बुढीगण्डकीको कार्यालय तोडफोड गर्नेलाई सार्वजनिक मुद्दा

502 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिको कार्यालय तोडफोड गर्नेलाई सार्वजनिक मुद्दा लगाइएको छ । बिहीबार गोरखाको घ्याल्चोक ९ सिउरेनीटारमा रहेको कार्यालय तोडफोड गर्नेलाई प्रहरीले शुक्रबार सार्वजनिक मुद्दा दर्ता गरेको हो ।

तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका नौ जनाविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

कार्यालय तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले आरुआर्बाङ ९ का विकास दाहाल, बोर्लाङका नवराज ढकाल र राजन कुमाल, नामजुङका सुनील माझी र दीपेन्द्र पोखरेल, आरुचनौटेका ज्ञानबहादुर गुरुङ, दर्बुङका हरि आले, धादिङ खरीका कृष्ण काप्री र दीपेन्द्रप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी थापाले बताए ।

पक्राउ परेकाहरुलाई निशर्त रिहाइ गर्न गोरखाका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, नयाँ शक्ति, नेकपा क्रान्तिकारी माओवादी र नेपाल परिवारले दलले अलग–अलग विज्ञप्ति जारी गरी स्थानीय प्रशासनसंग आग्रह गरेका थिए अन्नपूर्ण डट कममा खबर छ ।