नुवाकोटमा दुई नगरपालिका र १० गाउँपालिका कायम हुने

695 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट- स्थानीय निकायको पुनः संरचनामा नुवाकोटमा १२ वटा मात्र स्थानीय निकाय हुने भएको छ । एक नगरपालिका र ६१ गाविस रहेको नुवाकोटमा पुनः संरचनापछि दुई नगरपालिका र १० गाउँपालिका कायम हुने भएको हो ।

जिल्लास्तरीय प्राविधिक समितिले आज दुई नगरपालिकासहित १० गाउँपालिकाको प्रस्ताव दलबाट पारित गराई पुनः संरचना केन्द्रीय आयोगमा पठाएको हो । जिल्लाका राजनीतिक दलबीच तीव्र विवादबीच पुनः संरचनामा केही असहमति राख्दै प्रस्तावमा सबै दलले हस्ताक्षर गरेका हुन् ।

विशेषगरी विदुर नगरपालिकासँग सीमा जोडिएका सबै गाविसले विदुरमै गाविसलाई गाभ्न माग गरे पनि तुप्चे, गेर्खु, कल्याणपुर, चारघरे र खड्गभन्ज्याङका केही वडा मात्र थप गरिएको छ । साबिकमा ११ वडा रहेको विदुर नगरपालिकामा अब १३ वटा वडा बन्नेछ ।

यस्तै साबिकको इलाका नंं ४ अन्तर्गतका बेलकोट, जिलिङ, कुमरी, दुईपिपल, रातमाटे र मदानपुरका केही वडालाई थप गरेर बेलकोटगढी नगरपालिका प्रस्ताव गरिएको छ । जिलिङको बाघखोरमा केन्द्र प्रस्ताव गरिएको बेलकोट गढी नगरपालिकामा पनि १३ वटा वडा रहेका छन् । १० वटा गाउँपालिकामा दुप्चेश्वर गाउँपालिकाको केन्द्र समुन्द्रटार कायम गरिएको छ ।

यस्तै पञ्चकन्या गाउँपालिकाको केन्द्र मोठभन्ज्याङ रहेको छ । यस्तै सूर्यगढी गाउँपालिकाको केन्द्र चोकदे कायम गरिएको छ । ककनी गाउँपालिकाको केन्द्र रानीपौवामा कायम गरिएको छ । लिखु गाउँपालिकाको केन्द्र सूर्यमती १ मा, शिवपुरी गाउँपालिकाको केन्द्र सेराबगर, तारकेश्वर गाउँपालिकाको केन्द्र दाङसिं, मेघाङ गाउँपालिकाको केन्द्र दुडीमैदान, किस्पाङ गाउँपालिकाको केन्द्र किस्तापमा प्रस्ताव गरिएको छ ।

स्थानीय निकाय पुनः संरचना जिल्ला प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले प्रस्तावमा सकेसम्म नुवाकोटका सबै राजनीतिक दलको मतलाई र स्थानीयवासीबाट आएको जनमतलाई समेत ध्यान पु¥याएर पुनः संरचनाको प्रस्ताव तयार पारिएको बताए ।

प्रस्तावित स्थानीय निकाय तीनवटै निर्वाचन क्षेत्रमा चारवटाका दरले रहेका छन् । प्रस्तावमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा (नेपाल), राप्रपा, नयाँशक्ति नेपाल लगायतका दलले समर्थन गर्दै हस्ताक्षर गरेका छन् । रासस