर्मीसहित १५० जना स्वयंसेवक परिचालन गरिएको थियो। फेला परेका लामखुट्टेका लार्भा नष्ट भएको कार्यालयले जनाएको छ। चितवनको भरतपुर उपमहानगर क्षेत्रमा १६ हजार ४८५ घरमा गरिएको अनुगमनमा ५४९ घर तथा रत्ननगरका तीन हजार ७८२ घरमा गरिएको परीक्षणमा २५३ घर डेङ्गु पोजेटिभ फेला परेको निरीक्षक केसीले जानकारी दिए।

एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ। यो लामखुट्टेले भाँडामा जमेको सफा पानीमा लार्भा हुर्काउँछ।

लामखुट्टेको टोकाइबाट बच्ने र भाँडामा एक हप्तासम्म पानी जन्म नदिए यो रोग लाग्नबाट बच्न सकिने चिकित्सक डा विजय पौडेलले बताए। चितवनमा भदौदेखि अहिलेसम्म ४५० भन्दा बढीमा डेंगु रोग देेखिएको छ। देशको ७६ औं जिल्लाको उपमा पाएको चितवनमा डेँगु महामारीको रुपमा देखा पर्नु भनेको यो रोग देशका अन्य जिल्लामा पनि सर्न सक्ने, यहाँ विरामी भएकाहरु अर्को ठाउंमा सजिलै संग पुग्क्ष्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।