चितवनमा पाँच स्थानीय तहको प्रस्ताव

641 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

chitwanचितवन । चितवनमा पाँच स्थानीय तह रहन सक्नेगरी नयाँ खाका राज्य पुनर्संरचना आयोगमा बुझाइएको छ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति चितवनले नयाँ खाका बुझाएको हो ।
यसअघि कात्तिक २० गते आयोगमा बुझाइएको खाकामा माग गरिएजस्तै भरतपुर महानगरपालिकाको प्रस्ताव गरिएको छ । भरतपुर उप–महानगरपालिकामा नारायणी र चित्रवन नगरपालिका गाम्ने गरि फेरि प्रस्ताव गरिएको छ । आयोगले दिएको सुझावमा कविलास गाविस समावेश गर्न अनुरोध गरिएको थियो ।
तर, जिल्लास्तरको दलीय संयन्त्रले पहाडी भूगोल भएकाले महानगरपालिकामा गाभ्न उपयुक्त नहुने भन्दै कविलासलाई समावेश नगर्ने गरी प्रस्ताव पेश भएको छ । यस्तै पूर्वीचितवनमा उपमहानगरपालिकाको प्रस्ताव पेश गरिएको छ । यसअघि नगरपालिकाहरु बनाउनुपर्ने प्रस्ताव पेश भएको थियो । राप्ती, खैरहनी, रत्ननगर र कालिका समावेश गरी पूर्वीचितवन उपमहानगरपालिका प्रस्ताव गरिएको छ । माडी नगरपालिकालाई नगरपालिका नै रहने गरी प्रस्ताव पेश भएको छ । आयोगले कात्तिक २० गतेको खाकामा राप्ती नगरपालिकामा समावेश गर्ने भनिएका कोराक र लोथर झिकेर चेपाङ स्वायत्त स्थानीय तहको अवधारणा तयार गर्न सुझाव दिएको थियो ।
यस्तै पहाडी ८ गाविसलाई गाभेर दुई गाउँपालिका बनाइने भएको छ । दारेचोक, दाहखानी, चण्डीभञ्ज्याङ, कविलास र काउले (५ देखि ९ सम्मका वडा) समेटेर इच्छाकामना गाउँपालिका प्रस्ताव गरिएको छ । यस्तै चेपाङ बाहुल्यता रहेको गाउँपालिकाका रुपमा झोरलाङ गाउँपालिका बन्नसक्ने खाका प्रस्तुत भएको छ । लोथर, सिद्धि, कोराक, काउले (१ देखि ४ सम्मका वडाहरु) रहने गरी गाउँपालिका प्रस्ताव गरिएको छ । ‘हामीले जिल्लाभित्रका क्रियाशील राजनीतिक दलसँग छलफल गरी नयाँ खाका आयोगमा बुझाएका छौै’ स्थानीय सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले भने, ‘चितवनमा अब पाँच स्थानीय सरकार बनाउनु उपयुक्त छ भनेर खाका बुझाएका छौं ।’
उनका अनुसार थारुहरुको बसोबास बढी रहेका पूर्वी्चितवनका दुई वडा र माडीमा दुई वडालाई थारु संरिक्षत क्षेत्र रहन सक्ने गरी खाका बुझाइएको छ । प्राविधिक समितिले विकल्पका रुपमा सात स्थानीय तहसमेत बन्ने सक्ने गरी पठाएको छ । जसमा भरतपुर उपमहानगरपालिका र माडी नगरपालिका यथावत रहने छन् । नारायणी र चित्रवन गाभेर एक नयाँ नगरपालिका, राप्ती र खैरहनी गाभेर एक नगरपालिका, कालिका र रत्ननगर नगरपालिका गाभेर एक नगरपालिका रहन सक्ने गरी प्रस्ताव पेश भएको छ । गाउँपालिकाविहीन स्थानीय तहको परिकल्पना गरेका दलहरु पुनः चितवनमा दुई गाउँपािलका बनाउन तयार भएका छन् ।
आयोगले तीन दिनभित्र पुनर्विचार गरी नयाँ खाका प्रस्ताव पेश गर्न अनुरोध गरेपछि समितिले जिल्लास्तरका दलीय संयन्त्रसँग दुईपटक बृहत छलफल गरेको थियो । “असन्तुष्ट नगरवासीहरुले आफ्ना दलीय संयन्त्रमार्फत पुनः माग पेश गरेका थिए”, स्थानीय विकास अधिकारी पोखरेलले भने, “सबैको भावना समट्ने गरी नयाँ खाका आयोगमा बुझाइएको हो ।”
यसअघि पनि प्राविधिक समितिले आयोगमा ५ वा ७ को स्थानीय सरकारको अवधारणा प्रस्तुत गरेको थियो । पटक–पटक स्थानीय तहको खाका हेरफेर हुँदै आइरहेको छ । आन्दोलित चेपाङ, थारुहरुको माग केही हदसम्म सम्बोधन भएपनि चित्रवन तथा नारायणी नगरपालिकाका स्थानीयहरुको माग भने अझै सम्बोधन हुन सकेको छैन ।
–    शान्ता अधिकारी / दृष्टि न्यूज