एसइईको तयारी पूरा, धादिङमा ६ हजार ९ सय परीक्षार्थी

916 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – देशभर चैत ३ गते बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ ।

“यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ”-
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

परीक्षामा देशभरबाट दुईलाख ५९ हजार सातसय ३२ छात्र र दुईलाख ७८ हजार चारसय ५० छात्रा गरी कुल पाँचलाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभर कुल एकहजार नौसय २३ केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, एकहजार नौसय २३ केन्द्राध्यक्ष, दुईहजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चारसय ६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार पाँचसय ९१ जनशक्ति खटाइएको नियन्त्रक रेग्मीले जानकारी दिए ।
परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ३ गते अनिवार्य अङ्ग्रेजी, ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षा साधारणतर्फ चैत ११ गते र प्राविधिकतर्फ चैत १४ गते सम्पन्न हुनेछ ।

माध्यमिक शिक्षा परीक्षामा (विगतको एसएलसी) धादिङ जिल्लाबाट ६ हजार ९ सय २ विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।

नियमिततर्फ ६ हजार ५ सय ९, एक्जेम्टेडतर्फ १ सय १५ र आंशिकतर्फ १ सय ८९ जनाले परिक्षा फारम भरेको जिल्ला शिक्षा कार्यालय धादिङका शाखा अधिकृत दुर्गाप्रसाद सिलवालले जानकारी दिए । त्यस्तै प्राविधिकतर्फ ६९ जना विद्यार्थीले परीक्षा दिने बताइएको छ ।

जिल्लाभर २६ वटा केन्द्राध्यक्ष, ३४ जना सहायक केन्द्राध्यक्ष, २ सय ९२ जना निरीक्षक ७८ जना सहायक कर्मचारी तथा ३ सय ९० जना सुरक्षाकर्मी खटिने पनि कार्यलयले जनाएको छ । यस वर्ष सिद्देश्वर उमावि नलाङ, सुनखानी मावि चैनपुर, जनजागृति उमावि थाक्र्रे, गणेशकुण्ड उमावि दार्खा र  त्रिपूरासुन्दरी उमावि सल्यानकोट परीक्षा केन्द्र तोकिएको छ  ।

परीक्षाका लागि यस वर्ष महेशधर्म मावि जीवनपुर, मच्छिन्द्र मावि खानीखोला, जनजागृति मावि थाक्र्रे, महाकाली मावि सिम्ले, बागेश्वरी मावि बैरेनी, जनकल्याण मावि बैरेनी मासटार, आदर्श मावि गजुरी निर्धारण गरिएको छ ।

त्यस्तै बागेश्वरी मावि रिचोकटार, चन्द्रोदय मावि विशालटार, मिन्दुका मावि नलाङ, देउराली मावि ससाह, नीलकण्ठ मावि धादिङबेसी, शमिभन्ज्याङ मावि मैदी, संस्कृत तथा साधारण मावि मैदी, रानीपौवा मावि सल्यानटार, अचने मावि खहरे, बद्रीविशाल मावि बुढाथुम रहेको छ ।

त्यसैगरी मण्डली मावि फूलखर्क, धादिङ आवसीय मावि धादिङबेसी, महेन्द्रबाराही उमावि कटुञ्जे, बच्छलादेवी उमावि सत्यदेवी, चिल्ड्रेनपार्क मा वि धादिङबेसी, बालमन्दिर मावि धादिङबेसी, सुनखानी मावि चैनपुर, सिद्धेश्वर मावि नलाङ र तामाङखर्क उमावि गुम्दी  रहेको छ ।

परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । नेपालमा वि.स. १९९० सालदेखिको लामो इतिहास रहेको एसएलसी परीक्षा यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (इस.इ.इ) का नाममा हुँदैछ ।

विगतका वर्षमा एसएलसी परीक्षाका रुपमा लिइँदै आएको यो परीक्षा नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख गरे पनि तयारी नपुगेको भन्दै यस वर्ष अन्तिम पटकका लागि परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन गर्न दिएको हो ।

परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तर पुस्तिका र अन्य सामग्री सबै जिल्ला जिल्लामा पुर्याई सकिएको जानकारी दिँदै परीक्षा नियन्त्रक रेग्मीले परीक्षाका लागि प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने बताए । उनले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सहयोग गर्न पनि सबैसँग आग्रह गरे ।

परीक्षालाई मर्यादित बनाउन तीन तहका सुरक्षा निकाय तैनाथ हुने भएका छन् । परीक्षा अनुगमनका निम्ति मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन टोली खटाएको छ ।

त्यसैगरी, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिको संयुक्त अनुगमन टोली पनि खटिनेछन् । परीक्षामा अमर्यादित काम गर्ने एवम् गराउनेलाई कडा कारबाही गरिने जनाइएको छ ।