गाउँ पालिका स्थापना पछि के होला ? सदरमुकामको दैनिकी

1754 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी
    dhadingbesi

धादिङबेसी -सदरमुकामबाट पाउने सरकारी सेवा सुविधा अव गाउँमै पाउने भएपछि आम नागरिकमा खुसीयाली छाउन थालेको छ । सामान्य कामका लागि पनि सदरमुकाममै पुग्नु पर्ने र एकै दिनमा काम नहुंदा खर्च बढ्ने समस्याले आम सर्वसाधरणलाई सदरमुकामबाट सरकारी सेवा लिन महंगो पर्ने गरेकोमा अब त्यो झण्झटबाट सर्वसाधरणले राहत पाउने भएका छन ।
सदरमुकामको सरकारी कार्यालय गाउँमै स्थापना हुने खबरले गाउँवासी जति खुसी देखिएका छन सदरमुकामका वासिन्दालाई भने अर्को पिरलो शुरु भएको छ । अव के होला ? नयाँ संरचना अनुसार सदरमुकाममा आउने मानिसहरुको चाप घट्दै जांदा यहाँको व्यापार व्यवसाय र दैनिकीमा कस्तो असर पर्ला भन्ने वहस पनि शुरु भएको छ ।
धादिङको ग्रामिण क्षेत्रमा जग्गाको मूल्य बढ्न थालेको छ । जिल्लामा सडक सञ्जालको विस्तार संगै स्थानीय निकायको नयाँ संरचना कायम भई गाउँ पालिकाको केन्द्र गाउँमै तोकिएपछि केन्द्र तोकिएका स्थानहरुमा जग्गाको मुल्य बढ्न थालेको हो ।
यस अघि ४६ गाविस र १ नगरपालिका रहेको धादिङ जिल्लामा नयाँ संरचना अनुसार धादिङ जिल्लामा अव दुई नगरपालिका र ११ गाउँ पालिका रहनेछन । जिल्ला सदरमुकामबाट प्रवाह हुंदै आएका अधिकांश सरकारी कार्यालयको सेवा सुविधा गाउँ पालिकाको केन्द्र तोकिएका स्थानबाट प्रवाह हुने भएपछि सदरमुकाममा रहेका सम्वन्धित गाउँ पालिकाका वासिन्दाहरुको ध्यान गाउँ तिरै पर्न थालेको छ ।
धादिङमा  पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ, कालु पाण्डे मार्ग संचालनमा रहेको राष्ट्रिय सडक हो भने  मध्यपहाडी  राष्ट्रिय मार्ग निर्माणाधीन अवस्थामा छन् । जिल्लाको उत्तरी भेगका पुराना चार गाविस वाहेक अधिकांश गाउँ वस्तिमा राष्ट्रिय तथा स्थानीय सडक सञ्जाल जोडिएको छ । सडक सञ्जालको विस्तार संगै गाउँ पालिकाको केन्द्र गाउँमै हुने भएपछि ग्रामिण क्षेत्रका जग्गाको महत्व वढेको हो ।

केही समय अघि सम्म कम महत्वको रुपमा हेरिने ग्रामिण क्षेत्रका गाविसहरुमा जग्गाको मूल्य बढ्न थालेको छ  ।पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ, कालु पाण्डे मार्गले छोएका गाविसहरुमा मात्र नभइ नजिकका अन्य गाविसमा पनि जग्गाको महत्वमा बढोत्तरी भएको स्थानीयहरुको भनाई छ । सडक प्रभावले जिल्लाका ग्रामीण गाविसहरुमा समेत जग्गाको मुल्य बढेको छ ।

गाउँ पालिकाको केन्द्र तोकिनु अघि सम्म खासै चर्चामा नरहेका स्थानहरुमा पनि अव जग्गाको मुल्यका वारेमा धेरैको  चासो बढ्न थालेको स्थानीयहरु बताउँछन । पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ, कालु पाण्डे मार्गले  गाविसहरुमा त झन जग्गाको मुल्य आकाशिएको छ ।सदरमुकामका वासिन्दालाई भने अव के हुन्छ भन्ने चिन्ता शुरु भएको छ । जिल्ला सदरमुकाम रहँदा यहाँको वजार तथा अन्य क्षेत्रले जुन फड्को मारेको थियो अव त्यो अवस्था नरहनेमा सदरमुकामवासी चिन्तित हुन थालेका हुन । २०३३ साल अघि सम्म जिल्लाकै सुनौलावजारमा रहेको सदरमुकाम त्यहाँबाट धादिङबेसी सारिएको थियो । ९५ बर्ष सम्म सदरमुकाम रहेको सुनौलावजारमा खानेपानीको संकट बढ्दै गएपछि धादिङबेसीमा सदरमुकाम सारिएको र जिल्लाका अधिकांश स्थानबाट मानिसहरु आएर सदरमुकाममा वसोवास तथा उद्योग धन्दा, पसल,अन्य पेशा व्यवसाय संचालन गर्दै आएका थिए ।

सरकारले जिल्लामा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय,जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालय लगायतका सिमित कार्यालयहरु मात्रै राखेर वांकी सरकारी कार्यालय गाउँ गाउँमा स्थापना गर्ने निर्णय गरिसकेको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै गाउँ पालिका केन्द्रबाट अधिकांश सरकारी सेवा सुविधा प्रवाह हुने भएपछि सदरमुकाम आउने सर्वसाधरणको संख्यामा कमि आउने धादिङबेसी पुच्छारवजारका पुस्तक तथा स्टेशनरी व्यवसायी दयाराम लम्साल बताउनुहुन्छ ।

 सदरमुकाम धादिङबेसीमा नीलकण्ठ नगरपालिकाको केन्द्र रहेको र आसपासका गाउँ पालिकाका वासिन्दाको मुख्य वजारका रुपमा रहेकाले भोलिका दिनमा यहाँको वजार टिक्छ कि टिक्दैन भन्नेमा स्थानीयमा अन्यौल शुरु भएको छ । मानिसहरु गाउँ गाउँमै केन्द्रित भएपछि सदरमुकामको चहल पहलमा अहिलेको जस्तो नहुने वजारवासीको अनुमान छ । नयाँ संरचना अनुसार जिल्लामा अव रुवीभ्याली, खनियाबास, नेत्रावती, गंगाजमुना,त्रिपुरासुन्दरी, ज्वालामुखी,सिद्धलेक, वेनिघाट रोराङ,गजुरी, गल्छी र  थाँक्रे गाउँ पालिका भएको छ नीलकण्ठ र धुनिवेसी नगरपालिका वनेको छ ।