पञ्चायती समयको झल्को दिने लघुवित्त बैंकहरु

718 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोसकान्त पोखरेल,

-लघुवित्त बैंक नेपालको सन्दर्भमा भन्नुपर्दा विपन्न, गरिब, पिछडावर्ग महिला, अपाङ्ग जनजातिलगायतका समुदायहरुमा कर्जा प्रवाहको लागि स्थापना भएका संस्थाहरु हुन् । यी संस्थाहरुले विशेष गरेर त्यो समुदायका महिलाहरुलाई कर्जा प्रवाह गर्ने गरेको पाइन्छ । सामूहिक जवानीको आधारमा कर्जा प्रवाह गर्ने यस्ता संस्थाहरुलाई कर्जा प्रवाहमा जोखिम त छ तर अहिलेसम्म नउठेको कर्जा भनेर खासै सुन्नमा आएको छैन । किनकि त्यस्तो नउठेको कर्जा नभएर हो अथवा भएर पनि नसुनिएको हुनसक्छ । तर सम्बन्धित संस्थाका सरोकारवालाहरुले के पनि भन्दछन् कि समूहको जालोभित्र राखिएको हुँदा एउटाले ऋण नतिरे अर्कोले तिर्नुपर्ने बाध्यात्मक स्थितिको सृजना गरी कर्जा प्रवाह गर्दा इज्जतको डरले पनि कर्जा दुई÷चार महिना ढिलै भए पनि उठ्ने गर्दछ ।
यसरी प्रवाह गरिएको कर्जा तथा सामूहिक तमसुकले गर्दा ढिलो चाँडो कर्जा त उठ्छन्, भलै एकआद नउठ्ला । एकाधको समस्या त राष्ट्रिय र क्षेत्रीयस्तरका क, ख र ग वर्गका अन्य वित्तीय संस्थाहरुमा पनि हुन्छ । त्यसैले गर्दा पनि जोखिम त हो नै तर शतप्रतिशत जोखिम पनि होइन लघुवित्तले प्रवाह गरेको कर्जा । किनकि नउठेको कर्जा अतिन्यून भएको हुँदा यसलाई पूर्ण जोखिमको रुपमा लिनचाहिँ सुहाउँदैन ।
विपन्न वर्ग तिनै हुन्, जसको अति न्यून आय हुन्छ । तिनै व्यक्तिहरु तथा महिलाहरुले लघुवित्त संस्थाहरुबाट कर्जा लिएका हुन्छन् । क, ख र ग वर्गका वित्तीय संस्थाहरुबाट कर्जा लिनेभन्दा घ वर्गका वित्तीय संस्थाबाट कर्जा लिनेको अवस्था कमजोर हुन्छ । उनीहरुसँग धितो राख्ने जग्गा जमिन पनि हुँदैन । त्यसैमा पनि कोही त बिहान खाएपछि साँझको खानाको लागि टोलाउनुपर्ने अवस्था हुने हुँदा तिनै व्यक्तिहरु ऋण लिन लघुवित्त संस्थाहरु धाउँछन् र त्यही कर्जाबाट घर व्यवहार चलाउँछन् ।
लघुवित्त संस्थाहरुबाट ऋण लिएर एक÷दुई लाखको व्यवसाय गर्न मिल्ने अवस्था पनि हुँदैन । किनकि उनीहरुले व्यवसाय गर्न पुग्ने गरी ऋण पाउँदैनन् र पाएको तहअनुसारको १०, २५, ३०, ५०, ६०, ८० हजार र बढीमा एक लाख ऋणले के नै हुन्छ र अहिलेको महङ्गीको जमानामा । एउटा ठेला किनेर ठेलामा सामान बेच्ने सरजाम जुटाउन पनि पुग्दैन । भनेपछि लघुवित्तबाट लिएको कर्जा सामान्य घर चलाउन, १०÷२० हजारको साहुको मुख बन्द गर्न र कृषि पेसा गरेको भए दुईचार वटा भेडाबाख्रा किन्नको लागि मात्र प्रयोगमा आउँछ ।
लघुवित्तबाट लिएको कर्जा उक्त गरिब परिवारले आफ्नो जीविकोपार्जनको लागि बढीभन्दा बढी खर्च गर्ने गरेको पाइन्छ । समयसापेक्षको कुरा उठाउँदा हालका लघुवित्त र पञ्चायतकालका साहु महाजनहरु उस्तै–उस्तै भएका छन् । हालका लघुवित्तले पनि १८ देखि २२ प्रतिशतसम्म ब्याज लिन्छन् र पञ्चायतकालका साहु महाजनहरुले पनि जमाना अनुसारको ब्याज दबाएरै लिन्थे । पञ्चायतकालमा पनि अहिलेभन्दा धेरै गुणा बढी गरिब तथा निमुखाहरु थिए । उति बेला उनीहरुलाई घर व्यवहार चलाउन साहु महाजनको मुख ताक्नुपथ्र्यो तर अहिलेका पिछडिएका वर्गलाई लघुवित्त ताके पुग्छ । किनकि अन्य व्यक्तिहरुबाट अहिले ऋण पाउन कठिन छ । महाजनहरुले जे जति ब्याज भने पनि पैसा लिनुपर्ने बाध्यता थियो, किनकि त्यो पैसा नभए घर चलाउन कठिन हुन्थ्यो । उतिबेलाको अवस्थाको शतप्रतिशत नभए पनि केही भान दर्शाउने गरी अहिले लघुवित्त संस्थाहरुले ब्याज लिएका छन् । पञ्चायतकालमा ऋणको ब्याज समयमा तिर्न नसके काम गरेरै भए पनि सावा ब्याज असुलउपर गर्थे महाजनहरुले । सावाँपछि तिरे पनि हुन्थ्यो तर ब्याजचाहिँ समयमै तिर्नुपथ्र्यो । अहिले लघुवित्त संस्थाहरुले सामूहिक सञ्जालमा कर्जा प्रवाह गरी अर्को मान्छेलाई समात्ने नभए पत्रपत्रिकामा प्रकाशित गरेर कारबाही गर्ने, कालोसूचीमा राख्नेजस्ता कामहरु हुन्छन् यदि ऋण नउठेको खण्डमा । पहिले सावाँ ढिलो भए पनि ब्याज बुझाउनैपथ्र्यो भने अहिले निर्धारित समयको एक अंशमा पर्ने सावाँ र ब्याज दुवै एकै पटक बुझाउनुपर्छ ।
भन्दा गरिब पिछडिएको समुदाय भन्दै नारा लगाउने, गर्दा चर्को ब्याज लिएर सधैँभरि ब्याज तिर्नुपर्ने अवस्था सृजना गर्ने । आफूले लिँदा सस्तो ब्याजमा लिने तर दिँदा त्यसको चार÷पाँच गुणाभन्दा बढी लिने । त्यसैकारण पनि नेपालका लघुवित्तहरुले अत्यधिक नाफा कमाउन सफल छन् । नाफा कमाउनु सबल पक्ष हो, जसको कारणले आर्थिक क्षेत्रलाई बलियो पनि बनाउँछ । तर एउटा पिछडा समुदायलाई ढाड नै सेकिने गरी उसको पेट काटेर चर्को ब्याज लिएर गरेको नाफाचाहिँ अलि अपाच्य नै हो । जसरी गरिबको परिभाषा दिइन्छ, त्यसरी गरिबलाई राहतको महसुस हुने गरी ब्याज लिइँदैन । यो नै सबैभन्दा विडम्बनाको विषय हो । यसले कतै–कतै पञ्चायतकालको सामन्ती शैलीले केही स्थान ओगटेको जस्तो भान हुन्छ । बंगलादेशका मोहम्मद यूनुस लघुवित्तका जन्मदाता हुन् । बंगलादेशमा लघुवित्तको अवस्था निकै राम्रो छ ।  लघुवित्तबाट त्यहाँका सर्वसाधारणहरुले धेरै राहतको महुसस गरिरहेका छन् । बंगलादेशमा लघुवित्तको प्रभाव देखेर नेपालमा पनि केही गरौं भन्ने सोचले डा. हरिहरदेव पन्तले नेपालमा लघुवित्त संस्था भित्र्याए । नेपालको लघुवित्त संस्थाको जसरी विकास गरेर सर्वसाधारणलाई राहतको महसुस दिने सोच बनाए, त्यसरी लघुवित्त संस्थाहरुले काम गर्नसकेको अवस्था छैन । सेवामुखीभन्दा पनि नाफामुखीतर्फ उन्मुख हुँदा नेपालमा लघुवित्त संस्थाको उल्लेखनीय प्रगति हुन सकिरहेको छैन । संस्थागत रुपमा राम्रै छ तर सर्वसाधारणले पाएको विशेष सुविधाको राहत अत्यन्तै न्यून छ ।
एउटा गरिब तथा निमुखा वर्गले पेटमा पटुकी कसेर जम्मा गरेको अधिकांश पैसा लघुवित्तलाई विना धितो उपहारस्वरुप लिएको कर्जाको चर्को र अस्वाभाविक शैलीको ब्याज बुझाउनुपर्छ । चर्को ब्याज बुझाउँदा निर्धारित समयमा विपन्न समुदायहरुमाथि उठ्नसकिरहेका छैनन् । एउटा गरिब दुई छाकको लागि छटपटाइरहेको अवस्थामा सरोकारवालाको दु्रतगतिमा ध्यान केन्द्रित हुनसकेको छैन । यसरी सधैँ लघुवित्त संस्था सेवामुखीभन्दा नाफामुखी बढी भए सेवामुखीको नाममा दिएको छुट केका लागि ? खै त गरिबलाई राहत ? पाँचको २५ गराउँदा कहिले माथि उठ्छ पिछडिएको वर्ग ? त्यसैले गर्दा पनि पुरानो समयको झल्को नआउने गरी लघुवित्त संस्थाहरुलाई नाफामुखीभन्दा पनि सेवामुखी बनाउनेतर्फ पनि सोच्नुपर्छ । अन्य बैंक तथा वित्तीय संस्था तथा छरछिमेकबाटै पनि छदेखि १५ प्रतिशतमा पाइरहेको अवस्थामा लघुवित्तले लिएको मनपरी ब्याजले शोषकीय शैलीको रुप लिन्छ यदि विपन्न वर्गलाई आर्थिक समृद्धितर्फ लैजानुपर्छ भन्ने सोच बनाउने नै हो भने लघुवित्तहरुले बेथितिको ब्याजलाई कसी लगाउनुपर्छ र अर्को कुरा कृषिको नाम लिएर कर्जा लिने तर कृषि पेसा नगर्नेलाई नियमको परिधिभित्र राखेर नेपाल विकासको आधार मानिएको कृषि पेसाप्रति पनि अब राष्ट्र बैंकले दीर्घकालीन रुपको नियमनको आवश्यकता छ ।