नेपालमा छ वर्षमा महिला यौनकर्मीको संख्या दोब्बर

581 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

90_9काठमाडौं । छ वर्षको अवधिमा नेपालमा महिला यौनकर्मीहरुको संख्या दोब्बर भएको एक अध्ययनले देखाएको छ । नेपालमा सन् २०१० मा महिला यौनकर्मीहरुको संख्या करिब २८ हजारको हाराहारीमा थियो । सन् २०१६ सम्ममा उक्त संख्या बढेर झण्डै ५३ हजार पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाई तथा सेभ द चिल्ड्रेन र ग्लोबल फण्डसँग सम्बन्धित राष्ट्रिय सञ्जालहरु र अन्य साझेदार निकायको सहयोगमा इन्ट्ररपीड नेपालले चार महिना लगाएर अध्ययन गरेको थियो ।

पुरुष यौनकर्मीको संख्या २० हजार ६२५

देशभरका ४४ जिल्लालाई केन्द्रित गरी सम्पन्न गरिएको उक्त अध्ययनले काठमाडौं उपत्यकामा महिला यौनकर्मीहरुको संख्या ११ हजार ६ सय ७० रहेको अनुमान गरेको छ । ०७३ साल भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा एक लाख ११ हजार ८५२ पुरुषमध्ये करिब २४ हजारको हाराहारीमा तेस्रोलिंगी, २० हजार ६२५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिंगी पुरुष रहेको अनुमान छ । त्यसैगरी, अध्ययनबाट आएको नतिजाले नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेको संख्या करिब ३४ हजार रहेको अनुमान छ । जसमध्य पुरुषको संख्या ३० हजारको हाराहारीमा तथा महिलाहरुको संख्या ३ हजारको हाराहारीमा रहेको अनुमान छ । यस्तै, काठमाडौं उपत्यकामा सुईको माध्यमबाट लागूपदार्थ लिनेको संख्या ३ हजार दुई सय ५९, भक्तपुरमा एक हजार ४ सय ८१ र ललितपुरमा ८३२ रहेको अनुमान गरिएको छ । छ वर्षको अवधीमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि हुनु आश्चर्यजनक भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए । उनले अध्ययनका क्रममा आएको नतिजाबीच धेरै भिन्नता देखिए पनि यसलाई अन्यथा लिन नहुने बताए । उनले भने, ‘यो हुँदै नभएको तथ्यांक पक्कै हैन, केही फरक देखिएको होला । यसबारे पुनः अध्ययन गरिनेछ ।’ उनले यो अध्ययन फिल्डमा गएर गरिएको अध्ययन भएकैले यो अमान्य नहुने समेत स्पष्ट पारे । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक राजेन्द्र पन्तले आगामी वर्षको बजेट कार्यक्रममा यो तथ्यांकबाट आएको नतिजाको आधारमा नयाँ कार्यक्रम तर्जुमा गर्ने बताए । उनले भने, ‘यो मेरो पनि प्राथमिकताको विषय हो । नेपालमा एड्स रोगीको जोखिम बढिरहेका बेला यो अध्ययनबाट आएको नतिजालाई आगामी वर्षको वजेटमा समावेश गर्ने यो सही समय हो ।’ उनले एचआईभीको क्षेत्रमा मिलेर अगाडि बढ्न समेत सबैमा अपील पनि गरे । कार्यक्रममा सेफ द चिल्ड्रेन र ग्लोबल फण्डका प्रतिनिधि तारा क्षेत्री, गृह मन्त्रालयका उपसचिव सुर्यबहादुर खत्री लगायतको समेत उपस्थिति थियो ।