धादिङको सलाङ होमस्टेः जाँदा सगुन, फर्कदा बाटोखाजा

980 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

homesss

 धादिङ । नेपालमा होमस्टे सञ्चालन गर्नेहरुको बढ्दो संख्यासँगै उनीहरुले फरक विशेषताहरु पनि ल्याउँदैछन् । प्राकृतिक, साँस्कृतिक र धार्मिक हिसाबले महत्व राख्ने धेरै गाउँमा सञ्चालित होमस्टेहरुले फरक विशेषता समेत बोक्दा त्यहाँ जान पर्यटकहरु बढि लालायित हुन्छन् ।
यस्तै एउटा होमस्टे हो धादिङ जिल्लाको सलाङ गाविसमा रहेको सलाङ होमस्टे । मगर समुदायको बाक्लो बस्ती रहेको सो ठाउँमा पर्यटक पुगेपछि सगुन खुवाइन्छ भने फर्कने वेला बाटोखाजा समेत राखिदिने गरिन्छ । सगनुमा उनीहरुले खसीको भुटनसहित सेल, अण्डा, गुन्द्रुकको अचार र रक्सी दिन्छन् भने फर्कने बेला बाटो खाजाका रुपमा सालको पातमा नाता लाएर मकै, भटमास, गुन्द्रुकको अचार आदि परिकार राखिदिन्छन् ।
गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ)ले आयोजना गरेको नलाङ/सलाङ अवलोकन तथा प्रबद्र्धन कार्यक्रममा पुगेका पर्यटकहरुका लागि पनि सलाङवासीहरुले यस्तै आतिथ्य सत्कार गरेर लोभ्याएका छन् । हरेक वर्ष गाउँ प्रबद्र्धनका फरक अभियान चाल्दै आएको भिटोफले सोही ठाउँमा २०७२ बैशाख ११ र १२ गते पनि कार्यक्रमको आयोजना गरेको थियो । तर, विनासकारी भूकम्पले सो कार्यक्रम प्रभावित गरेका कारण यस पटक गरिएको भिटोफका अध्यक्ष कमल सापकोटाको भनाइ छ । उनले वर्षमा दुई÷चार वटा गाउँको प्रबद्र्धन गर्ने अभियान स्वरुप सो कार्यक्रम गरिएको बताए ।

homest
कार्यक्रममा पुगेकाहरुलाई सलाङवासीले पन्चेबाजासहित भव्य स्वागत गरेका थिए । त्यसपछि उनीहरु सिद्धलेक हाइकिङ गएका थिए । जहाँ शिवरात्रिको अवसरमा लाग्ने भव्य मेला चलिरहेको थियो । नेकपा माओवादी (केन्द्र) पर्यटन विभागका प्रमुख लोकेन्द्र विष्ट मगर, टानका अध्यक्ष चन्द्र रिजा, गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेज गुरुङ, भिटोफका सल्लाहकार डा. प्रेम शर्मासहितका टोलीलाई गाउँलेले पन्चेबाजासहित सिद्धलेक घुमाएर गाउँ फर्काएका थिए । होमस्टेमा फर्केपछि सामुहिक खाना खाएर पाहुनालाई राति अबेरसम्म विभिन्न साँस्कृतिक कार्यक्रम देखाएका थिए । उनीहरुले सोरठी, चुड्का, कौरा नाच र लोकदोहारी गाएर÷नाचेर भरपूर मनोरन्ज दिलाए । मगर गाउँको विशेषता भनेकै साँस्कृतिक पक्ष रहेको कार्यक्रममा सहभागी भिटोफ नेपालका प्रथम उपाध्यक्ष राम घलेले बताए । उनले यही सँस्कृतिको प्रबद्र्धन, बजारीकरण गर्न भिटोफले यस ठाउँमा कार्यक्रम गरेको बताए ।
भोलीपल्ट विहान हाइकिङ गर्दै आमकोट पुगेर औपचारिक कार्यक्रम गर्दै कार्यक्रम समापन गरिएको थियो । सोही ठाउँबाट स्थानीयले पुनः बाजागाजासहित बाटोखाजा दिएर विदाइ गरेका थिए ।

प्याकेज बनाउने तयारी

home3
अवलोकन कार्यक्रम सके लगत्तै भिटोफ नेपालले प्याकेज बनाउनको लागि विभिन्न व्यवसायीक कम्पनीहरुलाई आग्रह गर्ने भएको छ । महासचिव वासु पाण्डेले पर्यटन अभियानलाई प्रतिकृया दिदै भिटोफले प्रबद्र्धन र बजारीकरणको काम गर्ने भएकोले अब प्याकेज बनाउने र पर्यटक पठाउनको लागि व्यवसायीलाई नै आग्रह गरिने बताए । उनले सलाङ र नलाङ दुबैलाई एकै ठाउँमा राखेर प्याकेज बनाउनु पर्ने सुझाए । त्यसको लागि १ रात र २ रात दुबैको प्याकेज बनाउन सकिन्छ । पाण्डे भन्छन् – ‘आउने÷जाने बाहेक ३ हजारको प्याकेज बनाउँदा राम्रो ।’ धेरै पर्यटकीय ठाउँ प्रदुषणले ग्रस्त हुँदा धादिङको सलाङले छुट्टै महत्व राख्छ ।

सिद्धलेकमा शिवरात्रि मेला

hom
नलाङ गाविस वडा नं. १ र सलाङ गाविस वडा नं. ४ को बीचमा अवस्थित छ सिद्धलेक । यो ठाउँ धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ । सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्छ । यस वर्ष भिटोफ नेपालले आयोजना गरेको पदयात्रा कार्यक्रममा गएकाहरु सबै सो मेलामा सहभागी भए । मेलाको रौनकता र विशेषता देखेर अधिकांश पाहुनाहरु लोभिए । यहाँ थुप्रै आन्तरिक पर्यटकहरु घुम्नका लागि पुग्ने गर्छन् ।

आहा ! मनै लोभ्यायो

homestayaa
सलाङ पुगेका आन्तरिक पर्यटकहरु त्यहाँबाट देखिने दृश्यबाट नलोभिएका कोही भएनन् । सलाङको डाँडाबाट देखिने गणेश, लाङटाङ, मनास्लुका हिमशृंखला, धादिङ सदरमुकामको मनोरम दृश्य, त्रिशूली, बूढी गण्डकी नदी, आँखुखोला, पहाडका परेली र जिल्लाका सबै गाविसका दृश्य एकै नजरमा पान गर्न पाए उनीहरुले । भिटोफका मिडिया संयोजक दीपक दाहालले सनसेट र सनराइजको दृश्यावलोकनका लागि समेत सो ठाउँ उपयुक्त रहेको बताए । सलाङका धेरै विशेषता मध्ये दृश्यावलोकन एक रहेको उनको भनाइ छ पर्यटनन्यूजमा खबर छ ।

homestayhome3home5home1