उत्तर कोरियाका ५ सुरक्षा अधिकारीलाई मृत्युदण्ड

572 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kimप्योङयाङ/उत्तर कोरियाका पाँच वरिष्ठ सुरक्षा अधिकारीलाई मृत्युदण्ड दिइएको छ । युद्धविमान खसाउने बन्दुकले गोली हानेर उनीहरूलाई मृत्युदण्ड दिइएको दक्षिण कोरियाली सांसदहरूले बताएका हुन् । मारिएका सबै व्यक्ति उत्तर कोरियाका उपमन्त्रीसरहका अधिकारी रहेको दक्षिण कोरियाले जनाएको छ । उनीहरू सबै हालै बर्खास्त गरिएका कोरियाका सुरक्षा प्रमुख किम वोन होङको नेतृत्वमा रक्षा मन्त्रालयमा कार्यरत थिए । होङमाथि उत्तर कोरियाली नेता किम जोङ उनलाई गलत सूचना दिएको आरोप लागेको छ । उनलाई विगत दुई महिनादेखि घरमै नजरबन्दमा राखिएको छ ।

सुरक्षा प्रमुख नजरबन्दमा
सुरक्षा अधिकारीले आफूमाथि षड्यन्त्र गरेको भन्दै नेता किमले  होङलाई दुई महिनादेखि घरमै नजरबन्दमा राख्न आदेश दिएका छन् । ‘राज्य सुरक्षा प्रमुख किम वोन होङ अनुसन्धानका लागि घरमै नजरबन्दमा छन् भने उनीमातहत काम गर्ने पाँच उपमन्त्री तहका सुरक्षा अधिकारीलाई मृत्युदण्ड दिइएको छ,’ दक्षिण कोरियाली सांसद किम बाइयुङ कीको भनाइ उद्धृत गर्दै सिएनएनले जनाएको छ । सुरक्षा प्रमुख होङमाथि पनि मृत्युदण्डको प्रबल सम्भावना रहेको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।

रक्षा मन्त्रालय नै गर्छ गुप्तचरी
उत्तर कोरियाको रक्षा मन्त्रालय आफैँमा गुप्तचरी संस्था हो । मन्त्रालयले पार्टी कार्यकर्ता र अन्य नागरिकको गुप्तचरी गर्छ । कैद शिविरसमेत सञ्चालन गरेको मन्त्रालयले सर्वसाधरण र पार्टीअधिकारीलाई नियन्त्रण तथा अनुगमन गर्छ । मृत्युदण्ड पाउने पाँचै अधिकारीले नेता उनमाथि गुप्तचरी गरी झुटो रिपोर्ट तयार गरेको दक्षिण कोरियाका अर्का सांसद चिओल उले बताए ।

३४० को हत्या
सन् २०११ मा शक्तिमा आएपछि किम जोङ उनले तीन सय ४० भन्दा बढीलाई मृत्युदण्डको सजायँ दिइसकेका छन् । दक्षिण कोरियाको नेसनल सेक्युरिटी स्ट्राटिजीका अनुसार आफ्नो शक्ति सुदृढ गर्न नेता उन विरोधी सखाप पार्ने रणनीतिमा छन् । मारिनेमध्ये एक सय ४० जना सरकार, सेना र कोरियाली वर्कस पार्टीका वरिष्ठ अधिकारी छन् ।

-एजेन्सी