त्रिशुली नदीमा -याफ्टिङ कन्सर्ट

1092 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गायक इन्सु राईले सांगीतिक इतिहासमै नयाँ कार्यक्रम आयोजना गरी विश्व कीर्तिमान कायम गरेका छन् । उनको संस्था म्युजिक माउन्टेनियरिङ कल्चर एक्पिडिसन नेपाल(एमएमसी)को आयोजनामा फागुन २१ गते शनिबार त्रिशुली नदीमा -याफ्टिङ कन्सर्ट सफलतापूवर्क सम्पन्न भएको छ ।

म्युजिक फर टुरिजम अर्थात पर्यटनका लागि संगीत भन्ने मुल नाराका साथ आयोजना गरिएको यस कन्सर्टमा स्वयं इन्सु, चर्चित गायकगायिका धिरज राई, विजय लामा, मनिषा पोखरेल, टार्जन लिम्बु, बालकुमार श्रेष्ठ, मोडल कशिश दाहाल, डिजे विमल, नेपालको पहिलो महिला संगीतकार रेखा पाैडेललगायतले -याफ्टिङकै क्रममा प्रस्तुति दिए ।
त्रिशुली नदीअन्तर्गत फिस्लिङदेखि चरौदीसम्म झन्डै ४ किलोमिटर यात्राका क्रममा गरिएको कन्सर्ट ४६ मिनेटसम्म चलेको थियो । उक्त कन्सर्टमा ७६ जनाले दर्शकले सहभागिता जनाएका थिए ।

नदीमा -याफ्टिङसँगै कन्सर्ट दुनियाँमै पहिलोपटक भएको गायक इन्सुले दाबी गरेका छन् । उनले भने, ‘यस्तो कन्सर्ट पहिलोपटक हो, पर्यटनका लागि नेपाल सुरक्षित छ, -याफ्टिङका लागि त्रिशुली सुरक्षित छ भनेर देखाउन पनि यो कार्यक्रम गरिएको हो ।’ कार्यक्रम भव्यताकासाथ सफल भएको र मौसमको साथले सफल भएकोमा उनी एकदमै दंग थिए ।

भन्छन्, ‘स्थानीयले साथ दिनुभयो, मिडिया, टिमको साथ रह्यो, प्रायोजकले हामीलाई पत्याईदियो, मौसमले त झनै साथ थियो, यसैले कुनै नराम्रो घटना पनि भएन, एकदमै खुसी लागेको छ, इतिहास रच्न पाएँ ।’


कान्सर्टमा सहभागी जनाउन आइपुगेका दर्शकले डुंगामै नाचेर गायकगायिकालाई साथ दिएका थिए । बेलाबेला आउने स्टिपले भने सांगीतिक कार्यक्रमलाई केही अवरोध गरेपछि सबै उत्साहित हुँदै कराएका थिए । पानीका कारण बेलाबेला प्रविधिमा समस्या आएकोले कन्सर्ट केही लम्बिएको थियो ।


४५ मिनेट कन्सर्ट गर्ने घोषित कार्यक्रम अनुसार सफल भएको र अब गिनिज वल्ड रेकर्डमा नामको लागि औपचारिक कार्यक्रम केही दिनमै गर्ने इन्सुले जनाएका छन् । यसअघि इन्सुले मेरा हिमालको ६,४७० मिटर अग्लो चुचुरोमा पुगेर कन्सर्ट गरी गिनिजमा नाम लेखाउने प्रयास गरेका थिए ।


नेपाल खाद्य बैंकको मुख्य प्रायोजनमा भएको कार्यक्रमलाई नेपाल एसोसिएसन अफ -याफ्टिङ एजेन्सी, त्रिशुली बचाउँ महाअभियान, नेपाल आइस बियरलगायतले सहप्रायोजन गरेको थियो ।

-एभरेष्ट टाईम्स न्यूजबाट