सांसदको तलब बढ्यो, अब पाउनेछन् महिनाको ७९ हजार

1934 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैठक भत्ता पाँच गुणा वृद्धि

 काठमाडौं : मंसिर ५, २०७३-सांसदहरुको सेवा सुविधा  बृद्धि भएको छ। आइतबारको संसद बैठकले सेवा सुविधा बढाउने विधेयक संशोधन सहित पारित गरेपछि सांसद, संघीय संसदका सभामुख, उपसभामुख, प्रतिनिधसभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक बढेको हो।

तलब सुविधा बृद्धि भएसँगै सांसदहरुले प्रति महिना ७९ हजार २ सय ३० रुपैयाँ पाउनेछन्। यसमा तलबबापत ५५ हजार २ सय ३० रुपैयाँ, घरभाडा १८ हजार रुपैयाँ, सञ्चार खर्चबापत ३ हजार रुपैयाँ र पानी र बिजुली बापत २ हजार रुपैयाँ पाउनेछन्।

यसअघि सांसहरुले पारिश्रमिक बापत ४४ हजार १ सय ८० रुपैयाँ घरभाडा बापत ६५ सय रुपैयाँ, सञ्चार खर्च २३ सय रुपैयाँ, पानी र बिजुली खर्चबापत १२ सय ४८ रुपैयाँ बुँझ्दै आएका थिए।

बैठक भत्ता ५ गुणाले वृद्दि 

संशोधन सहित विधेयक पास भएसँगै सांसदहरुको  बैठक भत्ता ५ गुणाले बढेको छ। उनीहरुले संसद तथा संसदीय समितिको बैठकमा सहभागी भएबापत १ हजार रुपैयाँ भत्ता पाउने छन्। यसअघि उनीहरुले बैठकमा सहभागी भएबापत २ सय रुपैयाँ पाउँदै आएका थिए। यस्तै घरभाडा बापत वृद्धि भएको रकम साउन महिना देखिनै पाउनेछन्।

१० भन्दा बढी सांसद भए प्रमुख सचेतकलाई गाडी

यस्तै १० जना भन्दा बढी सांसद भएका दलका प्रमुख सचेतकले अबदेखि सवारीसाधन पाउने भएका छन्। विधेयक माथिको छलफलमा भाग लिदै कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सुविधा बढी भएको भाषण गर्ने सांसदलाई फिर्ता गर्न चुनौती दिएका छन्। ‘५२ साल देखि सुविधा बढेको थिएन,९८ प्रतिशत सांसदलाई सेवा सुविधा पुगेको थिएन,श्रेष्ठले भने,’ बढी हुने सांसदले रकम फिर्ता गरे हुन्छ।’

अन्य सुविधा के के छन्:

      • बैठक भत्ता प्रति दिन १ हजार रुपैयाँ
      • फर्निचर खर्च वार्षिक १५ हजार रुपैयाँ
      • दैनिक भत्ता २५ सय रुपैयाँ
      • यात्रा बिमा १० लाख रुपैयाँ

विधेयकमा संशोधन पेश गर्दै सांसदहरुले पेन्सन सुविधा, भन्सार छुटमा सवारी साधन, बीमा लगायतका सुविधा माग गरेका थिए। राष्ट्रिय जनमुक्ति लोकतान्त्रिककी सांसद सीमाकुमारी बिकले सांसदहरुलाई पेन्सन र दशैं पेश्कीको माग गरेकी थिइन्।

यस्तै मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका सांसद सुवोध कुमार पोखरेलले सांसदहरुको बीमाको प्रस्ताव गरेका थिए भने समाजवादी जनता पार्टीका सांसद प्रेम सुवालले  संशोधन मार्फत भन्सार छुटमा सवारी साधनको माग गरेका थिए। ती संशोधन अस्वीकृत भएको छ यो समाचार धादिङ न्यूजका लागि थाहा खबर डट कमबाट लिईएको हो ।