एम्बुलेन्स किन्न धादिङे पञ्चेबाजा देउसीरेमा घन्कियो, पोखरामै उठ्यो नौ लाख

753 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 dhading-pokhara-660x330पोखरा, – तिहारमा खेल्ने देउसी/भैलो हो । आहै रातो माटो, चिप्लो बाटो, लड्दै पढ्दै भट्टाएर खेलिने देउसी भैलो त शहरतिर लोप भयो भन्दा पनि फरक नपर्ला । संस्कृतिको संरक्षण भन्दै युवा पुस्ता हिन्दी र अंग्रेजी गीतमा देउसीभैलोको नाममा कम्मर मर्काउने गरेको देख्दै आएका हौं । यस वर्ष पोखराका मुख्य बजार क्षेत्रमा तीन दिनसम्म बिहानैदेखि राति १० बजेसम्मै पञ्चेबाजा घन्कियो । कार्तिक महिनामा पञ्चेबाजा घन्किँदा सबै आश्चर्य चकित भए । तर, देउसीभैलोमा धादिङबाट ल्याएको समूहले सो पञ्चेबाजा घन्काएका थिए ।

देउसी भेलोमा विशेषगरी मादल, झ्याली, खैजडी र पछिल्लो पुस्ताले म्युजिक डेक बजाउने गरिएपनि धादिङे समूहको देउसीभैलो पञ्चेबाजामय थियो । पुरुष र महिलाबीचको जुहारीले पोखरेलीको ध्यान खिच्नुका साथै मन समेत जित्न सफल भयो । कारण, पोखरामा रहेका धादिङवासीहरुको छाता संस्था धादिङ–पोखरा सम्पर्क समाजले एम्वुलेन्स संचालन गर्न यसरी देउसी खेलेको थियो ।

तिहारलाई विभिन्न संघ–संस्थाले संस्था संचालनका लागि अर्थोपार्जन गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा पनि लिन्छन्। देउसी, भैलो एवं विभिन्न ढङ्गले आर्थिक सहयोग संकलन हुन्छन् । कतिपय संघ–संस्थाले रचनात्मक काम काम गरेका छन् भने कतिपयले पिकनिक एवं अन्य मनोरञ्जनात्मक क्रियालापमा खर्च गरेको पाइन्छ। यस वर्षको तिहारलाइ समाजले एम्बुलेन्सका लागि अर्थोपार्जन गर्ने महत्वपूर्ण अवसरका रुपमा लियो। कार्यक्रम अन्यको तुलनामा निकै पृथक र रोचक रह्यो । समाजले देउसीभैलोमा पञ्चेबाजा प्रयोग गरेर लोप हुँदै गएको पञ्चे÷नौमति बाजा संरक्षण र देउसीभैलो मार्फत एम्बुलेन्स सञ्चालन गर्ने जस्तो सामाजिक काममा अग्रसर बन्दा वाहवाहीको पात्र बन्यो ।

पोखरेलीको ध्यानाकर्षण गर्ने अर्को पक्ष भनेको पञ्चेबाजा बजाउनेहरु थिए । १२-१५ वर्षका बालकहरु, उनीहरु सबै बाहुन थरका, धादिङ खाल्टेका । यी बालकहरुको प्रतिभाले सबै लठ्ठ बने । समाजले यस कार्यक्रमबाट ९ लाख भन्दा बढी रुपैयाँ संकलन गर्न सफल भएको छ। कार्यक्रममा समाजका अध्यक्ष युवराज खतिवडा र निवर्तमान कार्यसमिति सदस्य गुञ्जमान तामाङले जनही १ लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका थिए। नवगठित कार्यसमितिमा सबै युवाहरु छन् ।

विगत बिर्साउँदै धादिङेहरुको हितका सवालमा रचनात्मक कार्य गर्दै अघि बढ्ने यो कार्यसमितिको अठोट रहेको सुनाउँछन् अध्यक्ष खतिवडा । समाजका यो टीमलाई अवसर भन्दा चुनौती बढी महसूस गरिएपनि देउसीभैलो कार्यक्रमले नयाँ टीमलाई हौसला बढाइएको छ। एक दिनको तयारीले कार्यक्रम सफल भएको दावी गर्छन् समाजका महासचिव एवं पत्रकार हरि पन्त। देउसी भैलोमा पञ्चेबाजा÷नौमति बाजाको प्रयोग नगरिने भएपनि एम्बुलेन्स खरिदका लागि भएकाले सबैको ध्यान तान्न र म्युजिक डेक बजाउनुभन्दा यो धेरै उपयुक्त हुने सुझाव धेरैको आयो । पन्तले भने–‘सुरुमा देउसीभैलामा पञ्चेवाजा समावेश गरेकोमा समाजकै केही व्यक्तिले विरोध गरेका थिए तर कार्यक्रमले सफलता पाउँदै र सबैको ध्यान केन्द्रित गर्दै जान थालेपछि तिनै व्यक्ति कार्यक्रममा सहभागी भएर नाच्नुका साथै आर्थिक सहयोग समेत गरेका थिए।’

छोटो समयको तयारीले पनि देउसीभैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छिट्टै समाजले एम्वुलेन्स संचालन गर्ने उनले बताए । एम्बुलेन्स समाजले नै सञ्चालन गर्नेछ । पोखरामा रहेर बसेका धादिङबासीका साथै आवश्यक परेका सबैले एम्बुलेन्स सेवा उपयोग गर्न पाउने र आर्थिक अवस्था कमजोर रहेकोलाई निःशुल्क सेवा समेत प्रदान गरिने समाजले जनाएको छ । धेरैले महान कार्य भनेका र तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरी अघि बढेको छ ।

समाजले आयोजना गरेको देउसीभैलो कार्यक्रमले महत्वपूर्ण आर्थिक सङ्कलनका साथै लोक संस्कृति जगेर्नामा महत्वपूर्ण टेवा पुगेको समाजका अध्यक्ष युवराज खतिवडा दावी गर्दछन् । ‘खाल्टे जस्तो एक विकट गाउँका बालकहरुले थालेको पञ्चेबाजा संरक्षण अभियान निकै चर्चामा छ, त्यो पञ्चेबाजाले पोखरेलीको पनि मन जित्न सफल भएको छ’, खतिवडा भन्छन्–‘देउसीभैलो कार्यक्रम गरिब, दिनदुखी र असाह्यका लागि एम्वुलेन्स महत्वपूर्ण हो, यसका लोक, संस्कृति र मौलिक परम्परा संरक्षणमा महत्वपूर्ण टेवा पुगेको छ।’ समाजका हालै निर्वाचित नेतृत्वप्रति धेरैको आशा र भरोषा रहेकाले यो टीमले धादिङ पोखरा पत्रकार समाजसँग हरेक कार्यक्रममा सहकार्य गर्दै रचनात्मक कार्य गरी अघि बढ्ने बताए ।

समाजका सबै पदाधिकारी एवं सदस्यहरुको महत्वपूर्ण सहयोगले देउसीभैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कार्यक्रम संयोजक एवं कार्यसमिति सदस्य माधव लम्सालले बताए। ‘समाजको यो टीम केही नयाँ र रचनात्मक काम गर्ने जोसका साथ अघि बढेको छ । देउसीभैलो कार्यक्रम टीमको नयाँ र पहिलो कार्यक्रम हो। कार्यक्रमले थप उर्जा प्रदान गरेको छ, यसले अन्य काम पनि सहजतापूर्णक गर्न सकिन्छ भन्ने विश्वास बढेको छ’–लम्सालले भने।

२०५५ सालमा स्थापित समाजले रक्तदान, जिल्लामा छात्रवृत्ति वितरण, पोखरामा रहेका धादिङवासीको समस्या समाधान लगायतका रचनात्मक काममा सक्रिय हुँदै आएकोमा अब एम्वुलेन्स संचालन गरेर थप रचनात्मक सामाजिक कार्यको थालनी हुनेछ। पूर्व अध्यक्ष कृष्ण कुमार श्रेष्ठ भन्छन्–‘यसअघि समाजले पुरानो कार्यलाई निरन्तरता दिन पनि धौ–धौ थियो, यसपटक नयाँ टीमले देउसीभैलो कार्यक्रम गरेर एम्वुलेन्सनै संचालन गर्ने जमर्को गरेपछि हामीहरु सबै तवरले सहयोग गर्न तत्पर छौं, यो युवा टीमप्रति सबैको भरोषा पनि छ।’

सल्लाहकार गोकर्ण लम्सालले काम गर्ने दौरानमा कोही कसैको चित्त नबुझेमा सबैलाई चित्त बुझ्ने गरि काम गरेर नयाँ टीमले देखाउनुपर्नेमा जोड दिए। उनले भने–‘सामाजिक संस्थामा बसेर कसैको चित्त दुखाउन हुँदैन, यहि कसैको चित्त दुखेमा मिलाएर अघि बढ्न नेतृत्व अग्रसर हुनुपर्छ।’

पोखराका अन्य समाजहरु भन्दा बढी क्रियाशील संस्था हो धादिङ पोखरा सम्पकै समाजकै अगुवाइमा अन्तरसमाज महासंघ राष्ट्रिय समिति गठन भएको थियो। समितिमा ५० बढी जिल्लाका समितिहरु आवद्ध भइसकेका छन्। धादिङ समाजमा ७ वटा उप–इकाइ समितिहरु समेत क्रियाशील छ। समाजमा हाल करिब ७०० आजीवन तथा एक हजार बढी साधारण सदस्य आवद्ध छन्।