रेडक्रसले रित्यायो भूकम्पपीडित कोष

698 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

red-cross-nepal1काठमाडौं– राहत, उद्धार तथा पुनस्र्थापनामा सक्रिय नेपाल रेडक्रस सोसाइटीले भूकम्पपीडितका नाममा संकलित रकम चरम दुरुपयोग गरेको खुलेको छ।

रेडक्रसले भूकम्पपीडित कोषको रकम कार, मोटरसाइकल, स्कुटरजस्ता सामग्री खरिद र कर्मचारी तलबभत्तालगायत शीर्षकमा जथाभाबी खर्चिएको फेला परेको हो ।

नागरिकले प्राप्त गरेका कागजातअनुसार विभिन्न दाताले पुनस्र्थापना गतिविधि सञ्चालनका लागि दिएको २४ करोड ५० लाख रुपैयाँ पदाधिकारी र कर्मचारीको तलबभत्ता, विदेश भ्रमण, सुविधाजनक कार्यालय र कार, मोटरसाइकल, स्कुटर, कम्प्युटर, ल्यापटप, पेन ड्राइभ आदि खरिदमै खर्चेर सिध्याएको छ यो खबर हामीले नागरिक न्यूज बाट लिएका हौं ।

कागजातअनुसार स्टेयरिङ कमिटीको बैठक भत्ता तथा कर्मचारीको तलबमा ६ करोड २३ लाख ४२ हजार ५ सय ८९ रूपैयाँ खर्च भइसकेको छ । स्रोतका अनुसार रेडक्रसले योभन्दा बढी रकम बैठक र अन्य सामग्री खरिदमा खर्च गरिसकेको छ ।
मानवीय सहयोगका निम्ति कहलिएको यो संस्थाले इमर्जेन्सी रेस्पोन्स अपरेसन एकाइमा कार्यरत पदाधिकारी र कर्मचारीलाई कुनै निश्चित मापदण्डबेगर सेवा र सुविधा दिँदै आएको छ । सबैभन्दा बढी भूकम्पप्रभावित १४ जिल्लामा रेडक्रसको यो एकाइ सञ्चालित छ ।

रेडक्रस अध्यक्ष सञ्जीव थापाले तलबका रूपमा एक लाख २५ हजार रूपैयाँ पाउँदै आएका छन् भने महासचिव देवरत्न धाख्वाले प्रतिमहिना ९८ हजार ३ सय ४९ रुपैयाँ तलब बुझ्छन् । यसका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले ६३ हजार २ सय ४९ रुपैयाँ पाउने गरेका छन् । अध्यक्ष थापाको नेतृत्वमा पुनर्निर्माण गतिविधि हेर्न बनाइएको अधिकारसम्पन्न समितिका सदस्य भक्त खवासले प्रतिमहिना ४० हजार रूपैयाँ पाउँदै आएका छन् । तर, उनी केही महिनादेखि क्यानाडामा बसिरहेका भए पनि यो सुविधा पाइरहेको रेडक्रसको एक स्रोत जानकारी दियो ।

त्यसैगरी, केन्द्र र जिल्लाका विभिन्न एकाइमा कार्यरत कर्मचारीले अस्वाभाविक रूपमा पारिश्रमिक पाउँदै आएका छन् । कार्यक्रम अधिकृतले १ लाख २१ हजार ५ सय रूपैयाँसम्म र परियोजना संयोजकले १ लाख एक हजार ५ सय रूपैयाँसम्म प्रतिमहिना बुझ्ने गरेको कागजातमा देखिन्छ । संस्थाले कर्मचारीलाई दसैँ र अन्य भत्ता पनि दिँदै आएको छ । केन्द्रमा ७० र भूकम्पप्रभावित जिल्लामा पाँच जना कर्मचारी खटाइएको छ ।

‘एकाइहरूमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकका पापदण्ड तोकिएको छैन र अस्वाभाविक रूपमा यो धेरै छ । रेडक्रसमा कार्यरत अधिकारीहरूलाई जथाभाबी रूपमा बढी तलब दिइनुको कारण उनीहरू कुनै न कुनै रूपमा नातेदार हुन्,’ आफ्नो नाम उल्लेख गर्न नचाहने रेडक्रसका एक कर्मचारीले नागरिकलाई बताए, ‘एकाइहरूमा नातावादका आधारमा कर्मचारी भर्ना गरिएका छन् । अध्यक्ष थापा र अन्य पदाधिकारीले रेडक्रस र यसका एकाइमा आफ्ना नातेदारहरूलाई भर्ना गरेका छन् ।’
एउटै पदमा कार्यरत भए पनि कर्मचारीले पाउने पारिश्रमिक फरक रहेको नागरिकले प्राप्त गरेका कागजातमा देखिन्छ ।
त्यसैगरी, अध्यक्ष थापाले जेनेभा भ्रमणका लागि २ लाख ५० हजार रूपैयाँ, थाइल्यान्ड र अन्य भ्रमणका लागि ७२ हजार ७ सय ३५ रूपैयाँसमेत भुक्तानी लिएको कागजातमा देखिन्छ ।

रेडक्रस अधिकृतहरूका लागि सुविधाजनक गाडी, त्यसका पार्ट, बिमा र काठमाडौंबाट जिल्ला जान अन्य कार तथा भ्यान भाडा लिएबापत ४ करोड, ९० लाख ८४ हजार एक सय रूपैयाँ खर्च गरेको देखिन्छ । कागजातअनुसार रेडक्रसले १० वटा कार खरिद गरेको छ । रेडक्रसले ६ करोड ८० हजार रूपैयाँ कार खरिदमा खर्च गरेको छ ।
प्राप्त कागजातअनुसार रेडक्रसले दुइटा कार ५६ लाख ७५ हजार रूपैयाँ, चारवटा कार ३३ लाख ९५ हजार रूपैयाँ, एउटा कार ३० लाख ६५ हजार रूपैयाँ तथा अन्य कार खरिदका लागि १० लाख ६५ हजार खर्च गरेको देखिएको छ ।
त्यसैगरी, रेडक्रसले २ सयवटा मोटरसाइकल र स्कुटर खरिदमा ६ करोड १२ लाख ५१ हजार २ सय ८१ रूपैयाँ, साइकल खरिदमा ४ लाख २९ हजार २ सय २९ रूपैयाँ एवं ट्रक र लरी किन्न ३ करोड ६२ लाख ८५ हजार ५ सय ८९ रूपैयाँ खर्च गरेको भेटिएको छ ।

यसले कर्मचारीहरूका लागि ४ लाख ८० हजार रूपैयाँका मोटरसाइकलसमेत खरिद गरेको छ ।

netrawati-chhapakhanaback-5रेडक्रसले ल्यापटप कम्प्युटर खरिदका लागि २ करोड ५७ लाख ६६ हजार १ सय ३८ रूपैयाँ, डेस्कटप कम्प्युटरका लागि ४ लाख ३२ हजार १ सय २२ रूपैयाँ, कम्प्युटर प्रिन्टरका लागि ३५ लाख ८३ हजार ५ सय ५० रूपैया र फ्ल्यास ड्राइभ, पेन ड्राइभ र पावर ब्याकअपका लागि ३ लाख ७३ हजार ८ सय १६ रूपैयाँ खर्च गरेको देखिएको छ ।
त्यसैगरी, रेडक्रसले ९ लाख ९८ हजार ३ सय ३९ रूपैयाँको मल्टिमिडिया अप्टिमा, ४ लाख २३ हजार २ सय १७ रूपैयाँको ओभरहेड प्रोजेक्टर र २ लाख ९ हजार ७ सय ४४ रूपैयाँका विभिन्न कम्प्युटर एसेसरिज खरिद गरेको कागजातमा देखिन्छ ।

‘रेडक्रसका नाममा दिइएको ठूलो रकम पारिश्रमिक र सुविधा सामग्रीमा खरिद गरिएको छ । पुनर्निर्माण कामको अनुगमन गर्ने कर्मचारीलाई दिइएको सुविधा र पारिश्रमिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाभन्दा कम छैन । भूकम्पपीडितलाई पदाधिकारीको कमाउने साधन बनाउनु दुर्भाग्यपूर्ण छ,’ एक अधिकृतले भने ।
ती अधिकृतका अनुसार विभिन्न दाताले रेडक्रसलाई पुनर्निर्माण र पुनस्र्थापना गतिविधिका लागि ९ अर्ब रूपैयाँ दिएका थिए । ‘स्थानीय स्तरमा कुनै काम भएको छैन, रेडक्रस भने काठमाडौंको कार्यालयका लागि महँगा सामग्री खरिद गरिरहेको छ,’ एक उच्च स्रोतले भन्यो ।

यसअघि रेडक्रसले चितवनको एउटा महँगो होटलमा बैठकका लागि ७० लाख रूपैयाँ खर्च गरेको समाचारसमेत नागरिकले प्रकाशित गरेको थियो

भूकम्पपीडितका नाममा दाताबाट प्राप्त ठूलो रकम मोजमस्तीका सामग्री खरिद र भत्तामा खर्च

  • २ सयवटा मोटरसाइकल र स्कुटर खरिद ः ६ करोड १० लाख
  • १० वटा कार खरिदः ४ करोड ९० लाख
  • ट्रकः ३६ करोड २८ लाख
  • साइकल खरिदः ४ करोड २९ लाख
  • ल्यापटपः २५ करोड ७० लाख रूपैयाँ