शुद्ध शाकाहारी मिठाइमा आन्द्रा प्रयोग !

1173 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

mithai-2

काठमाडौं : मिठाइ भन्‍न साथ धेरैको मुख रसाउँछ । खुसीयालीको प्रतिक, सगुन वा प्रसादको रुपमा समेत प्रयोग हुने वा चढाइने मिठाइमा हुने मिसावटबारे थाहा पाउनु भयो भने तपाईँ जिब्रो टोक्नुहुनेछ । मिठाइमा मासुजन्य पदार्थको प्रयोग हुन्छ, यो सुन्दा तपाईलाई अचम्म लाग्‍न सक्छ तर यथार्थ यही हो । विभिन्न खाद्य प्रयोगशालमा गरिएको परीक्षण तथा अनुसन्धानबाट यो तथ्य पुष्टि भइसकेको छ । तपाईले मिठो मानेर खाने मिठाइको सजावटमा प्रयोग हुने चांदी र आल्मुनियमको वर्कमा आन्द्राको पनि प्रयोग हुने गरेको पाइएको छ।

यस्ता मिठाइको सेवनले तपाईको स्वास्थ्यमा गडबढी मात्र ल्याउने होइन, तपाईको ज्यान पनि जान सक्छ । बिज्ञहरूका अनुसार बासि सडेका र मिसावट भएका खुवाको प्रयोगबाट बनाइएको मिठाइ मिठो हुन्छ तर त्यो विषाक्त हुनसक्ने विज्ञहरु बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा बाणिज्य विभागले बजार अनुगमनका क्रममा यस्ता विषाक्त मिसावटयुक्त मिठाइ पसलहरुमा छापा मारिसकेको छ ।

यसका साथै नक्कली घ्यु र तेलमा तारेर अखाद्य र खाद्य रंगको प्रयोग तथा चाँदीको वर्क हालिएको रंगिचंगी स्वादिला मिठाईले पनि मानवस्वास्थ्यलाई दीर्घकालिन रूपमा हानी पुर्‍याउने बरिष्ठ खाद्य बिज्ञ डा. दिलिप सुब्बा बताउँछन् । सुब्बाका अनुसार मिठाइलाई आकर्षक बनाउन चाँदीको वर्क लगाइएको मिठाइ मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ ।

चाँदीको वर्क लागेको(मिठाइको माथिल्लो तहमा लगाइएको सेतो टल्कने जलप) मिठाई सेवन गर्न नहुने उनको सुझाव छ । चाँदीको वर्क गल्न नसक्ने भएकाले यसले मानव शरीरलाई निक्कै समस्या पार्छ । भारतको लखनउस्थित इंडियन इस्टीच्युट अफ टक्सीकोलोजी रिसर्च सेन्टर र सिमलास्थित इन्दिरा गाँधी मेडिकल कलेजको अध्ययनअनुसार आल्मुनियम सस्तो भएकाले चाँदी वर्कको स्थानमा ब्यवसायीले आल्मुनियमको प्रयोग गर्न थालेका छन् । ’यसले सिधै कलेजो र आन्द्रामा असर पार्छ,’ डा.सुब्बाले भने ।

अध्ययनअनुसार चांदी र आल्मुनियमको वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम भन्ने तत्व पाइन्छ । यस्ता मिठाईको उपभोग गर्दा क्यान्सर, कलेजो, मृगौला र घाँटी सबन्धी रोग लाग्न सक्छ । अध्ययनअनुसार चांदीको वर्क आफैमा शुद्ध र शाकाहारी हुँदैन । चांदीको पातलो च्याप्टो टुक्रा बनाउन गाईभैंसीको ताजा आन्द्राको प्रयोग गरिन्छ । आन्द्राबिना चांदी वा आल्मुनियमको बर्क बन्न नसक्ने उक्त प्रतिवेदनले ठोकुवा गरेको छ।

आन्द्रामा चांदी र आल्मुनियमको टुक्रालाई बेरेर काठको मुग्रोले पिट्ने गरिन्छ । मुग्रोले त्यतिवेलास म पिटिन्छ जबसम्म यो पातलो च्याप्टो नबनोस् । यही बर्कलाई मिठाईमा सजाएर उपभोक्तालाई बिक्रि गरिन्छ । मिठाईको मिसावट र गुणस्तरहिनता यत्तिमै सिमित छैन् । सिंथेटिक पेन्ट्समा केही दूध, युरिया, कपडा धुने पाउडर, कास्टिक सोडा, फरमालिन मिश्रण गरेर नक्कली दूधसम्म बनाउन थालिएको छ ।

नक्कली दूधबाट खुवा र पनिर बनाइन्छ । यही खुवाबाट बिभिन्न खालका बर्फि, पेडा र अन्य महंगा मिठाई तयार पारेर भिडभाडको मौका छोपेर बिक्रि गर्ने हुन्छ । खुवामा गहुँको पिठो, मैदा, आलु, कास्टिक सोडा, वनस्पति घ्यु मिसाएर गुणस्तरहिन मिठाई तयार पारिन्छ । नक्कली दूधबाट निर्मित मिठाईको सेवनबाट वान्ता हुने, मृगौला र कलेजो बिग्रने र क्यान्सर लाग्न सक्छ । छिमेकी मुलुक भारतमा अहिले नक्कली दूधबाट निर्मित मिठाई भयावह रूपमा अनुगमनको क्रममा फेला पर्न थालेको छ । नेपालमा पनि ठूला व्यवसायीहरू भारतबाट कच्चा पदार्थ आयात गरेर मिठाई तयार पारेर बिक्रि गर्दैआएका छन् ।

खाध्य बिभागकाअनुसार अनुगमनको क्रममा अहिलेसम्म मिठाई बनाउने घ्यु र मख्खनमा रांगाभैसीको बोसो मिसाइएको,म्याद नाघेको घ्यु र तेल प्रयोग गरिएको, सडेको खुवामा ताजा खुवा मिसाएर नयाँ मिठाई तयार पारेको तथा मिठाईमा खाद्य र अखाद्य रंग मिसाइएको फेला पारिएको छ । लड्डु जेरी र विभिन्न चहकिलो रंगिचंगी मिठाईमा रंग प्रयोग गरिएको हुन्छ । ‘मिठाईमा दुई सय पीपीएमसम्म खाध्य रंग मात्र मिसाउने मापदण्ड भएपनि अत्याधिक परिमाणमा मिसाइएको फेला पारेका छौं,’ खाद्य विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले भने ।

-नेपाल ताराबाट