कृषक लक्षित बजेट कर्मचारीको गोजीमा, किसानको किर्ते हस्ताक्षर गर्दै पैसा लिंदै

2271 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

bharastachar (6)धादिङ, – २२ वटा कुखुराको चल्ला लिएका किसानको खोरमा सरदर १५ वटा बाँकी छन् । किसानको किर्ते हस्ताक्षर गरी पशु सेवा कार्यालयका कर्मचारीले फर्जी बिल पेश गरेर रकम बुझे । तर किसानले न कुखुरापालन तालिम पाए, न त दाना, औषधि र भ्याक्सिन नै । आर्थिक वर्ष २०७३/७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अण्डामा आत्मनिर्भर पारिवारिक पोषण सुरक्षाका लागि ग्रामिण कुखुरा प्रवद्र्धन कार्यक्रम अन्तर्गत धादिङको १० वटा कृषक समूहका दुई सय कृषकलाई कुखुराको चल्ला वितरण गरिएको थियो ।

यो कार्यक्रमका लागि कार्यालयले किसानलाई चल्लासँगै, दाना, खोप र औषधि अनि कुखुरा पालनको तालिम दिएको भनेर रकम निकासा गरेको छ । तर किसानले कुखुराका चल्ला र केहिले तालिम भत्ता बाहेक अरु केहि पाएका छैनन् । नीलकण्ठ–९ धादिङकी सीता विकले कुखुराको चल्ला जोगाउन उपचार र दानापानीमा झण्डै ९ हजार रुपैयाँ खर्च गरिसक्नु भएको छ । ‘खोर बनाउन ६ हजार रुपैयाँ पाएका थियौ तर १२ हजार रुपैयाँ खर्च भयो । चल्ला पनि २४ वटा पाए पनि रोग लागेर मर्न थाले । खोरमा १७/१८ वटा चल्लाहरु मात्र बाँकी छन्’ उहाँ भन्नुहुन्छ, बिक्री गर्ने बेलासम्म एउटै बाँच्दैन होला । कमाउने त आश मात्रै होला जस्तो छ । खर्च मात्र हुने भयो ।’ सीता विकले यसरी गुनासो गरिरहँदा जिल्ला पशु सेवा कार्यालय धादिङका नायव पशु स्वास्थ्य प्राविधिक कृष्णप्रसाद कोइरालाले भने सीताकै हस्ताक्षर रहेको सम्झौता पत्र पेश गरेर कार्यालयबाट रकम लिनुभयो । सम्झौतापत्र अनुसार कुखुराको दाना, औषधि तथा भ्याक्सिन आफ्ना समूहका सदस्यहरुलाई समान रुपमा निशुल्क बुझाउने भनेर सीताले लगेको देखिन्छ । तर सीता विकले यस कार्यक्रम अन्तर्गत चल्लासँगै दाना, औषधि, भ्याक्सिन तथा तालिम पाउनु त परैको कुरा यी कुरा पनि पाइन्छ भन्ने जानकारीसमेत छैन । प्राविधिक कृष्णप्रसाद कोइरालाले सीता विकले तीन सय ४० केजी २ नम्बरको दाना, रानीखेत खोप, गम्बारो खोप, पिपराजिन, एप्रोल लिएको भन्दै किर्ते सहिछाप गरी पेश गरेका छन् । पशु सेवा कार्यालयम सीताले दाना खोप लिएको बिल पेश भए पनि उहाँले एक गेडा दान र एउटा पनि खोप पाउनु भएको छैन ।कतिपय किसानलाई त चल्लासँगै दाना, रोगहरु विरुद्ध लगाइने खोप, औषधि तथा तालिम दिन्छ भन्ने नै थाहा छैन । थाहा पाएकाले सोध्दा पनि कार्यक्रममा छैन भन्ने जवाफ पाए ।नीलकण्ठ नगरपालिका–२ धादिङकी फुलमाया सुनारले पनि कुखुराको चल्ला र खोर बनाउन ६ हजार रुपैयाँ पाउनुभएको थियो । उहाँको पनि दिनप्रतिदिन चल्ला मर्न थालेको छ । उपचार गर्दा गर्दा ऋण लागि सक्यो तर बेच्ने बेलसम्म खोरमा कुखुरा हुन्छ हुन्न थाहा छैन । सुनार भन्नुहुन्छ ‘तालिम दिन्छ रे भनेको सुनेको थिएँ । तर अहिले साथीहरुले तालिम होइन भत्ता चाहिँ पाए रे भन्ने सुनेको छु ।’ नीलकण्ठ–२ धादिङका मिठु विक र संगिता विकले पनि कुखुराको चल्ला पाउनु भएको छ । तर बचाउन भने सक्नु भएको छैन । कुखुरालाई भ्याक्सिन नगरेको कारण हो या चल्ला गुणस्तरहिन हो किसानले हुर्काउन सकेका छैनन् । तालिम दिन्छ रे भन्ने सुनेका उनीहरुले अहिलेसम्म तालिम पाएका छैनन् । तर कुखुरा मर्न थालेपछि पशु सेवा कार्यालयमा बुझ्न आइपुग्दा मिठु विक र संगिता विकले ८/८ सय रुपैयाँ भत्ता चाहिँ हात पार्नुभएको छ ।

कुखुराको चल्ला गुणस्तरहिन भएको किसानहरु बताउँछन् । कुखुरा वितरण गर्दापनि २५/२५ वटा भनेर २२/२३ वटा मात्र दिएको किसानहरुको गुनासो छ । किसानले चल्लाका दाना, औषधि, भ्याक्सिन तथा तालिम नपाएको गुनासो गरिरहँदा कोइरालाले कार्यालयमा पेश गरेको विललाई पशु सेवा कार्यालय धादिङका प्रमुख देवेन्द्र भगतले भने पास गर्नुभएको छ ।डिस्पेन्सरी फाँटकोसमेत काम गर्ने गरी कृत्रिम गर्भाधानको जिम्मेवारी तथा उपचार सेवा, ल्याव सम्बन्धी, खोप व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न २०७ कात्तिक ९ गते क्षेत्रीय पशु सेवा निर्देशनालय हरिहर भवन, ललितपुरले नायव पशु स्वास्थ्य प्राविधिक घुरन मण्डललाई जिम्मेवारी तोकेको थियो । साथै पशु विकास सेवा आहार कार्यक्रम खर्क नीतिमा आधारित पशु आहार कार्यक्रम, एकल महिला, दलित, जनजाति कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारीसमेत तोकिएको थियो । तर पशु सेवा कार्यालय धादिङका प्रमुख देवेन्द्र भगतले आर्थिक वर्ष २०७३/७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अण्डामा आत्मनिर्भर पारिवारिक पोषण सुरक्षाका लागि ग्रामिण कुखुरा प्रवद्र्धन कार्यक्रम नायव पशु स्वास्थ्य प्राविधिक कृष्णप्रसाद कोइरालालाई दिनुभएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ को पशु नश्ल सुधार राष्ट्रिय अभियान कार्यक्रम पनि प्रमुख भगतको निर्देशन अनुसार पशु स्वास्थ्य प्राविधिक पुण्यवती खकुरेलले गर्दै आउनुभएको छ ।

प्रमुख भगत यसअघि पनि एक गाउँ विकास समितिमा एकजना प्राविधिक व्यवस्थापन गर्ने कार्यक्रम अन्तर्गत नतिजा प्रकाशन गर्ने क्रममा विवादमा मुछिएका थिए । कार्यालयले पहिले ११ जनाको नाम प्रकाशन गरे लगत्तै नौविसे–१ धादिङकी जमुना पनेरुको नाम थपी १२ जनाको नाम प्रकाशन गरेपछि विवादमा पर्नुभएको थियो ।  ग्रामिण कुखुरा प्रवद्र्धन कार्यक्रम अन्तर्गत किसानले तालिम नपाएको र खोप तथा दाना पनि नपाएको बारेमा प्रतिक्रिया लिन खोज्दा भगतले कुखुरा पालनमा समस्या आएमा किसानलाई पछि तालिम दिइने बताउनुभयो । जब कि उचित ज्ञानको अभावमा चल्ला लैजाने किसानकोमा अधिकांश चल्ला मरिसकेका छन् । दाना तथा खोप नदिई कार्यालयबाट रकम निकास गरेको बारेमा भने भगतले किसानलाई दाना तथा खोप दिन बजेट नै नभएको बताउनुभयो । जब कि किसानलाई दाना तथा खोप दिइएको भर्पाई समेत कार्यालयमा पेश भइसकेको छ । तर किसानले दाना र खोप नै पाएका छैनन् ।

-अर्जुन श्रेष्ठ / उज्यालो अनलाइन