कोरियामा ५० भन्दा बढी नेपाली कामदार पक्राउ

754 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सोल, असार ९ – दक्षिण कोरियामा अवैधानिक रुपमा काम गर्दै आएका विभिन्न औधोगीक क्षेत्र र स्थानबाट यसै हप्तामात्र ५० भन्दा बढी नेपाली कामदारहरु पक्राउ परेका छन् ।

अध्यगमन विभागका कर्मचारीहरुद्वारा शनिबार बेलुका ८ बजे ओसान शहरमा रहेको किरात याक्थुङ चुम्लुङको कार्यलयबाट नारद साम्मेखाम लिम्बु, याम शेर्मा ,प्रेम लिम्बु र शेखर सुब्बा पक्राउ परेका छन् ।

संस्थाकौ मासिक बैठकमा सहभागी हुन आएका उनीहरुलाई १० र१२ जनाको समूहमा आएका कर्मचारीहरुले चुम्लुङको कार्यलय घेराउ हाली पक्राउ गरेका थिए । साम्मेखाम र शेर्मा चुम्लुङको पूर्व अध्यक्षहरु हुन् ।

त्यसरी नै गत बिहीबार भोजपुरका कुमार थापा, भरत कार्की ,दुर्गा चौलागाई र खोटाङका श्याम कार्की एउटै कम्पनीबाट पक्राउ परेका छन् । थापाले दिएको जानकारी अनुसार बन्दी गृहमा नेपाली कामदार ल्याउने क्रम बढिरहेको छ । पक्राउ परेका नेपाल सहित इण्डोनेशीया, मंगोल, चीन, भियतनाम लगायतका कामदारहरु कम्पनीबाट पाउनु पर्ने तलब भत्ता समयमै नगराउँदा मानसिक तनावमा रहेको पनि थापाले बताए ।

गत सोमबार तमुधि कोरियाका अध्यक्ष रामकाजी गुरुङसहित तीन जना सोलस्थित नेपाली दूतावास परिसरबाट पक्राउ परेका थिए । गुरुङ पक्राउ परेको बिषयलाई लिएर कोरियाको नेपाली समाजमा विभिन्न बहस भइरहेका छन् ।

बन्दी गृहमा रहेका गुरुङले स्थानीय पत्रकारहरुलाई दूतावासका उपनियनेग प्रमुख राजाराम बर्तौलाको उजुरीमा आफू पक्राउ परेको अन्र्तवार्ता दिएपछि बहस सुरु भएको हो । सकृय समाज सेवी समेत रहेका गुरुङ पक्राउको बिषयलाई लिएर दक्षिण कोरियाकालागि नेपाली राजदूत कमानसिंह लामाले दुखद बिषय भएको प्रतिकृया दिएका थिए ।

कुटनीतिक मान्यतामा विदेशी नियोग परिसरमा सम्बन्धित देशको कानुन लागु हुनेभएकाले दूतावासकै ढोकामा पक्राउ पर्नु संयोग मात्र नभएको यहा रहेका नेपालीहरुको ठहर रहेको छ ।

यसअघि छनान क्षेत्रमा रहेको एक कम्पनीबाट १८ र उइजङ्बो, किम्पो, इन्च्छन क्षेत्रबाट २० भन्दा बढी अवैधानिक नेपाली कामदार पक्राउ परेका थिए । सोलस्थित अध्यगमन विभागको तथ्यांक अनुसार ईपीएसबाट आएका ९ सय र अन्य ९ सय नेपाली अवैधानिक रहेका छन् । कोरियामा सबै भन्दा धेरै करिब ७० हजार चीनीयाँ नागरीकहरु अवैधानिक रहेका छन् ।(नमस्ते नेपाली डट कम बाट)