पत्रकार महासंघको अध्यक्षमा नवराज छत्कुलीलाई पठाउने निर्णय

639 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ १३ फागुन,२०७३– नेपाल पत्रकार महासंघ धादिङ शाखाको अध्यक्षमा पुन : नवराज छत्कुलीलाई पठाईने भएको छ । प्रेस चौतारी नेपाल धादिङको शुक्रवार धादिङबेसीमा सम्पन्न पदाधिकारी बैठकले आगामी कार्यकालका लागि नवराज छत्कुलीलाईनै अध्यक्षमा अघि बढाउने निर्णय गरेको हो ।प्रेस चौतारी धादिङका अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । बैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यद्धय केशव अधिकारी र रामेश्वर कार्की  जिल्ला समितिका पुर्व अध्यक्षहरु केशव दुवाडी, सिताराम अधिकारी, गायत्री खतिवडाको पनि उपस्थिती रहेको थियो । 

समितिको शुक्रबार बसेको बैठकले महासंघको ८ औँ जिल्ला अधिवेशनका लागि प्रेस चौतारी नेपालको तर्फबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका वर्तमान अध्यक्ष नवराज छत्कुलीलाई आगामी कार्यकालका लागि पुनः अध्यक्ष पदका लागि अघि सारेको प्रेस चौतारी धादिङद्धारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ ।

धादिङ जिल्लामा नेपाल पत्रकार महासंघलाई सशक्त बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरी आम श्रमजिवी पत्रकारहरुको हकहित र अधिकार प्राप्तिका निम्ति उनको नेतृत्वले खेलेको  भुमिकाको कदर गर्दै प्रेस चौतारी धादिङले छत्कुलीलाई पुनः अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको प्रेस चौतारी धादिङले  जनाएको छ । 

महासंघको नेतृत्व छत्कुलीले सम्हालेसँगै  पत्रकार महासंघ धादिङले आफ्नै भवन निर्माण गरेर कार्य सम्पादन गर्न सफल भएको छ । महासंघको भवन भित्र नै हाल सूचना केन्द्र र संचार सहकारी स्थापना भएको छ ।

पत्रकारको हक हित तथा सम्मानका लागि विभिन्न पत्रकारीता पुरस्कारको अक्षय कोष पनि स्थापना गर्न सफल भएको छ । पत्रकारहरुको दुर्घटना बिमा, पत्रकारका लागि कार्ड नविकरणका लागि केन्द्रिय टोलीलाई जिल्लामा नै ल्याएर सुविधा दिन सफल भएको छ ।