दुर्घटना न्यूनीकरणका लागि घरघरमा ट्राफिक

699 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ । धादिङमा राजमार्गमा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न घरघरमा ट्राफिक अभियान सञ्चालन गरिने भएको छ ।
देशका ६७ जिल्लालाई सिधै राजधानीसँग जोड्ने दुईवटा मुख्य सडक पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको धादिङ खण्डमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले घर घरमा ट्राफिक अभियान सुरू गर्न लागेको हो । अभियानअन्तर्गत राजमार्ग र जिल्लाका ग्रामीण सडकमा हुने दुर्घटनामा न्यूनीकरण गर्न विद्यालयमा ट्राफिक नियमहरुको अभिमुखीकरण सुरू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णराज सापकोटाले बताए ।
अहिलेसम्म राजमार्ग आसपासका विद्यालयमा पुगेर त्यहाँका विद्यार्थीहरुलाई र १५० जना भन्दा बढी चालकहरुलाई अभिमुखीकरण गरिसकिएको पनि प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । ‘घरघरमा ट्राफिक’ भन्ने नारासहित विद्यालयमा गएर विद्यार्थीहरुलाई ट्राफिक नियम पढाउने र विद्यालय प्राङ्गणमा ट्राफिक नियम सम्बन्धी जानकारी दिने बोर्ड राख्न विद्यालयका प्राधानाध्यापकसँग आग्रह गरिएको प्रहरी निरीक्षक सापकोटाले बताए ।
सापकोटाका अनुसार साँघुरो तथा खाल्डाखुल्डी सडक, सवारी चाप, धेरै संख्यामा घुम्ती, तीव्रगती, मालवाहक गाडी सहचालकलाई चलायन दिनु र जेव्रा क्रसिङ नहुनु मुख्य कारण हुन् । जिल्ला ट्राफिक कार्यालयमा गजुरीमा २४ जनाको मात्र दरबन्दी छ । जिल्लामा मुख्य राजमार्ग ८६ किलोमिटर छ । मुख्य सडकबाट शाखा सडक तथा ग्रामीण सडक ४१ गाविस र एक नगरपालिकासँग जोडिएको छ । उच्च तहका अधिकारी र मन्त्रीहरुको सवारी समेत सहभागी हुनुपर्ने भएका कारण चाहेर पनि आटे जति काम गर्न सकिएको छैन । राजधानीसँग जोडिएको जिल्ला भएका कारण पनि बिदाको दिन सवारी चाप अत्यधिक हुन्छ । बिदाकै दिन सवारी दुर्घटना बढी हुने गरेको छ । ट्राफिक दरबन्दी संख्या थप हुने हो भने सवारी चेक जाँच चुस्तदुस्त भई सवारी र्दुघटना न्यूनीकरण गर्न मद्धत पुग्नुका साथै राजस्वसमेत वृद्धि हुन सक्ने प्रहरी निरीक्षक सापकोटाको भनाइ छ ।
एम्बुलेन्स चालकले समेत मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउने गरेको तथ्य भेटिने गरेकोले मादक पदार्थ सेवन गरेर गाडी चलाउने प्रवृति चालकहरुबाट रोकिनु पर्ने ट्राफिक प्रहरीको सुझाव छ । चालकलाई काबवाही गरेर मात्र दुर्घटना न्यूनीकरण हुदैन । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियम उल्लेख गरिएको पम्प्लेट चालक, सहचालक, विद्यार्थी र सर्वसाधरणलाई वितरण गरेको छ । राजमार्गहरु विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक बोर्डहरु राखिएको छ । बढी सवारी दुर्घटना हुने स्थानहरुमा परानो मोटरसाइकलको अवषेश बनाइ दुर्घटनाग्रस्त क्षेत्र सावधान लेखेर सचेत गराइएको प्रहरी निरीक्षक सापकोटा बताउँछन् ।
आर्थिक वर्ष २०७२÷०७३ मा ९० वटा सडक दुर्घटनामा भएको थियो । ती दुर्घटनामा ६५ वटा ट्रक÷टेलर, ३३ वटा बस, १२ वटा जीप कार भ्यान, ३४ वटा मोटरसाइकल र ५ वटा अन्य साधन भएको थियो । सवारी दुर्घटनामा ५० पुरुष, ९ जना महिला र २ जना बालबालिकाले ज्यान गुमाए । सवारी दुर्घटनामा ७१ पुरुष, ३० महिला र १२ जना बालबालिका सख्त घाइते भए भने सवारी दुर्घटनामा ५६ पुरुष, ३७ जना महिला र ६ जना बालबालिका सामान्य घाइते भए जिल्ला ट्राफिक कार्यालयको तत्थाङ्क छ । आर्थिक वर्ष २०७३÷०७४ साउन १ गते देखि फागुन १४ गतेसम्म ६० वटा सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएको, ५३ जना सख्त घाइते र ७१ जना सामान्य भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा ३४ हजार ९०० वटा सवारी साधनलाई कारबाही गरी एक करोड ९५ लाख ५९ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो ।
चालू आर्थिक वर्षको माघ मसान्तसम्म ३३ हजार २०० वटा सवारी साधनलाई कारबाही गरी दुई करोड ५० लाख ७५ हजार ५०० रूपयाँ राजस्व संकलन गरेको प्रहरी निरीक्षक सापकोटाले बताए । नक्कली चालक उन्मूलन गर्ने अभियानसँगै सञ्चालन गरिरहेका छौ । चालक अनुमति पत्र माथि शंका लागे रेकर्ड भिडाउन पठाउने गरेका छौ प्रहरी निरीक्षक सापकोटाले बताए ।