लिबियामा पहिलो शान्ति सैनिकका रुपमा नेपाली सेना तैनाथ हुने

641 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

senaकाठमाडौँ । संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना libiyaतैनाथ हुने भएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा पहिलो डफ्फाअन्तर्गत स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ खटाउन लागेको हो । प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा जान लागेको दुई सय ३४ जनाको उक्त डफ्फाले प्रारम्भमा संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका प्रतिनिधि र सामग्रीको सुरक्षा प्रदान गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घबाट नेपाली सेनाको व्यावसायिक कौशल, अनुशासन, कर्तव्यपरायण र सहासको कदर गर्दै पहिलो शान्ति सेनाका रुपमा लिबिया पठाउन अनुरोध भई आएबमोजिम नेपाली सेनाले त्यहाँ सुविधासम्पन्न घुम्ती अस्पतालको व्यवस्थासहित विशिष्टीकृत सैनिकलाई पठाउन लागेको छ ।

काभ्रेका पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सुडान र लिबियामा शान्ति स्थापनार्थ खटिजाने सैनिकका लागि सञ्चालन गरिएको तालिम समापन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लिबियामा तैनाथ हुन जाने शान्ति सेना पहिलो डफ्फालाई अरू मिसनको जस्तै नेपाल र नेपाली सेनाको छवि उच्च पार्ने काम गर्न निर्देशन दिइन् ।

उनले भनिन्–“सरकारको परराष्ट्र नीतिलाई व्यवहारमा प्रभावकारी रुपमा कार्यान्वयन गरी नेपाल र नेपालीको मान, सम्मान र छविलाई विश्व समुदायमा उच्च राख्न नेपाली सेनाबाट भएको योगदानको हामी गौरव गर्दछौँ ।”
सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाणले संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वरत मुलुकमा खटिजाने नेपाली सेनाले व्यावसायिक, अनुशासन, मानवअधिकारको सम्मान र मानवीय भावना प्रदर्शन गरेर मुलुकको छवि उच्च राख्ने विश्वास व्यक्त गरे ।

नेपाली सेनाका एक लाख १४ हजार सात सय ३२ जनाले हालसम्म विभिन्न द्वन्द्वरत मुलुकमा खटिएर विश्व शान्तिमा योगदान पुर्याइसकेका छन । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेना खटाउने मुलुकको सूचीमा नेपाल हाल छैटौँ स्थानमा रहेको छ । विभिन्न मुलुकका १५ वटा मिसनमा सहभागी हुँदै आएकोमा अब लिबियामा तैनाथ भएसँगै राष्ट्रसङ्घले शान्ति स्थापनाका लागि खटाएको सबै अर्थात् १६ वटै मिसनमा नेपाली शान्ति सैनिक परिचालित हुनेछन् ।

शान्तिदूतका रुपमा हाल करिब चार हजार चार सय ६८ नेपाली सैनिक विश्वका विभिन्न द्वन्द्वरत देशमा खटिरहेका छन् । विश्व शान्ति स्थापनाका लागि खटिएको अवस्थामा हालसम्म ६३ जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने त्यतिकै सङ्ख्यामा सैनिक घाइते भएका छन् ।

तालिम समापनका अवसरमा तालिम केन्द्रका प्रमुख महासेनानी प्रयोग राणाले केन्द्रमा चैत ७ देखि २२ गतेसम्म हुने शान्ति प्रयास तालिममा भाग लिने ३५ देशलाई आमन्त्रण पठाइसकेको जानकारी दिए । रासस