मेरो कथा – नबीन देखी अन्जली हुँदै ल्याक्मी फेशन वीकसम्म

118 पटक पढिएको

प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार ०९:४५

सम्पादक: Dhading News

41

२०४२ साल जेठ ४ गते बुवा शुभनसिङ तामाङ र स्व.आमा सेल्जोम तामाङको कोखबाट नुवाकोट जिल्लाको काहुलेमा जन्मेकी हुँँ । मलाई घरमा सबैले “मेरे” भनेर बोलाउँदथे तर मेरेको अर्थ भने मलाई अहिलेसम्म थाहा छैन। ५ बर्षको उमेरमा विद्यालय भर्ना गरियो। विद्यालयमा मेरो नाम नबिन कुमार वाइबा थियो । अहिले शैक्षिक प्रमाणपत्रहरुमा नबिन नै छ।
सानोमा मलाई आमा बहिनीहरुको लुगा-कपडा खुब मन पर्थ्यो। केटाहरु सँग बोल्न डर लाग्ने, केटीहरु सङ्गै खेल्ने, पढ्ने गर्थें। बिद्यालयमा पनि मेरो केटा साथी थिएनन् । साथी त थिए तर मिल्ने साथी थिएनन्, बढी केटीहरु नै मेरा साथी हुन्थे । मलाई केटीहरुसँग नै हिंड्न र बोल्न मन पर्थ्यो। एकदिन घरमा आमाको फरिया र चोलो लगाएर बहिनीहरुसङ्ग नाचिरहेको थिएँ, अचानक बुवा आउनु भयो र मलाई नमिठो झाप्पड दिनु भयो। छोरा मान्छे भएर छोरी मान्छेको कपडा लाउन लाज लाग्दैन भन्दै बुवाले नमिठोसङ्ग पिट्नु भयो, म बेस्सरी रोएँ, धेरै नरमाइलो लागेको थियो मलाई त्यो दिन । त्यो दिन देखी मलाई फेरी बहिनी वा आमाको कपडा लगाउने हिम्मत आएन ।

1-33

अली ठुलो हुँदै गए पछी मलाई केही महसुस भयो, म मन मनै सोच्दथें, म त केटा मान्छे हुँँ, मलाई केटी मान्छेको जस्तो फील किन हुन्छ ? धेरै कोशीस गरें म केटा मान्छे हुनाले केटा मान्छे जस्तो हुनु पर्छ भनेर तर सक्दिनथें । केटी साथीहरुले पनि कहिल्यै तँ केटा मान्छे हामीसँग नहिड भनेर भनेनन्। म केटा हुँँ भन्ने थाहा हुँदा हुँदै पनि कहिल्यै केटा बन्न सकिन।

प्रबेशिका परिक्षा उत्तिर्ण भए पछी उच्च शिक्षाको लागि म काठमाण्डौं आएँ र पशुपती क्याम्पसमा भर्ना भएँ । आफुमा भएको सोचलाई परिवर्तन गर्न धेरै प्रयास गरेँ, केटा मान्छेको जस्तो धोत्रो आवाज बनाएर बोल्ने कोशीस गरेँ, कलेजमा आफुलाई अरुले अर्को दृष्‍टिले नहेरोस भन्नका लागि केटाको हाउभाउ गर्ने, लवाइ, चालचलन, हिडाइ केटाको जस्तो गर्ने प्रयास धेरै गरेँ तर आफ्नो मन भित्रको उथलपुथल भावनाले भने मलाई जहिले पनि तँ केटा मान्छे हैनस् तँ त केटी मान्छे होस् भन्थ्यो। केटा मान्छे प्रती मन आकर्षित हुने, केटीकै कपडा लगाउन मन हुने, आफुले कुरा गरेको शैली, हिंड्ने शैली देखेर कसैले केटी जस्तो भन्थे कसैले तल्लो स्तरको शब्द प्रयोग गरेर बोल्ने गरेको सुन्थें। आफ्नो नजिकको केटा साथीसँग कोही केटी नजिक भएर टाँसिएर बोलेको देख्दा पनि भित्र भित्रै जलन हुने, मन परेको केटा साथीसँग घण्टौं कुरा गरेर बस्न मन पराउने आदी हुँदा आफुले आफुलाई प्रश्न गर्थें, आखिर म को हुँँ, मलाई किन यस्तो हुन्छ ? ममा किन यस्तो भावना पैदा हुन्छ जो अरु केटालाई हुँदैन ? म केटीसँग नभएर किन केटा मान्छेसँग आकर्षित हुन्छु ? आदी आदी ।

1-5
कलेज लाइफ खासै राम्रो हुन सकेन। साथीहरुले अली हेयको दृष्‍टिले हेर्ने गर्थे । कोही साथी बन्न खोज्दैनथे । यसको कारण पढाईप्रती नैराश्यता बढ्न थाल्यो। आफ्नो शारिरिक हाउभाउ, चालचलन, हिडाइ फरक भएको एकातिर थियो भने अर्कोतिर आर्थिक अवस्था पनि निकै नाजुक थियो। त्यसैले मैले पढाईलाई बिचमै रोकें। ५ बर्षपछी प्राइभेट परिक्षा दिएर प्लस टु पास गरें ।
बालुवाटारमा एउटा रेस्टुरेन्ट्मा वेटरको काम पाएँ, बिहान बेलुका सामाखुशी देखी बालुवाटारसम्म हिड्थें। त्यसबेला तिर नेपाल टेलिभिजनमा “संघर्ष” नामक एउटा कार्यक्रम आउथ्यो। त्यो कार्यक्रम म जस्तै फरक शारिरिक बनावट, चालचलन हुनेहरुको लागि थियो। तर सधैं निरन्तर हेर्ने मौका नपाउने हुनाले राम्रोसँग बुझ्न सकेको भने थिएन। एक दिनको कुरा हो, म काम सकेर साँझ पख घर आउँदै गर्दा मैले केही केटीहरु हल्ला गर्दै एउटा गाडीमा चढ्दै गरेको देखेँ । उनिहरुको स्वर भने केटामान्छेको जस्तो थियो तर लवाइ, हिडाइ भने केटीको । म छक्क परें र छेउमा गएर सोधें – “तपाईहरु कहाँ जान लाग्नु भएको? तपाईंहरुको स्वर केटाको जस्तो तर ड्रेस भने केटीको छ। मलाई पनि केटीको ड्रेस् लगाउन मन पर्छ। केटा भएर हिंड्न मन पर्दैन ।” यती भने पछी उनिहरु मध्ये एउटाले भन्यो-“हेर तँ हामी भनेको भगवान र प्रकृतिले ठगेको मान्छे हौं। हाम्रो मन केटीको छ तर शरीर केटाको छ। हामीलाई तेश्रो लिङ्गी भनिन्छ। ला यो कार्ड लिउ र भोली ब्लु डाइमन्ड भन्ने संस्थामा आउनु, त्यहाँ सबै थाहा हुनेछ।” म तीन छक्क परें । रात भरी निन्द्रा लगेन ।

1-7

भोली पल्ट म ब्लु डाइमन्ड सोसाइटी गएँ अनी बल्ल थाहा पाएँ मेरो असली परिचय। त्यस दिन देखी म नबिन कुमारबाट अन्जली लामा बनें। मलाई केटी मान्छेको कपडा लगाइदिए। बर्षौं पछी मेरो मन असाध्यै खुशी थियो। वास्तवमा यो समाजको डरको कारण म मेरो वास्तविकताबाट टाढा भागीरहेको रहेछु। बल्ल त्यो दिन म को हुँँ भन्ने आँफैले चिन्न सकें।
त्यसपछी म आफ्नै दुनियाँमा रम्न थालें। बिस्तारै एक कान दुई कान मैदान हुँदै यो कुरा दाइसम्म पुगेछ। दाइले मलाई फोन गर्नु भो, नबिन तेरो बारेमा यस्तो उस्तो सुन्छु खास कुरा के हो भनेर सोध्नु भयो । मैले वास्तबिकता सुनाएँ। दाई स्तब्ध। धेरै बेर बोल्नु भएन, अन्त्यमा भन्नु भो, अब तँ तेरो आफ्नो जिन्दगी जिउनु। हामी आफ्नो जिन्दगी जिउछौं। अब हामी तिमीलाई चिन्दैनौं र तँ पनि हामीलाई चिन्दैनस् । त्यसपछी भने परिवारसँग पूर्णरुपमा बिच्छेद हुन पुगें। मलाई थाहा थियो, मेरो समाजले म जस्तो केटा बनेर जन्मिने र केटी भएर जिउनेलाई स्विकार गर्दैन। केटा भनेको मर्द हो र हामी नामर्द हो भन्छ यो समाजले अझै पनि ।
परिवारसँग सम्पर्क नभए पनि आमा भने बेला बेलामा मकहाँ आउनु हुन्थ्यो। मलाई छोराको रुपमा जन्माएकी मेरो आमा आज उही छोरालाई छोरीको पहिरनमा देख्दा अलिक असजिलो मानिरहनु हुन्थ्यो तर भन्नु हुन्थ्यो, तँ जे जस्तो भए पनि मेरो सन्तान हो । गलत काम नगरेस्। सधैं इज्जतमा रहन सिकेस्, म मरे पछी तैले कपाल खौरिनु पर्दैन है आदी आदी भनेर सम्झाउनु हुन्थ्यो। म आमाको काखमा टाउको लुकाएर धेरै बेर रुन्थें । आमाले मलाई छोरीको रुपमा स्विकार्नु भएको थियो।

1-32
२०६७ साल तिर आमा बित्नु भएको खबर आयो। मेरो धर्ती भासियो, मेरो जिन्दगीको एक मात्र नजिकको मान्छे थिइन् मेरो आमा । म रुदै गाउँ गएँ। हिजो उच्च शिक्षा हासिल गर्न शहर गएको नबिन, अन्जली बनेर पहिलो पटक गाउँ गएँ। म शोकमा थिएँ, कसले मेरो बारेमा के भन्यो मलाई केही थाहा पनि भएन तर जब आमाको घेवा भयो, तब कुरा उठ्यो। घेवामा छोरा मान्छेलाई टोपी र छोरी मान्छेलाई गुन्यु र कपाल बाट्ने लाछा डोरी दिने चलन छ । कुरा उठ्यो मलाई के दिने? धेरै विवाद पछी मामाहरुले मलाई गुन्यु दिनु भयो, तर यो कुरा दाइलाई मन परेको रहेन्छ। मलाई दाइले बेस्सरी कुट्नु भयो। आमाले छोडेर जानु भएको शोकमा डुबिरहेको म दाइको कुटाइले शिथील जस्तै भएँ। बुवा र बहिनिहरुले रोक्नु भो। रात भरी रोइरहें, रोइरहें, यती रोएँ कि अहिले कल्पना समेत गर्न सक्दिन। बिहान उज्यालो हुनु भन्दा अगाडि नै मैले घर छोडें। बहिनिहरु रोइरहेको सुनें तर मैले पछाडि फर्केर हेरिन। त्यसपछी कहिल्यै गाउँ फर्किन।
पछी मोहन राइ भन्ने एकजना दाइले मेरो बिषयमा ब्रित्तचित्र बनाउने भन्नु भएपछी त्यसको शूटिङको लागि एकपटक गएको छु।
त्यही बर्ष म अलीअली पैसा जम्मा गरेर बैंकक गएँ र केही माइनर अपरेशन गरेर फर्कें। आर्थिक अभावका कारण पूर्ण रुपमा महिला बन्न भने सकिन।

1-37

मोडलिङ मैले २००९ तिरबाट शुरु गरेको हुँँ। सबैले मलाई तेरो राम्रो हाइट छ, मोडलिङ गर भन्थे तर मलाई मोडलिङको म पनि थाहा थिएन। एउटा मासिक पत्रीकाले फोटो शूट गर्न बोलाएको थियो र त्यो फोटो त्यस पत्रीकाको कभरमा छापिएको थियो। अनी मलाई सबैले भन्थे, अब तेरो त फोटो छापियो अब तैले धेरै काम पाउँछस् । तर अहँ, कहिल्यै अर्को फोटो सेसन त कुनै पनि प्रायोजनका लागि मोडलिङ गर्ने अफर आएन। केही समय पछी एकजनाले साईबर संसार डट कममा फोटो सेसन गरेर वेबसाइटमा राखे पछी काम पाउन सक्ने आश देखायो। मैले त्यो पनि गरे, फोटो शूट भयो, वेबसाइटमा पनि आयो तर केही हुन सकेन। एक पछी अर्को कदम असफल भैरहेको थियो। पछी मलाई एकजनाले पुतलिसडकमा जयन सुब्बा मानन्धर म्यामकोमा जाने सल्लाह दिनु भयो। म त्यहाँ गएर मोडलिङ, र्‍याम्प वाक, क्याटवाक, फेशन शोहरुको बारेमा प्रशिक्षण लिएँ। धेरै कार्यक्रमहरुमा र्‍याम्प वाकको लागि अडिशन दिन्थें तर म कहिल्यै छनौटमा पर्दिन थिएँ। मैले सोधें मैले यती राम्रो गर्दा गर्दै पनि म किन छनौटमा पर्दिन ? जवाफ पाएँ किन कि तिमी तेश्रोलिङ्गी हौ। कतिले त अहिलेसम्म नेपालमा तेश्रोलिङ्गी या ट्रान्स्जेन्डर कोही पनि मोडलिङ क्षेत्रमै छैन तिमीले दु:ख नगर समेत भन्थे। धेरै दु:ख गर्दै जाँदा अली अली नाम फैलिदै गयो, काम पाएँ, दर्जन भन्दा बढी फेशन शोहरुमा भाग लिने मौका पाएँ र धेरै संघर्ष पछी नेपालको पहिलो ट्रान्स्जेन्डर मोडल भनेर चिनिन सकें, यसमा धेरै खुशी छु।

नेपालमा मोडलिङ क्षेत्र सानो छ, मोडलिङमै करियर बनाउन गाह्रो छ। त्यसैले मैले एक चोटि मुम्बईमा गएर ट्राइ गर्ने सोच बनाएँ। हरेक वर्षको फेब्रुअरी महिनामा ल्याक्मी फेशन सप्ताह (LAKME FASHION WEEK)  हुने गर्दछ। मलाई पनि त्यसमा एकचोटी अडिशन दिन मन लाग्यो र २०१६ को फेब्रुअरीमा म मुम्बाइ आएँ तर दु:खको कुरा छनौटमा पर्न सकिन र काठमान्डौं फर्कें। ब्लु डाइमन्ड सोसाइटिले दिएको जागिर गरेरै बसें र अर्को सालको फेब्रुअरीमा फेरी प्रयास गर्ने सोच बनाएँ । संयोगले मेरो एकजना साथी पनि नोवेम्बरमा आफ्नो प्रोजेक्टको लागि मुम्बई जादै रहेछ। म दोधारमा परें, जागिर छोडेर जाउँ कि जेनतेन पेट पालिरहेको जागीर गरेरै नेपाल बसुँ। केही पाउन केही गुमाउनु पर्छ भन्छन्, जे त पर्ला भनेर म मुम्बाइ आएँ। यहाँ आफ्नो भन्ने कोही थिएन, चिनेका साथीहरुलाई मुम्बईमा कोही छ कि भनेर सोध्ने कोशीस गरें तर कतैबाट कुनै जवाफ आएन । अडिशन आउन पनि अझै ४ महिना जती बाँकी थियो। के गर्ने के नगर्ने दिमागले काम गरिरहेको थिएन, संयोगवश अडिशन डिसेम्बरमै हुँदैछ भन्ने खबर पाएँ। त्यसको लागि तयारी गरें, युट्युबमा बिभिन्न देशका चर्चित मोडलहरुको भिडियोहरु हेरें, अभ्यास गरें, कडा मेहेनत पश्चात अन्तत: म ईन्डियाको सबै भन्दा ठुलो फेशन वीक ल्याक्मी फेशन वीकको लागि छनौट भएँ। यो फेशन शो २०१७ फेब्रुअरीको पहिलो हप्ता मुम्बईमा हुँदैछ ।

1-1
म एक तेश्रोलिङ्गी, एक ट्रान्स्जेन्डर, यस महाकुम्भ मेलामा छनौट हुन पाउँदा असाध्यै खुशी छु। मैले आमालाई सम्झिएँ, म बेस्सरी रोएँ। मेरी आमा हुनुभएको भए यो खुशी म उहाँसँग बाँड्ने थिएँ। कती खुशी हुन्थ्यो होला मेरी आमा जिवित हुनुभएको भए। तपाईंलाई थाहा छ, मान्छेको आँशु दु:खमा भन्दा खुशीमा धेरै झर्ने रहेछ । म धेरै रोएँ यसपाली ।
ल्याक्मी फेशन वीकको छनौटमा अहिले सम्म कुनै नेपाली मोडल परेको छैन, ट्रान्स्जेन्डर त धेरै परको कुरा। तर म अहिले यि दुइटैको प्रतिनिधित्व गर्दैछु। त्यसैले पनि अहिले भारतीय मिडियाहरुले राम्रै स्थान दिइरहेको छ । अब यसै क्षेत्रमा करियर बनाउछु । तर म मोडलिङ क्षेत्रमा रहे पनि नरहे पनि आफ्नो आत्म सन्तुष्टिकै लागि पनि मैले आफुलाई पूर्ण रुपमा महिला बनाउनु छ, म छोरा मान्छेको रुपमा जन्मिए पनि म छोरी हुँँ र बन्ने छु।
बिहे गर्ने सोच अहिले बनाको छैन। म पूर्ण रुपमा महिला बने पनि म आमा बन्न कहिल्यै सक्दिन। यदी मेरो भावना र मलाई बुझ्ने कोही आउछ भने पछी सोच्नेछु।
अन्त्यमा मेरो कुराहरु राख्ने मौका दिनुभएकोमा धादिङ्न्युज डट कमलाई धेरै धेरै धन्यवाद ।

(बुद्धिमान वाइबासँग गरेको कुराकानीमा आधारित)


१९ पुष २०७३, मंगलवार ०९:४५ मा प्रकाशित

Dhading Galaudi mahotsav 2073

समाचार

सबै

निर्वाचनका लागि मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी

काठमाडौं-निर्वाचन आयोगले एक मतदान केन्द्रमा कम्तीमा नौ जना कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाउने कर्मचारीको सूची तय गरेको छ । २ सय ५० मतदाता भएको मतदान.....

प्रकाश दाहालको पार्थिव शरीरलार्इ अन्तिम बिदाई (हेर्नुहोस् फोटोफिचर)

काठमाडौँ, मंसिर ३ । आकस्मिक हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यक्ष पुष्पकमल.....

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट

एमाले नेता भुमि त्रिपाठीलाई लक्षित गरि एम्बुस बिस्फोट धादिङ । धादिङ क्षेत्र नं १ बाट उम्मेद्वारी दिएका भुमि.....

धादिङमा २ लाख ३३ हजार मतदाताले मतदान गर्न पाउने

 धादिङ । मंसिर १० गते हुन गईरहेको  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा धादिङ जिल्लाका २ लाख ३३ हजार  मतदाताले.....

डा. महतलाई लक्षित गरि एम्बुस विस्फोट

क्षेत्र १ प्रदेश ख का उम्मेदवार रमेशकुमार महतको फेसबुकबाट साभार फोटो । नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार.....

netrawati 3x2 = 20pcs

dashai-shub-kamana