धादिङ जिल्लामा विपत प्रतिकार्यका लागि कार्यदलहरुको तालिम हुँदै

763 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लाका गाउँ र बस्तिहरु विपद्को समयमा प्रभावकारी प्रतिकार्यका लागि पर्याप्त पुर्वतयारी गर्ने दिशातर्फ अग्रसर देखिएका छन् । २०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भुकम्प जस्तै अर्को ठूलो विपद् आई लागेको खण्डमा विपद्बाट हुने क्षति कम गर्नका लागि खोज तथा उद्दार, प्राथमीक उपचार र क्षति तथा आवश्यकताको लेखाजोखा गर्न सक्षम जनशक्ति आवश्यक पर्दछ । अहिलेसम्म विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय, रेडक्रस र स्काउटमा मात्रै भर परिरहेकोमा पछिल्लो समय स्थानीय समुदाय भित्रै तालिम प्राप्त जनशक्ति तयार गरि विपद् पुर्वतयारीमा जुट्नु पर्ने चेतना बढ्दै गएको देखिन्छ ।
युरोपियन युनियनको आर्थिक सहयोगमा केयर नेपाल र एक्सन नेपालको साझेदारीमा सञ्चालीत प्रयास परियोजनाले जिल्लाका आगिञ्चोक, मुलपानी, बसेरी र बुढाथुम गा.वि.स.मा खोज तथा उद्दार, प्राथमीक उपचार र क्षति तथा आवश्यकताको लेखाजोखा सम्बन्धि कार्यदलहरु गठन गरि क्षमता अभिवृद्धिका लागि तालिमहरु सञ्चालन गरिरहेको छ । परियोजनाका अधिकृत कपिल सिलवालका अनुसार, हालसम्म परियोजनाको आर्थिक÷व्यवस्थापकीय र नेपाल रेडक्रस सोसाईटि धादिङ जिल्ला शाखाको प्राविधिक समन्वयमा सबै गा.वि.स.हरुमा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भईसकेको छ । त्यस्तै, बसेरी र मुलपानी गा.वि.स.मा क्षति तथा आवश्यकताको लेखाजोखा कार्यदलहरुका लागि तिनदिने तालिम सम्पन्न भईसकेको छ । अब छिट्टै ति गा.वि.स.हरुमा सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम केन्द्रको सहयोगमा पाँचदिने खोज तथा उद्दार तालिम पनि सञ्चालन हुने जानकरी सिलवालले दिए ।
यसरी कार्यदलहरु गठन गरिँदा जिल्ला दैवी प्रकोप उद्दार समितिसँग निकट समन्वयमा गर्ने गरिएको छ । यसरी समन्वयमा काम गर्दा कार्यक्रमका उपलब्धिहरु संस्थागत हुने र प्रतिफल पनि बढोत्तरी हुने अनुभव परियोजना व्यवस्थापकहरुको रहेको छ । प्रयास परियोजना अगस्ट १, २०१६ देखि सेप्टेम्बर ३१, २०१७ सम्मका लागि धादिङ, गोरखा, दोलखा र सिन्धुपाल्चोक जिल्लाहरुमा सञ्चालन भईरहेको छ । परियोजनाको विशिष्ट उद्देश्य नेपालका भूकम्प प्रभावीत क्षेत्रहरुमा स्थानिय समुदाय र संस्थाहरुको उत्थानशीलता अभिवृद्धि गर्ने रहेको छ ।