पुनर्निर्माणमा गैससको मनपरी,धादिङका ६ स्वास्थ्य चौकी भवन मापदण्ड विपरित

1149 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

photo rasuwaकाठमाडौं- भूकम्प प्रभावित ७ जिल्लामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) ले निर्माण गरेका स्वास्थ्य संस्थाका भवन मापदण्डविपरीत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको अनुगमनका क्रममा स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएका १० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्राविधिक जाँच नगरी स्वास्थ्य संस्थाका भवन बनाएको पाइएको हो यो खबर हामीले नागरिक न्यूजबाट लिएका हौं ।

 धादिङ,रसुवा, दोलखा, सिन्धुपाल्चोक, गोरखा, काभ्रे र नुवाकोटका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रका ६५ वटा भवन मापदण्डविपरीत बनेको मन्त्रालयको केन्द्रीय परियोजना कार्यान्वयन एकाइले जनाएको छ।

ती भवन सेभ द चिल्ड्रेन, अमेरिकी सहयोग नियोग (युएसएड), करुणा फाउन्डेसन, अमेरिकन नेपाल मेडिकल फाउन्डेसन, सिप्रदियन सहयात्रा संस्था, नेदरल्यान्ड लेप्रोसी रिलिफ, वान हर्ट वर्ल्ड वाइड, टेरी देस होम्स, रेन्वो पोखरा र नेपाल वाटर इनर्जी डेभलेप्मेन्ट (एनडब्लुइडी) ले बनाएका हुन्।

भवन निर्माणअघि डिजाइन, लम्बाइ, चौंडाइ र कोठाको आकार तथा संख्याजस्ता प्राविधिक पक्ष मन्त्रालयबाट स्वीकृत हुनुपर्ने प्रावधान छ। यस्तै सम्बन्धित निकायबाट भूकम्प प्रतिरोधी भवनको नक्सा र डिजाइन पास गर्नुपर्छ।

नक्सा र डिजाइन पास नगरी स्वास्थ्य संस्था बनाउनेमा सेभ द चिल्ड्रेन अगाडि छ। सेभ द चिल्ड्रेनले बनाएका १८ वटा भवन मापदण्डअनुसार छैनन्। टेरी देस होम्स र करुणा फाउन्डेसनले बनाएका १४–१४, अमेरिकन नेपाल मेडिकल फाउन्डेसनका १२, वान हर्ट वर्ल्ड वाइडका ६, युएसएड, सिप्रदियन, एनडब्लुइडी, रेन्वो पोखरा र नेदरल्यान्ड लेप्रोसी रिलिफले बनाएका १–१ भवन मापदण्डविपरीत छन्।

मापदण्डविपरीतका भवनको स्वामित्व लिन मन्त्रालयले अस्वीकार गरेको छ। मन्त्रालयका अनुसार धादिङका ६, सिन्धुपाल्चोकका १८, रसुवाका १६, , दोलखाका ३, गोरखाका ८, काभ्रेका ११ र नुवाकोटका ४ स्वास्थ्य चौकीका अस्थाई प्रिफ्याब भवन मापदण्डविपरीत बनेका छन्।

मन्त्रालयको केन्द्रीय कार्यान्वयन एकाइका प्रमुख रमेश अधिकारीले एनजिओ/आइएनजिओले स्वास्थ्य संस्थाका भवन मापदण्डविपरीत बनाइरहेको बताए। उनले भने, ‘अनुगमनका क्रममा धेरै भवन डिजाइन पास नगरी बनाइएको पाइयो। ती सबै संस्थालाई मापदण्ड पूरा गर्न समय दिएका छौं।’ उनका अनुसार मापदण्ड अनुसार पूरा गरेपछि मात्र मन्त्रालयले ती भवनको स्वामित्व लिनेछ। ‘डिजाइन तथा नक्सा पास गरेरमात्र भवन निर्माण कार्य अगाडि बढाउनुपर्ने हो,’ उनले भने, ‘तर ती संस्थाले के आधारमा भवन बनाए हामी आश्चर्यमा परेका छौं।’ मन्त्रालयले मापदण्डअनुसार स्वास्थ्य संस्थाका भवनको उचाइ, चौंडाइ, कोठाको संख्या रहेनरहेको हेरेरमात्र स्वामित्व लिनेछ।

मन्त्रालयका अनुसार भूकम्प प्रभावित जिल्लाका ३ सय ७१ स्वास्थ्य संस्थाका भवन निर्माण गर्न ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग ७ अर्बभन्दा बढी रकमको सम्झौता भएको थियो। अहिले बनेका भवन २५ देखि ४० लाखसम्म लागतका छन्। ६५ वटा भवन बनाउँदा झन्डै २० करोड खर्च भएको छ।

ती भवनहरू भूकम्प प्रतिरोधी नरहेका, कोठा पनि साना र कम उचाइका रहेको मन्त्रालय स्रोतले बतायो। ‘मन्त्रालयले डिजाइन र नक्सा स्वीकृत गरेका भवनमा निश्चित मापदण्ड तोकेको हुन्छ,’ स्रोतले भन्यो, ‘तर नक्सा र डिजाइन पास नभएका भवन के आधारमा कसरी बनाइयो थाहा नहुने र त्यहाँ आर्थिक चलखेल पनि हुनसक्ने भएकाले मन्त्रालयले ती भवनको स्वामित्व लिन सक्दैन।’

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले सिन्धुपाल्चोकका अत्तरपुर, भीमटार, भोटसिपा, चौतारा, हैबुङ, इर्खु, लिस्तिकोट, पेट्कु, पिस्कर, सिपापोखरे, तौथली, ठूलोसिरुबारी गाविसमा निर्माण गरेका स्वास्थ्य चौकी भवन मापदण्डविपरीत छन्।

सिन्धुपाल्चोकमै सेभ द चिल्ड्रेनले बनाएका जेठल स्वास्थ्य चौकी, महांकाल स्वास्थ्य चौकी, थुमपाखर स्वास्थ्य चौकीका अस्थायी प्रिफ्याब भवन मापदण्डविपरीत पाइएको हो। यसैगरी सिप्रदियनले निर्माण गरेको फुलपिङकट्टी स्वास्थ्य चौकीको स्थायी भवन, वन हर्ट–वल्ड वाइडले बनाएको साँगाचोक स्वास्थ्य चौकी  भवन मापदण्डविपरीत छन्।

नुवाकोटमा सेभ द चिल्ड्रेनले निर्माण गरेका चौथी स्वास्थ्य चौकी भवन, दङसिङ स्वास्थ्य चौकी, कुमारी स्वास्थ्य चौकी र तारुका चौतारा स्वास्थ्य चौकीका भवन मापदण्डविपरीत भेटिएको मन्त्रालयको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

रसुवामा करुणा फाउन्डेसनले निर्माण गरेका १४ वटा भवन मापदण्डविपरीत छन्। फाउन्डेसनले बनाएका भोर्ले स्वास्थ्य चौकी, ब्रिदिम स्वास्थ्य चौकी, डाँडागाउँ स्वास्थ्य चौकी, गत्लाङ स्वास्थ्य चौकी, लाङटाङ स्वास्थ्य चौकी, राम्चे स्वास्थ्य चौकी, रसुवा स्वास्थ्य चौकी, स्याफ्रुबेसी स्वास्थ्य चौकी, चिलिमेको थाम्बुचेत स्वास्थ्य चौकी, ठूलागाउँ स्वास्थ्य चौकी, थुमान स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, यार्सा स्वास्थ्य चौकी र सर्माथली स्वास्थ्य चौकीका प्रिफ्याब भवन मापदण्डविपरीत पाइएको हो। रसुवाको हाकुमा एनडब्लुइडीले बनाएको हाकु स्वास्थ्य चौकी पनि मापदण्डविपरीत छ।

यस्तै सेभ द चिल्ड्रेनले निर्माण गरेको गोलीजंग स्वास्थ्य चौकी भवन पनि मापदण्डविपरीत छ।

काभ्रेमा टिडिएचले बनाएका भुम्लुटार, दोलालघाट, देवीघाट, खार्पाचोक, कलाँती भूमिडाँडा, कुशादेवी, माझीफेदा, नाल्दुम, सल्लेभुम्ले र साफिङ स्वास्थ्य चौकीका भवन मापदण्डविपरीत छन्।

धादिङमा रेन्वो पोखराले बनाएको गोगनपानी स्वास्थ्य चौकी, वान हार्ट वान वर्ल्डले बनाएका बेनीघाट स्वास्थ्य चौकी, महादेवस्थान स्वास्थ्य चौकी, मैदी स्वास्थ्य चौकी, तसार्पु स्वास्थ्य चौकी र थाक्रे स्वास्थ्य चौकी, दोलखामा सेभ द चिल्ड्रेनले बनाएका जुगु स्वास्थ्य चौकी र काब्रे स्वास्थ्य चौकी, गोरखामा नेदरल्यान्ड लेप्रोसी रिलिफले निर्माण गरेको मिरकोटे स्वास्थ्य चौकी, सेभ द चिल्ड्रेनले बनाएका आरू चनौटे प्राथमिक स्वास्थ्य केन्द्र, बगुवा, धावा, नरेश्वर, पाँचकुवा देउराली, ताकुकोट र तान्द्राङ स्वास्थ्य चौकी भवन मापदण्डविपरीत छन्।

करुणा फाउन्डेसनका प्रतिनिधि राम थापाले मन्त्रालयले तयार पारेको डिजाइनअनुसार भवन बनाइएको दाबी गरे। उनले भवन बनाउने क्रममा डिजाइन तथा नक्सा पास फेरि गर्नुपर्छ भन्ने जानकारी नहुँदा समस्या आएको बताए। उनले मापदण्डविपरीत बनेका भवनको डिजाइन तथा नक्सा पास प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

सेभ द चिल्ड्रेनका पूर्वाधार विज्ञ यादव मैनालीले भने सबै प्रक्रिया पूरा गरेरमात्र स्वास्थ्य संस्थाको भवन निर्माण  थालिएको दाबी गरे। ‘हामीले सबै प्रक्रिया पूरा गरेका थियौ। मापदण्ड पूरा नगरेको सूचीमा कसरी हामीले बनाएका भवन परेछन्, म छक्क परेको छु’, उनले भने, ‘नाम चढाउने क्रममा मन्त्रालयमा भूल भएको हुन सक्छ।’