कोदो र फापर आयात गर्न ५२ करोड बाहिरिन्छ

1342 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Kodoकाठमाडौं । कृषिप्रधान देश नेपालमा कोदो र फापर मात्र आधा अर्बभन्दा बढीको आयात हुने गरेको पाइएको छ ।

पुरानो र परम्परागत बाली भन्दै नेपालमा उत्पादन घटिरहेका बेला छिमेकी राष्ट्रहरूबाट मात्र नेपालमा बर्सेनि ठूलो रकमबराबरको कोदो र फापर आयात हुने गरेको हो । व्यापार प्रबद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा कोदो र फापरका लागि मात्र ५१ करोड ९१ लाख ९२ हजार रुपैयाँ बिदेसिएको छ ।

यसमध्ये ३ करोड ९६ लाख ८७ हजार रुपैयाँबराबरको १ लाख ५५ हजार किलो कोदोको बिउ मात्र आयात भएको केन्द्रले जनाएको छ । मुख्य खाद्यान्न बालीमध्येको एक कोदोमा आइरनको मात्रा प्रशस्त हुने भएकाले पछिल्लो समयमा सहरी क्षेत्रमा उच्च वर्गले यसको उपभोग बढाउन थालेका छन् । पछिल्लो समय मदिरा उत्पादनमा कोदोको प्रयोग धेरै हुने भएकाले पनि व्यवसायीले धेरै परिणाममा आयात गर्दै आएका छन् ।

विज्ञका अनुसार कोदोमा आइरनको मात्रा धेरै हुँदा रक्तअल्पता कम भएका व्यक्तिलाई धेरै लाभदायक हुन्छ । केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा ४२ करोड ६५ लाख ४ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख २० हजार ५ सय ८० किलो कोदो आयात भएको छ । जसमा ३८ करोड ९६ लाख ७ हजार रुपैयाँको कोदो र ३ करोड ९६ लाख ८७ हजार रुपैयाँबराबरको १ लाख ५५ हजार किलो कोदोको बीउ आयात भएको छ । आव ०७१/७२ मा ४१ करोड ७८ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड ५० लाख ६८ हजार ५ सय ५१ केजी कोदो आयात भएको थियो । तथ्यांकले गत वर्ष अघिल्लो वर्षभन्दा १ करोड रुपैयाँबराबर कोदो मात्र आयात बढेको छ ।

केन्द्रको तथ्यांकअनुसार आव ०७०/७१ मा ३४ करोड ५६ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ३५ हजार ९ सय ४३ किलो कोदो आयात भएको थियो । विशेष गरी कोदो भारत र थाइल्यान्डबाट आयात हुने गरेको छ । कृषि विज्ञ भोलामान सिंह बस्नेत नेपालमै पर्याप्त मात्रामा उत्पादन गर्न सके कोदोको आयात गर्नु नपर्ने बताउँछन् ।

“जाँड–रक्सी बनाउनका लागि कोदोको आयात धेरै हुने गरेको छ,” उनले भने, “उन्नत प्रविधि अनुसन्धान गरेर मुलुकमै उत्पादन बढाउन सके कोदोका लागि बिदेसिने रकम रोकिन्छ ।” मुलुकमा २ लाख ६८ हजार ५० हेक्टरमा वार्षिक ३ लाख टन कोदो उत्पादन हुन्छ । कोदो बालीमा उन्नत बिउ, मल जस्ता प्रविधिको प्रयोग गर्ने चलन कम भएका कारण उत्पादकत्वमा वृद्धि हुन सकेको छैन । हिमाली तथा पहाडी जिल्लामा कोदो खेती गरिन्छ ।

यसैबीच, आर्थिक वर्ष ०७२/७३ मा ९ करोड ८५ लाख ३८ हजार रुपैयाँ बराबरको ३६ लाख ६१ हजार १ सय ५४ किलो फापर आयात भएको छ । आर्थिक वर्ष ०७१/७२ मा भने ८ करोड ८४ लाख ९९ जार रुपैयाँ बराबरको ३३ लाख ८७ हजार १ सय ८५ किलो फापर आयात भएको छ । मुख्य खाद्यान्न बालीको रुपमा समावेश गरिएको फापर खेती ५० भन्दा धेरै जिल्लामा गरिन्छ । कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार १० हजार ८ सय हेक्टरमा ११ हजार ६ सय टन फापर उत्पादन हुने गरेको छ । नेपालमा फापर भने भारत र चीनबाट आयात हुने गरेको न्यूज एग्रो डट कमले खबर लेखेको छ  ।