श्यामैडाँडाका भुकम्प पिडितलाई सास्ती-पुनर्निर्माणमा पानीको समस्या

617 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

खानेपानी भर्दै श्यामैडाँडाकी चेपाङ महिला । यही कुवाबाट ५५ घरले खानेपानीको जोहो गर्दै आएका छन्

श्यामैडाँडा (धादिङ): घरको तल छङछङ बगिरहेको खोला, गाउँबस्ती मरुभूमि त होइनन् तर सुख्खा छ, गाउँबस्तीमा केवल अभाव छ पानीको यो समस्या हो, श्यामैडाँडा धादिङको ।

भूकम्प जानुअघि पनि यस गाउँका चेपाङ समुदायले तिर्खा मेटाउन सकेका थिएनन् । भूकम्पपछि त उनीहरूले तिर्खा मेटाउन आशै मारे । भूकम्पपछि १२३ घरको पानी खाने चारवटा धारा कुवा सुक्यो । उनीहरू झन समस्यामा परे । के बालबालकिा, के वयस्क, के वृद्धवृद्धा जो कोही पूरा निन्द्रा सुत्न पाउँदैनन् ।

बिहान ४ बजेदेखि बेलुका ११ बजेसम्म पानी कहाँ छ भनेर खोज्दै हिड्नु पर्छ, हाम्रो समस्यामा काम गर्ने को छ ? भन्छिन्, श्यामैडाँडा खाद्यअधिकार समूहकी अध्यक्ष विमला चेपाङ ।  भूकम्पले भत्केको घर बनाउन सरकारले पैसा दिन्छ रे, खानेपानी छैन कसरी घर बनाउने, पानी बोकेर घर बनाउन प¥यो भने पानी बोक्ने ज्याला पुग्दैन । सरकारले पहिला गाउँमा पानी ल्याउने योजना सञ्चालन गर्न प¥यो भन्छिन् समूहकी सदस्य संगिता चेपाङ ।

यस्तो समस्या श्यामैडाँडामा मात्र होइन । सल्यानटार गाविसका हुने खानेले पनि ट्यांकरमा पानी बोकेर खाइरहेका छन् । विपन्न वर्ग भने पानीकै अभावमा दिन बिताई रहेका छन् । सल्यानटारमा दुई हजार २ सय घर निर्माण गर्नुपर्ने पूर्वगाविस अध्यक्ष फणिकान्त छत्कुली बताउँछन् ।

अहिले प्रतिएक लिटर पानीको ढुवानी एक रुपैयाँ पर्ने गरेको स्थानीय पदम श्रेष्ठले बताए । सामान्य किसिमको घर बनाउन २१ हजार लिटर पानी लाग्ने अनुमान छ । अझ हुनेखानेले पक्की घर बनाए भने पानी बढी लाग्छ । सबैले सामान्य किसिमको मात्र घर बनाए भने पनि चार करोड ६२ लाख पानी ढुवानीमा खर्च हुने श्रेष्ठले बताए ।

भूकम्पअघि खानेपानी समितिले छ हजार रुपयाँ लिएर घर बनाउन पानी दिँदा स्थानीयले आफूहरूले खानेपानी खान नपाएका बेला घर बनाउन पानी दिन नहुने भन्दै आएका थिए । अहिले एक गाग्री पानीका लागि ३ घण्टासम्म समय लाग्ने गरेको स्थानीयको गुनासो छ ।

मंसिरको दोस्रो सातासम्म ५२ हजार ९१७ घर पुनर्निर्माणका लागि पहिलो किस्ताको ५० हजार रकम निकासा भएको जिविसका सूचना अधिकृत भोला गौतमले बताए । पैसा निकासा भए पनि पुनर्निर्माणले खासै गति लिन सकेको छैन । जिल्लाभर ८५ हजारभन्दा बढी घर पुनर्निर्माण गर्नुपर्ने हुन्छ ।

जिल्लाका ८५ प्रतिशत मानिसको खानेपानीमा सहज पहुँच भएको तथ्यांक खानेपानी तथा सरसफाइ डिभिजनको भूकम्प जानुअघिको तथ्यांक छ । खानेपानीमा भूकम्पका कारण कति क्षति पुग्यो भन्न्ने एकिन तथ्यांक नरहे पनि ७ सयभन्दा बढी निवेदन कार्यालयमा दर्ता भएको छ ।

खानेपानीसम्बन्धी संरचना पुनर्निर्माणमा २३ वटा योजनाका लागि बजेट आएको छ । डिभिजनले ५० बहुवर्षे योजना सञ्चालन र ४० वटा नयाँ योजना सञ्चालन गरेको डिभिजनका प्रमुख इन्जिनियर जक्कीअमहद अन्सारीले बताए ।

-राजेन्द्र बस्नेत/कारोवार डेली