आईतबार देखि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय

927 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nirbachan1काठमाडौः वैशाख ३१ का तय स्थानीय निर्वाचनका लागि ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय आइतबारबाट खुलेका छन् । निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ। ‘आइतबारबाट ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय खुलेका छन्’, आयोगका सचिव गोपीनाथ मैनालीले  भन्नुभयो, ‘आइतबारबाट निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोग जिल्लामा क्रियाशील भएको छ ।’

मुख्य निर्वाचन अधिकृतले जिल्लामा छुट्टै कार्यालय खोलेर निर्वाचनका लागि सम्पादन गर्नुपर्ने काम र आफू मातहतका निर्वाचनमा खटिने कर्मचारीका लागि काममा खटाउने जिम्मेवारी हुन्छ । त्यस्तै, मुख्य निर्वाचन अधिकृतलाई जिल्लाभित्र निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने अधिकार पनि तोकिएको छ । जिल्ला सदरमुकाममा रहने स्थानीय तहको निर्वाचन अधिकृतको भूमिका पनि निर्वाह गर्ने गरी मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी तोकिएको आयोगले जनाएको छ ।

आयोगले ७५ मुख्य निर्वाचन अधिकृत र ६ सय ६९ निर्वाचन अधिकृत नियुक्त गरी तालिम दिएर सम्बन्धित क्षेत्रमा पठाइसकेको छ । ७ सय ४४ वटा स्थानीय तहमा भने वैशाख १२ मा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिनेछन् । न्याय सेवा र निजामती सेवाका अधिकृतलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन अधिकृतलाई आफूलाई तोकिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।

आइतबारबाट ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय खुल्दै छन् । कार्यालय खुलेसँगै निर्वाचन कार्यक्रम सञ्चालन गर्न आयोग जिल्लामा क्रियाशील हुन्छ । गोपीनाथ मैनाली, सचिव, निर्वाचन आयोग

आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक सामग्री जुटाउने काम गरिरहेको र वैशाख १२ बाट सामग्री जिल्लामा पठाउन सुरु गर्दै छ । आयोगले निर्वाचनमा कर्मचारी खट्न थालेको भन्दै उनीहरूका लागि हवाई टिकटमा प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ ।

पर्यटन सचिव, नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका पदाधिकारीसँगको छलफलमा निर्वाचनमा खटिने कर्मचारीलाई हवाई टिकटमा पहिलो प्राथमिकता दिन निर्देशन दिइएको सचिव मैनालीले जानकारी दिनुभयो ।

यसैबीच, छिमेकी चीनबाट पेन, कैंची, पन्चिङ मेसिनलगायत ११ सामग्री आएका छन् भने छिमेकी भारतले नङमा लगाउने मसी नपठाउँदा आयोगले यसपटको निर्वाचनमा मार्कर पेन प्रयोग गर्ने भएको छ । नउड्ने खालको मसी रहने मार्कर पेन आयोगले खरिद गरिसकेको छ । भारतसँग सहयोगस्वरूप सवारी साधनको माग गरिए पनि हालसम्म कुनै खबर नआएको आयोगले जनाएको छ ।

आयोगले शनिबारसम्म ६२ जिल्लाका लागि १ करोड ३२ लाख ८६ हजार मतपत्र छापेको छ । ७ वटा जिल्लाको मतपत्र छाप्न सुरु भएको र सम्भवतः आइतबारभित्र छपाइ सक्ने लक्ष्य राखिएको सचिव मैनालीले जानकारी दिनुभयो । आयोगले ३–४ दिनभित्र सबै जिल्लाको मतपत्र छपाइको काम सम्पन्न गर्ने जनाएको छ ।

-अन्नपूर्ण पोष्टबाट