नागढुंगाको विकल्प सीतापाइला–धार्के सडक ! दुई लेनको बनाउन सुरु

660 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Sitapaila-Dharke२६ फागुन, काठमाडौं । सरकारले अत्याधिक जाम हुने नागढुंगा–नौविसे सडकको विकल्प अघि सारेको छ । र, योजनाअनुसार काम भए ३ वर्षमै काठमाडौं भित्रिँदा र बाहिँरिदा नागढुंगाको जाम छल्ने एउटा सशक्त विकल्प तयार हुनेछ ।

सरकारले सीतापाइला–धार्के सडकलाई अढाई वर्षभित्र स्तरोन्नति गरेर दुई लेनको बनाइसक्नेछ । त्यसलगत्तै करिब ६ महिनामा सडकको सबै भागमा पीच हुनेछ ।
तर, यसले समय लिने भएकाले सरकारले वैकल्पिक बाटोलाई स्तरीय बनाउन लागेको हो । यो सडक सीतापाइला–रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्केमा जोडिन्छ ।सरकारले काठमाडौंतर्फको ५ किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकको छ । उसो त नौबिसे–सीतापाइला सुरुङ मार्ग निर्माणका लागि जापान सरकार तयार भइसकेको छ ।

२४ किमीको विकल्पमा २४ किमी नै !

अहिले धार्केबाट कलंकी पुग्न २५ किलोमिटरकै दूरी छ । दुई लेनको हुन लागेको धार्के–सीतापाइला सडक पनि कुल २४ किलोमिटरको नै हुनेछ ।

यो सडक विस्तार भएर सञ्चालनमा आएपछि नौबिसेदेखि नागढुङ्गासम्म हुने सवारीको जाम कम हुने अपेक्षा छ । यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कुवेत सरकारले तयार पारेको हो । झण्डै १५ करोड खर्चिएर डिपीआर तयार गरिएको हो ।

सडकलाई स्तरीय बनाउन झण्डै साढे २ अर्ब खर्च लाग्ने प्रतिवेदनमा उल्लेख छ । सरकारले यसअघि नै सडकको ट्रयाक तयार गरिसकेको छ । अब यो सडकलाई दुई लेनमा विस्तार गरेर सवारी आवत–जावत सहज गराइनेछ ।

दुई लेनको स्तरीय सडक बन्ने

पहिलो चरणमा सडक फराकिलो बनाउने तथा कल्भर्ट र पर्खालसहित आवश्यक पूर्वाधारहरु तयार गरिनेछ । त्यसपछि अर्को चरणमा सडक पीच गर्ने योजना छ ।

यो सडक दुई लिनेको भएपछि नौबिसे पुग्न र नौबिसेबाट काठमाडौं आउन दुईवटा विकल्प तयार हुनेछ । नागढुंगामा सानो समस्या आएपनि घण्टौं रोकिनुपर्ने बाध्यता सडक फराकिलो भएपछि रोकिने छ ।

अहिले नागढुंगाको उकालोमा एउटा सवारी बिग्रिएपनि एकोहोरो सवारी चल्दा लामो जाम खेप्नुपर्ने बाध्यता यात्रु र सवारीलाई छ । अब बन्ने दुई लेनको सडकलाई स्तरी रुपमा बनाउने गरी डिजाइन तयार भएको छ । यसमा बनइने पूर्वाधारलाई मजबुत र आधुनिक प्रविधियुक्त गरिनेछ ।

कालोपत्रे गरेपछि यो सडक काठमाडौं प्रवेशका लागि अर्को भरपर्दो विकल्पका रुपमा रहनेछ । अहिले पनि फाट्टफुट्ट रुपमा यो सडकबाट सवारीहरु आउने–जाने गरेका छन् ।

दुई डिभिजनले काम गर्दै

यो सडकलाई फराकिलो बनाउन सडक विभागले दुईवटा आफ्ना सडक डिभिजन कार्यालयलाई जिम्मेवारी दिइसकेको छ ।

धार्केबाट १४ किलोमिटरसम्मको सडक चितवन डिभिजनले निर्माणको काम गर्दैछ । काठमाडौंको सिमाना रामकोटसम्मको काम यही डिभिजनले गर्नेछ । त्यसभन्दा यता काठमाडौंंकै डिभिजनले काम गर्नेछ ।

सडकलाई दुई लेनमा विस्तार गर्न चितवन डिभिजनले टेण्डर आह्वान गरिसकेको छ । टेण्डर प्रक्रिया अहिले अन्तिम चरणमा रहेको कार्यालयका तत्कालीन प्रमुख तथा यातायात मन्त्रालयका सहिसचिव सुशीलबाबु भट्टराईले जानकारी दिए ।

उनले यो सडक खुलेपछि काठमाडौं भित्रिन र यहाँबाट बाहिरन नागढुंगामा भोग्नुपर्ने जामको सास्ती हट्ने दाबी गरे । चितवन डिभिजनलाई सरकारले १४ किलोमिटर खण्ड विस्तारका लागि झण्डै २५ करोड रुपैयाँ दिएको छ ।

काठमाडौंतर्फ काम हुँदै

काठमाडौंतर्फको सडक फराकिलो पार्ने जिम्मा भने काठमाडौं सडक डिभिजन–२ ले पाएको छ । माथिल्लो १० किलोमिटर सडक खण्डको टेण्डर प्रक्रिया अघि बढाइसकेको काठमाडौं डिभिजन २ कार्यालयका प्रमुख देबकुमार तामाङले जानकारी दिए ।

‘हामी सडकको स्टिमेट तयार गर्दैछौं । केही दिनमै टेण्डर निस्किन्छ,’ तामाङले भने, ‘९ करोड ९६ लाख रुपैयाँ बजेट छुट्टिएर आएको छ । अर्को वर्षमा आउने बजेटलाई पनि समेट्ने गरी टेण्डर निकाल्ने योजना छ ।’

अहिले सीतापाइलाबाट ५ किलोमिटरसम्मको सडक विस्तारको काम पनि भइरहेको उनले बताए । अब रामकोटसम्म ५ किलोमिटरको काम पनि अघि बढाउने तयारी छ ।

उनले सडकको कालोपत्रेको काम पनि अहिलेकै टेण्डरमार्फत गरिने बताए । बाटो फराकिलो भएपछि ठूला–साना सबै प्रकारका गाडी चलाउन सकिने छ ।

-अनलाइन खबर बाट