मुग्लिङ–नारायणगढ सडक निर्माण सुस्त, तोकिएको समयमा नबन्ने

772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Muglinकाठमाडौं : २०७४ वैशाखमा काम सम्पन्न गरेर बुझाउने गरी २०७१ वैशाखमा सम्झौता भएको मुग्लिङ नारायणगढ सडकको काम कछुवा गतिमा भइरहेको छ । श्रेष्ठ, लामा र रौतहट कन्ट्रक्सन कम्पनीले सम्झौता गरी शुरु भएको सडक निर्माण कार्य पचास प्रतिशत पनि सम्पन्न भएको छैन । निर्माणका लागि आवश्यक मजदुर जनशक्ति प्रर्याप्त मात्रामा नराखेका कारण निर्माण कार्यमा ढिलाई भएको हो ।

२०७४ बैशाखमा बुझाउनु पर्ने सडक निर्माण कम्पनीको ढिलापनको कारण सरकारले २०७४ मंसिरसम्म बुझाउन म्याद थप गरिदिएको छ । अहिले सडक निर्माणको अवस्थालाई हेर्दा मंसिरमा पनि सम्पन्न नहुने देखिन्छ । मुग्लिङ, नारायणगढ सडक निर्माण आयोजनाका सूचना अधिकारी एवं इन्जिनीयर शिव खनालले थपिएको म्यादमा सम्पन्न हुने बताए पनि दुई वर्षसम्म मुस्किलले पचास प्रतिशत काम गर्ने तीनवटा निर्माण कम्पनीले अबको आठ महिनामा सम्पन्न गर्लान भन्ने कुरा हाँस्यास्पद छ ।

तीनवटा निर्माण कम्पनीलाई फरक फरक खण्ड बनाएर निर्माणको जिम्मा लगाइएको छ । दासढुङ्गा क्षेत्रमा निर्माण कार्य द्रुर्त गतिले भएको बताइए पनि कविलास गाविसकै घुमौनीघाटमा अत्यन्तै सुस्त गतिले काम भइरहेको छ । पर्यटकीय नगरी पोखरा र मुलुकको राजधानी काठमाडौंलाई जोड्ने मूख्य मार्गबाट दैनिक कम्तीमा १० हजार यात्रु ओहोर दोहोर गर्छन् । चैत्र १७ गते राजधानी जान २ बजे नारायणगढ पुगेका नवलपरासी त्रिवेणीका रामचन्द्र ज्ञवाली साँझ साढे ६ बजे मात्रै मुग्लिङ पुगेका थिए ।

वैकल्पिक व्यवस्था नगरी बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म निर्माण कम्पनीलाई काम गर्न सहज बनाइदिन पूर्ण रुपमा सडकमा यातायात आगमनमा रोक लागाइएको छ । चैतको चर्को गर्मीमा हजारौं यात्रुहरु चितवनको मुग्लिङ र रामनगरमा पसिना काढेर बस्न बाध्य भएका छन् । यात्रुले जति कष्टकर यात्रा गर्नुपरेको छ सडकका छेउछाउमा रहेका सर्वसाधरण धुलोको कारण विरामी परिरहेका छन् ।

६ घण्टे जाममा सर्वसाधारण यात्रु मात्र नभएर बिरामी बोक्ने एम्बुलेन्सलाई समेत आगमनमा रोक लगाइएको छ । १७ गते घुमौनीघाटमा ४ वटा बिरामी पुर्याएर फर्किएका र एउटा बिरामी लिएर काठमाडौं हिँडेको एम्बुलेन्सलाई झण्डै साढे दुई घण्टा रोकेर साँझ साढे चार बजे छाडिएको थियो ।

घुमौनीघाटकी होटल व्यवसायी तुल्सा मगरले सुस्त गतिको निर्माणले धुलो उडेर कैयाैँ पटक बच्चा बिरामी परेको दुखेसो पोखिन् । २ अर्ब ९० करोडको लागतमा ३३ किलो मिटर सडक निर्माण भइरहेको छ ।

चितवन जिल्ला सडक कार्यालका प्रमुख चन्द्रनारायण यादवका अनुसार पहिलो मजदुरले गर्नुपर्ने मसिना काम भएकोले निर्माणमा ढिलाई भएको बताए । ‘अहिलेसम्म पर्खाल लगाउनेदेखि मसिना काम भए अब मेसिनले गर्ने काम यूद्ध स्तरमा हुन्छ’ यादवले भने ।

मंसिरसम्म निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि २०७५ बैशाखसम्म पूरा भए खुशी मनाउनु पर्ने निर्माण कार्यमा जुटेका एक सुपरभाइजरले  बताए ।

-नेपाल तारा