नेपाल सोलिडारिटी कपको फाइनलमा

780 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • सेमिफाईनलमा नेपाल द्धारा लाओस पराजित 
    कुशल अधिकारी
    कात्तिक–२७
    नेपालका गोलरक्षक किरण चेम्जोङको शानदार प्रदर्शनका कारण नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत सेमिफाइनल खेलमा लाओसलाई टाइब्रेकरमा ३–० गोलले पराजित गरेको छ । मलेसियाको कोचिङस्थित सरावक रंगशालामा शनिबार निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुगेको थियो । नेपालका लागी गोलकिपर किरणले लाओसका डिफेन्डर बोउनलिन बोनपाचाक र स्ट्राइकर सिटहिडेथ खान्थाभोङको पेनाल्टीलाई रछेके र बिमल घर्ति मगर र अनन्त तामाङ ले १–१ गोल गरेपछि नेपालले रोमाञ्चक जित हात पारेको हो ।
    निर्धारित समयको खेलमा पनि लाओसको २–३ वटा उत्कृष्ट प्रहारलाई नेपालtimthumbका गोलकिपर किरणले जोगाएका थिए । नेपालले यो वर्ष खेलेको अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो फाइनल प्रवेश हो । नेपालले यसअघि बंगलादेशमा सम्पन्न बगबन्धु कप र भारतको सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा नेपाल उपाधि बिजेता बनेको थियो। एसियाली राष्ट्रका कमजोर आँकिएका टोलीहरूको आउँदो दुई वर्षमा कुनै गतिलो प्रतियोगिता नहुने हुँदा यस्ता राष्ट्रलाई प्रतियोगिताको अनुभव दिलाउन एसियाली फुटबल महासंघ एएफसी ले सोलिडारिटी कपको आयोजना गरेको हो ।
    पछिल्लो समय ‘म्याच फिक्सिङ’ र भ्रष्टाचारको काण्डका कारण अखिल नेपाल फुटबल संघ एन्फा का निर्वतमान अध्यक्ष गणेश थापालाई फिफाले १० वर्ष प्रतिबन्ध लगाएको माहौलबीच अन्तर्राष्ट्रिय रुपमा नेपाली फुटबलको छवि राम्रो थिएन । तर, शनिबार नेपाली खेलाडीहरूले आफूमा प्रतिभाको कमी नभएको प्रमाणित गरे ।
    जापानीमुलका प्रशिक्षक क्योटोको कोजुको प्रशिक्षणमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको नेपालका लागि लाओसविरूद्धको सेमिफाइनल खेल धेरै अर्थमा महत्वपूर्ण मानिएको थियो । नेपाललाई शनिबार मौसमले साथ दियो ।
    शुक्रबारसम्म वर्षाले प्रभावित कोचिङमा नेपालभन्दा केही ‘फिजिकल’ खेल खेल्न मन पराउने लाओसविरूद्धको खेलमा दिउँसो राम्रो घाम देखियो । डिफेन्डरहरूको खराब ‘मार्किङ’का कारण नेपालले पहिलो गोल खान पुग्यो। खेलको १८ मिनेटमा डिबक्समा पाएको खुला पासमा लाओसका स्ट्राइकर झिसोङखम चाम्पाथोङले शानदार हेडिङबाट गोल गरे ।
    डिफेन्डर खाम्फोउमी हानेभिलेले नेपाली डिबक्समा थ्रो गरेको बललाई कप्तान साङभोने फिमासेनले दायाँ खुट्टाले चाम्पाथोङलाई उपलब्ध गराएका थिए । नेपाली कप्तान विराज महर्जनले चाम्पाथोङलाई राम्रोसँग छेक्न नसक्दा उनले नेपालको गोल पोस्टमा सहज गोल गरे । चाम्पाथोङले अतिरिक्त समयमा पराजय उन्मुख रहेको लाओसलाई पुनः खेलमा फर्काएका थिए । उनले नेपालविरूद्ध दुई गोल गरे ।
    पहिलो हाफ ०–१ मा टुङ्गिएपछि पछाडि परेको नेपालका लागि विमल घर्र्तीमगर पुनः सकंटमोचन बनेर निस्किए । उनले दोस्रो हाफको खेल सुरु भएको २ मिनेट भित्रै गोल फर्काएपछि नेपाल खेलमा फर्किएको थियो। अर्का स्ट्राइकर भरत खवासले कर्नर नजिकैबाट डिबक्सभित्र क्रस गरेको बललाई विमलले ४७ मिनेटमा गोलमा परिणत गरे।
    पहिलो हाफमा विमल त्यति प्रभावशाली नदेखिएपछि उनलाई दोस्रो हाफमा अगाडि आक्रमण बुन्न प्रयोग गरिएको थियो। जुन सफल पनि भयो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुँगिएपछि अतिरिक्त ३० मिनेट खेल थप गरिएको थियो । जसमा पहिलो हाफको १५ मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा डिफेन्डर अनन्त तामाङले गोल गर्दे नेपाललाई २–१ को अग्रता दिलाएका थिए ।
    उनले खेलको १ सय ४ मिनेटमा हेमन गुरुङको लामो क्रसमा डिबक्स भित्र ‘अनमार्क’ रहेको अवस्थाको फाइदा उठाउदै हेडिङ गोल गरे । तर, त्यो गोलले नेपाललाई लामो समय खेलमा टिकाउन सकेन्। चाम्पाथोङले १ सय १७ मिनेटमा फेरि नेपाली डिफेन्सको कमजोरी चिर्दै गोलमा परिणत गरे। टाइब्रेकरमा नेपालका लागि अघिल्लो तीन वटा गोल हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गरे ।
    तर लाओसको अघिल्लो दुई पेनाल्टी किरणले जोगाएपछि तेस्रो पेनाल्टी हान्न आएका मिडफिल्डर चन्थाफोने वेनभोङसुथले बल पोलभन्दा बाहिर प्रहार गरेका थिए । नेपालका लागि उत्कृष्ट पेनाल्टी सुजल श्रेष्ठले प्रहार गरे । बायाँ खुट्टाले उत्कृष्ट पेनाल्टी प्रहार गरेका सुजलको प्रहारमा लाओसका गोलरक्षक भियाङ अखुमले ‘डच’ खाएका थिए । नेपालका गोल मेसिनको रुपमा चिनिने नवयुग श्रेष्ठ अतिरिक्त समयको १ सय ३ मिनेटमा गोल गर्ने अवसरबाट चुकेका थिए ।
    उनले लाओसका तीन डिफेन्डरलाई आफ्नो ‘स्पिड’ ले झुक्याउदै डिबक्स भित्र प्रवेश गराएको बललाई पोस्टको दिशा दिन सकेनन् त्यतिबेला लाओसका गोलकिपर पनि बाहिर थिए । यतिबेला आफ्नो हात समात्न खोजेको भन्दै उनी लाओसका डिफेन्डर थेन्थोङ फोनसेथासँग आक्रोसित भएका थिए। तर, सिङ्गापुरका रेफ्रीले सम्भावित तनावको स्थितिलाई सुरूमै मत्थर बनाए। नेपालले फाइनल खेल मकाउ र बु्रनईबीचको दोस्रो सेमिफाइनल विजेता टिमसँग मंगलबार खेल्ने छ।