प्रहरीबाटै अपहरण र फिरौती असुली, सईसहित चारजना पक्राउ

492 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं,-प्रहरीले नै म्यानपावर व्यवसायीलाई अपहरण गरी फिरौती लिएको खुलेको छ । व्यवसायीलाई अपहरण गरी फिरौती लिएको अभियोगमा प्रहरी नायब निरीक्षक (सई) सहित चारजना पक्राउ परेका छन् ।  महानगरीय अपराध महाशाखाको टोलीले सईद्वय सम्बत तामाङ र सूर्यबहादुर थापा तथा राजकुमार गुरुङ र अर्जुनकुमार लामालाई अपहरण गरी रकम लिएको अभियोगमा पक्राउ गरेको हो ।

सईद्वयले म्यानपावर व्यवसायी बद्री राईलाई गत १ माघमा अपहरण गरेर फिरौती असुल गरेको खुलेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश अमात्यले बताए । ‘दुई महिनाअघिको घटनाको अनुसन्धान गर्दा हाम्रै प्रहरी पनि संलग्न रहेको खुलेपछि दुवैलाई पक्राउ गरिएको हो, थप अनुसन्धान भइरहेको छ,’ एसएसपी अमात्यले भने ।

दुवैजना सईले काभ्रेका अर्जुनकुमार लामा र नवलपरासीका राजकुमार गुरुङसँग मिलेर अपहरण गरेको खुलेको छ । फिरौती बुझाएपछि राईले अपराध महाशाखामा उजुरी गरेका थिए । राजकुमार गुरुङसहितका व्यक्तिले धुम्बाराहीमा म्यानपावरसम्बन्धी व्यवसाय गर्दै आएका धनकुटा छिन्ताङ–५ का बद्री राईलाई गत १ माघमा कोटेश्वरमा बोलाई अपहरण गरेका थिए । जबर्जस्ती अपहरण गरी सिनामंगलस्थित बाजेको सेकुवा कर्नर रहेको घरको कोठामा लगी बन्धक बनाएर डर त्रासमा पारी राईको साथमा रहेको नगद लुटेका थिए । उनीहरूले राईको साथबाट २ लाख ३० हजार लुट्नुका साथै नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको दुई–दुईवटा गरी चारवटा चेकमा २५ लाखका दरले १ करोडको चेकमा हस्ताक्षर गराएका थिए । प्रहरी नायब निरीक्षक तामाङ, गुरुङ र धीरज गुरुङसमेतको नाममा ती चेक काट्नुका साथै उनीहरूले ल्याएको तमसुक कागजमा पीडितबाट सहीछाप गराई अपहरणमुक्त गरेका थिए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अवैध रूपमा ल्याइएको सुन लुटिएको र त्यसमा म्यानपावर सञ्चालक राईनिकट फुर्पा शेर्पाको हात रहेको सूचनाका आधारमा सईद्वयले भागबन्डा मिलाउन राईलाई अपहरण गरेको हुन सक्ने देखिएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) अजय केसीका अनुसार अपहरणकारीहरूले सुन लुटेरा शेर्पालाई भेटेपछि ५÷५ किलो सुन पाउने आश्वासनमा राईलाई अपहरण गरेका थिए । व्यवसायी राईलाई उनीहरूले सोबराबरको कागजसमेत गराएर छाडेका थिए ।

आफूहरू केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी भएकाले सुन ल्याउन फूर्वा शेर्पालाई लुकाएको, त्यो नल्याउन्जेल नछाड्ने बताएपछि राईले बाध्य भएर आफूसँग भएको नगद र नबिल तथा राष्ट्रिय वाणिज्य बैंकको चेक दिएर उम्केका थिए ।

धुम्बाराहीमा टाइगर ओभरसिज म्यानपावर सञ्चालन गर्दै आएका राईलाई सम्बत तामाङ र अर्का एक व्यक्तिले फोन गरी कोटेश्वरमा बोलाएका थिए । त्यसपछि उनीहरूले मोटरसाइकलमा चढाएर राईलाई एयरपोर्टस्थित बाजेको सेकुवा कर्नरमा लगेर ६ घण्टा बन्धक बनाएका थिए ।

डीएसपी केसीका अनुसार सो घटना हँुदा तामाङ अपराध महाशाखाबाट गौशालामा खटिएका थिए भने थापा गौशाला वृत्तकै सादा पोसाकको प्रहरीका रूपमा कार्यरत थिए ।

उनीहरूलाई शेर्पाले सुन ल्याएको र सोे सुन लुट्नुपर्छ भनेर खबर गर्ने त्रिभुवन विमानस्थलका ट्याक्सीचालक राजकुमार गुरुङ अनि काभ्रेका अर्जुनकुमार लामा हुन् । गुरुङले सो सुन ल्याउने शेर्पा बद्री राईको आफन्त भएकाले उनले नै लुकाएका कारण राईलाई अपहरण गरी फिरौती रकम असुल्ने योजना बनाएका थिए । ‘दुवै प्रहरी सादा पोसाकमा रहेका र उनीहरूले हतकडी र हतियारको दुरुपयोग गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न डीएसपी अजय केसीले भने, ‘अपहरण गर्ने चारैजनाले ५÷५ किलो सुन बाँड्ने उद्देश्यसहित अपहरण गरेका हुन् ।’ उनका अनुसार राजकुमार गुरुङ फस्नेजस्तो देखिएपछि भारत जान लागेको अवस्थामा पक्राउ गरिएको थियो भने सूर्यबहादुर थापालाई हेटौंडाबाट बिहीबार मात्रै काठमाडौं ल्याइएको हो । ‘अपहरणकारीसँग मिल्ने प्रहरीले अपराधबाट उन्मुक्ति पाउँदैन । त्यसैले,  प्रहरीलाई पनि पक्राउ गरेर थुनामा राखेका छौं,’ एसएसपी अमात्यले भने, ‘गुन्डासँग मिलेमतो गर्ने, अपहरण गर्ने तथा धम्क्याएर असुल उपर गर्नेलाई कानुनी दायरामा ल्याइन्छ ।’

राजकुमार गुरुङलाई महाशाखाले पछिल्लोपटक गुन्डागर्दीमा संलग्न हुने सूचीमा राखेको छ । उनले विदेश पठाउने भन्दै आफ्नो कन्सल्टेन्सी पनि खोलेका छन् । गुरुङले पछिल्लोपटक एयरपोर्टमै टयाक्सी सञ्चालन गर्दै आएका छन् । शेर्पाले सुन ल्याएको कुरा सुरुमा काभ्रेका अर्जुनकुमार लामाले गुरुङलाई खबर गरेका थिए । गुरुङले सम्बत तामाङ र सूर्यबहादुर थापालाई सुनाएपछि चारैजना भएर सो सुन लुट्ने योजना बनाएको महाशाखाले जनाएको राजधानी दैनिकमा खबर छ ।